आक्रामक फुटबलसँगै लगातार लिग जित्ने मच्छिन्द्रको लक्ष्य – Nepal Press

आक्रामक फुटबलसँगै लगातार लिग जित्ने मच्छिन्द्रको लक्ष्य

काठमाडौं । अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई एक अंक आवश्यक्ता थियो । आर्मीलाई बराबरी तथा जितले ऐतिहासिक शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि हात पर्ने थियो । यता, मच्छिन्द्र फुटबल क्लबलाई भने तीन अंकको विकल्प थिएन । अर्थात् अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी आर्मीविरुद्ध ‘गर या मर’को अवस्थामा थियो मच्छिन्द्र क्लब ।

र, अन्तिम खेलमा मच्छिन्द्रले आर्मीलाई १-० गोलको नतिजामा पराजित गर्दै मच्छिन्द्रले उपाधि उचाल्यो । खेलमा आर्मीले बलियो प्रस्तुति देखाए पनि फिनिसिङमा चुक्यो । आर्मीका डिफेण्डर विकास तामाङले गरेको आत्मघाती गोल मच्छिन्द्रको पक्षमा निर्णायक सावित भयो ।

मच्छिन्द्र क्लब स्थापना भए यता पहिलो पटक देशकै शीर्ष डिभिजनको लिग जित्न सफल भयो । पछिलो पटक फुटबलमा ठूलो लगानी गरेको मच्छिन्द्रले लगानीअनुसारको प्रतिफल पायो । उसले फुटबलमा लगानी गर फल आउने छ भनेर एक पटक प्रमाणित गरिदियो ।

यदि अन्तिम खेलमा मच्छिन्द्र आर्मीसँग पराजित भएको भए न त मच्छिन्द्रले बाँकी समय फुटबलमा लगानी गर्थ्यो न त अन्य क्लबले नै ।

पहिलो पटक लिग जितेको मच्छिन्द्रले पुन: एक पटक ‘ए’ डिभिजन लिगमा ठुलै लगानी गर्दै छ । पुन: मच्छिन्द्र लिगको उपाधि हात पार्न मैदानमा होमिएको छ । मच्छिन्द्र लगातार दोस्रो पटक लिग जित्ने योजनासहित २९ कात्तिकमा सुरु हुने लिगको तयारी धमाधम गरिरहेको छ ।

मच्छिन्द्रले यस पटकसमेत राष्ट्रिय टोलीका खेलाडी बाहुल्यता क्लबमा बनाएको छ । गत सिजनझैँ क्लबले ठूला नामलाई यस पटकसमेत निरन्तरता दिएको छ ।

अझ यस पटक मच्छिन्द्रले एएफसी लाइसेन्स पाएसँगै एएफसी प्रतियोगिता खेल्न हौसिएको हो । सोहीअनुसार राष्ट्रिय टोली तथा उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई मच्छिन्द्रले भित्र्याएको छ ।

गत सिजन मच्छिन्द्रले लिगको उपाधि जिते पनि एएफसी कप भने खेल्न पाएन । एएफसीले आफ्नो सदस्य राष्ट्रका शीर्ष डिभिजन लिग विजेता टोलीलाई एएफसी कप खेल्न दिन्छ । तर, एएफसी लाइसेन्स नभएकै कारण सो अवसर उपविजेता आर्मी क्लबले पायो ।

मच्छिन्द्रले लिग जितेर एएफसी प्रतियोगिता मात्र खेल्न नपाएको हैन । उसले एएफसीबाट पाउने ठूलो अनुदानसमेत गुमायो ।

अघिल्लो सिजन मच्छिन्द्रले ठूलै ‘रिक्स’ लियो । यति मात्र हैन मनाङ मर्स्याङ्दी र थ्रीस्टारले पाल्दै आएका ठूला नाम चलेका खेलाडीलाई नसोचिएको तरिकाले क्लबमा भित्र्यायो । यसका लागि मच्छिन्द्रको व्यवस्थापक टोलीले ठूलो चुनौती मोल्यो ।

यस पटकसमेत मच्छिन्द्रले गत सिजनकै सुजल श्रेष्ठ, विशाल श्रेष्ठ (गोलरक्षक), विशाल राई, रेजिन सुब्बा, देवेन्द्र तामाङ, अभिषेक रिजाल, विमल घर्ति मगर, विजय धिमाल, रेजिन धिमाललगायतका खेलाडीलाई निरन्तरता दिएको छ ।

यस पटक मच्छिन्द्रले नयाँ खेलाडीको रूपमा मनिष डांगी, छिरिङ गुरुङ, सुनिल बल, दिलेन लोक्तान, विदेशी खेलाडीमा अजरबैजानका नुर्लान नोभ्रुजोभ र आन्द्रेनियालाई भित्र्याएको छ । एक दक्षिण एसियाली कोटासहित मच्छिन्द्र अझै दुई विदेशी खेलाडीको खोजीमा छ ।

क्लबले लिगको उपाधि लगातार हात पार्ने लक्ष्यसहित यस पटक दुई करोडभन्दा बढी लगानी गर्ने निर्णय लिएको छ । क्लबका व्यवस्थापक अनिल श्रेष्ठ लगातार उपाधि हात पार्ने लक्ष्यसहित तयारी गरिरहेको र खेलाडीसमेत त्यहीअनुसार अनबन्धन गरेको बताउँछन् ।

‘लगातार लिगको उपाधि जित्ने योजना छ । त्यहीअनुसार लगानी पनि गरेका छौं । यस पटक हाम्रो लगानी नै दुई करोड माथि छ । सोहीअनुसार खेलाडी पनि अनुबन्धन गरेका छौं’, क्लबका उपाध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन् ।

मच्छिन्द्रले उपाधि हात पार्दा सिंगल राउण्ड रोबिनको लिगमा १० खेल जित्दा दुई खेलमा अंक बाँडेको थियो भने एक खेलमा हार व्यहोर्दै ३१ अंक जोडेको थियो ।

गत सिजन मच्छिन्द्रबाट देखिएका कप्तान विराज महर्जन, दिपक राई, विदेशी खेलाडी पिटर सेगुन, एडेलाजा सोमिडे भने यस पटक क्लबमा देखिने छैनन् ।

अग्रपंक्तिमा पछिल्लो समय नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीको बाहुल्यता र केही विदेशी खेलाडीको उपस्थितिमा मच्छिन्द्रले आक्रामक फुटबल खेल्ने रणनीति तयार पारेको छ ।

‘गत सिजन हामीलाई खेलाडीको चोटले सतायो । यसपटक सो हुन नदिन खेलाडीसमेत हामीले राम्रोसँग अनुबन्धन गरेका छौं । यस पटक हामीले काउन्टर खेल र आक्रामक खेललाई नै प्राथमिकतामा राखेका छौं । हाम्रो लक्ष्य भनेको उपाधि हो । त्यसका लागि हामीलाई स्कोरमा समस्या हुनु हुँदैन । त्यसैले अट्याकमा हामीले धेरै खेलाडी बनाएका छौं’, पहिलो पटक क्लबलाई लिगको उपाधि जिताएका ४० वर्षीय प्रशिक्षक प्रवेश कुटवाल भन्छन् ।

सन् २०१७ मा एएफसी ए लाइसेन्स पाएका प्रशिक्षक प्रवेश यसपटकको मुख्य चुनौती विभागीय क्लब रहेको र त्यसका लागि आफ्ना खेलाडी तयार रहेको बताउँछन् ।

साविक विजेता मच्छिन्द्रले २ मसिंरमा दशरथ रंगशालामा न्युरोड टिम एनआरटीको सामना गर्दै लिगको सुरुआत गर्नेछ । दोस्रो खेलमा मच्छिन्द्रले साविक उपविजेता आर्मीको सामना गर्नेछ ।

मच्छिन्द्रले हालसम्म सम्झौता गरेका खेलाडी

गोलरक्षक – विशाल श्रेष्ठ, सूर्य अधिकारी

डिफेण्डर – देभेन्द्र तामाङ, विजय धिमाल, रेजिन धिमाल, छिरिङ गुरुङ, दिलेन लोक्तान,

मिडफिल्डर – सुजल श्रेष्ठ, विशाल राई, मनिष डांगी, सुनिल बल, नुर्लान नोभ्रुजोभ, आन्द्रेनिया

स्ट्राइकर – रेजिन सुब्बा, अभिषेक रिजाल, बिमल घर्ती मगर,

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर