जनकपुरमा छठको रौनकः अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउन जलाशय पुगिसके ब्रतालु (तस्बिर र भिडिओ) – Nepal Press

जनकपुरमा छठको रौनकः अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउन जलाशय पुगिसके ब्रतालु (तस्बिर र भिडिओ)

जनकपुरधाम । तराई-मधेसका गाउँदेखि शहरसम्मको जलाशयमा छठको विशेष रौनक छ । आस्थाको महापर्व छठको मुख्यदिन आज ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारीमा ब्रतालु जुटेका हुन् ।

जनकपुरधामको जलाशयहरुमा दुलहीझैं सिंगारिएको पूजास्थलमा अधिकांश ब्रतालु मध्यराति नै पुगिसकेका छन् । चारैतिर खुशीको माहोल छाएको छ । मानिसहरु नयाँ लुगा लगाएर घाटमा देखिन्छन् ।

छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर राति घाटमै विताउँछन् । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास छ ।

साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । छठ पर्व सन्तानको दिर्घायु र सन्तान प्राप्तिका लागि समेत गर्ने गरेको पण्डित गोविन्द झा बताउँछन् ।

ब्रतालु एवं परिवारजनले पर्व समापनपछि बिहान घाटमा उपस्थिति दर्शनार्थीलाई गच्छेअनुरुपको प्रसाद बाँड्दै अर्को वर्ष फेरि आउने बाचाकासाथ घर फर्कन्छन् । यस वर्षमा डोम समुदायले बनाउने बाँसजन्य सामग्री चढाउनै पर्ने भएकोले छुवाछुत नहुने सन्देशसमेत दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर