एमालेले भन्यो- सत्ता गठबन्धनको समन्वय समिति संविधानबाहिरको भूमिगत गिरोहको अभ्यास – Nepal Press

एमालेले भन्यो- सत्ता गठबन्धनको समन्वय समिति संविधानबाहिरको भूमिगत गिरोहको अभ्यास

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सत्ता गठबन्धनले बनाएको दलीय संयन्त्रलाई पञ्चायतकालीन भूमिगत गिरोहको संज्ञा दिएको छ ।

एमाले निर्वाचन विभाग प्रमुख समेत रहेका पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले संविधानबाहिरको संयन्त्रले राजपाठ चलाउने भूमिगत गिरोहको अभ्यास सत्ता गठबन्धनले थालेको बताए ।

खरेलले नेपाल प्रेससँग भने, ‘उहाँहरूले अहिले जुन दलीय संयन्त्र बनाउनुभएको छ त्यो के को लागि ? दलहरूसँग समन्वय गर्न त आ- आफ्ना दल छदैछन् । उहाँहरूको यो अभ्यास भनेको संविधान र कानूनविपरीत राजपाठ चलाउने भूमिगत गिरोह हो । यसले राज्यका कर्मचारीतन्त्र, सुरक्षा निकाय र अदालतलाई समेत धम्क्याउने उद्देश्य देखिन्छ ।’

खरेलले विगतमा केपी ओली नेतृत्वको सरकारका बेला समेत तत्कालीन नेकपाका केही नेताले यस्तै समानान्तर सत्ताको अभ्यास गर्न संयन्त्रको कुरा गरेको र त्यो सम्भव नभएपछि आफ्नै सरकार ढाल्न खेल सुरू गरिएको स्मरण गर्दै अहिले गठित संयन्त्र निर्वाचित निकाय र राज्यका अंगभन्दा बाहिरबाट राजपाठ चलाउने नियतबाट आएको बताए ।

पञ्चायतकालमा दरबारका केही व्यक्तिले समानान्तर सरकारको अभ्यास गरेपछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले त्यसलाई भूमिगत गिरोह भनेका थिए । उनको संकेत तत्कालीन महारानी ऐश्वर्या र तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलक्षित थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर