‘म रियल डेमोक्रेटिक लिडर हुँ, कोही मख्ख पर्न वा आत्तिन पर्दैन’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘म रियल डेमोक्रेटिक लिडर हुँ, कोही मख्ख पर्न वा आत्तिन पर्दैन’ (भिडिओ)

राष्ट्रियसभा र उपचुनावमा तालमेल हुन्छ, आम निर्वाचनबारे सोचेका छैनौं

सत्तारुढ गठबन्धनले समन्वय समिति गठन गरेपछि त्यसको औचित्यबारे विभिन्न प्रश्न उठेका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित समन्वय समितिमा नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू रहनेछन् । समितिले सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूबीच समन्वय गर्ने भनिए पनि कार्यक्षेत्र स्पष्ट भइसकेको छैन । सत्तारुढ गठबन्धनको समन्वय समिति गठनका उद्देश्य र कार्यक्षेत्रबारे समितिका संयोजक एवं कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलसँग  नेपालप्रेसकर्मी नकुल अर्यालले गरेको कुराकानी प्रस्तुत छ, नेपाल टकमा –

सत्तारुढ गठबन्धनले तपाईंको नेतृत्वमा समन्वय समिति बनाएको छ । यसको आवश्यकता किन पर्‍यो ?

यो संयन्त्र जुन बनेको छ यसले अहिलेको राजनीतिलाई नयाँ दिशा दिन्छ । जसरी मुलुकलाई प्रतिगमनतिर लैजाने प्रयत्नलाई ५ राजनीतिक दल मिलेर रोक्यौं । देशलाई फेरि पनि प्रतिगमनतिर लैजाने प्रयत्न भइरहेको छ । संविधान र लोकतन्त्रलाई संरक्षण गर्दै प्रतिगमनलाई परास्त गर्न ५ राजनीतिक दलबीचको सहकार्य अपरिहार्य छ । ५ दलकै नेतृत्वमा सरकार छ । सरकारको सफलतासँग संविधान र लोकतन्त्रको भविष्य पनि जोडिएको छ । त्यसैले यो सरकार सफल हुनुको विकल्प छैन । यसलाई सफल बनाउने हामी सबैको दायित्व हो ।

यद्यपि सरकार एक संवैधानिक संस्था हो । यो संयन्त्रले सरकारको संवैधानिक अधिकार र दायित्वमाथि हस्तक्षेप गर्दैन । त्यसैले यो सरकारलाई मात्रै सहयोग गर्न भन्दा पनि समग्र मुलुकका राजनीतिक समस्याको समाधान, संविधा र लोकतन्त्रको रक्षा गर्दै जनताको पक्षमा गर्नुपर्ने कामलाई सहजीकरण गर्न बनाइएको समन्वय समिति हो ।

यो संयन्त्रले काम चाहिँ के गर्छ ?

संविधान र लोकतन्त्र जोगाउने यसको मूल उद्देश्य हुँदै हो । सरकारी काम भन्दा समग्र व्यवस्थाको कामलाई सहजीकरण गर्ने यसको उद्देश्य हो । राजनीतिक दलहरुसँग जोडिएका एजेण्डाहरूमा यसले साझा धारणा बनाउँछ । जनतालाई सुविधा कसरी दिन सकिन्छ भन्नेमा यसले खाका बनाउँछ । मूलतः यो सत्तारुढ दलहरुको समन्वय समिति हो । तत्कालका लागि भन्दा यसले विभिन्न जिल्लामा प्राकृतिक प्रकोपबाट समस्यामा परेका जनतालाई राहत दिने, भूमी आयोगमार्फत भूमीसम्बन्धी समस्या समाधानका लागि सहजीकरण गर्ने तथा राजनीतिक दलहरुप्रति जनताको विश्वास बढाउने काम समितिले गर्छ । सरकारी काममा भन्दा संवैधानिक व्यवस्था र जनताको सुविधा कसरी काम गर्न सकिन्छ भन्ने हाम्रो सरोकार हो ।

राजनीतिक रूपमा संयन्त्र कसरी अगाडि बढ्छ ?

तत्कालका लागि राष्ट्रियसभाको निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभाको उपनिर्वाचनमा समिति केन्द्रीत रहन्छ । ५ दलीय गठबन्धनमा राष्ट्रिय सभा निर्वाचन र उपनिर्वाचनमा मिलेर जाने सहमति भएको छ । त्यो सहमति कार्यान्वयन गराउन समितिले आवश्यक छलफल र तयारी गर्छ । ती निर्वाचनमा मिलेर उम्मेदवारी दिने बारेमा समितिले समन्वय गर्छ ।

उपनिर्वाचनमा त तालमेलको सहमति भयो अब आमनिर्वाचनसम्मै तालमेल हुन लागेको हो ?

त्यसबारे अहिले कुनै कुरा भएको छैन । आमनिर्वाचनसम्मको कुरा अहिले भएको पनि छैन, सोचिएको पनि छैन । त्यतिबेलाको अवस्था जस्तो हुन्छ, त्यतिबेलै निर्णय लिइन्छ । अहिले तत्कालका लागि राष्ट्रियसभा र उपनिर्वाचनमा तालमेल हुन्छ । बाँकी कुरा पछि हुन्छ ।

संविधानले परिकल्पना नगरेको संयन्त्र बनाएर सरकारलाई कमजोर बनाउन खोजेको आरोप छ नि ?

हेर्नुस्, म आफैं रियल डेमाक्रेटिक लिडर हुँ । लोकतन्त्रमा सरकार बलियो र जवाफदेही हुनुपर्छ भन्ने मान्यता राख्दछु । मेरो संयोजकत्वको समितिले सरकारलाई कुनैपनि कोणबाट हस्तक्षेप गर्दैन । यसको उद्देश्य सरकारलाई कमजोर बनाउनु होइन । यो त राजनीतिक दलहरुबीच सहकार्यका लागि बनेको समन्वय समिति हो । प्रधानमन्त्रीसँग यसले परामर्श त गर्ला तर यसो गर, उसो गर भन्दैन । सरकारको संवैधानिक भूमिकाप्रति हामी समेच छौं । मैले भनिसके, यो संयन्त्रले सरकार होइन संविधानलाई सरोकारमा राखेको छ ।

राजनीतिक नियुक्ति, भागबण्डा वा प्रशासनिक निर्णयमा चासो राख्न यो समिति बनेको होइन । संविधान र लोकतन्त्रविरुद्ध हुनसक्ने हर्कतलाई सामना गर्दै मुलुकलाई सही दिशामा लैजान अन्तरपार्टी समन्वयका लागि समिति बनाइएको हो । त्यसैले यसले गैरसंवैधानिक अभ्यास गर्दैन ।

तपाईलाई नै समितिको संयोजक किन बनाइयो ?

हाम्रो पार्टीको सभापति अहिले प्रधानमन्त्रीको भूमिकामा हुनुहुन्छ । यो समिति पार्टीहरुको समन्वय केन्द्र हो । प्रधानमन्त्रीका संवैधानिक जिम्मेवारीहरु हुने भएकोले यस्तो समितिमा उहाँले बस्नु बाञ्छनीय देखिएन । त्यसैले उहाँले नै म यो समितिमा रहन्न, हाम्रो पार्टीको तर्फबाट रामचन्द्रजीले नेतृत्व गर्नुहुन्छ भन्नुभएको हो । संवैधानिक दृष्टिले हाम्रो सभापति यो समितिमा नरहने भएपछि स्वभाविक रुपमा मैले कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरेको हुँ । अर्कोतिर पछिल्लो राजनीतिक कोर्समा मैले निर्वाह गरेको भूमिकालाई पृष्ठभूमी मानेर गठबन्धनका नेताहरुले समन्वय समितिको नेतृत्व लिन आग्रह गर्नुभयो । संविधान र लोकतन्त्रका सवालमा राजनीतिक दलहरुको भूमिकालाई मजबुद बनाउन आवश्यक ठानेकोले मैले अग्रसरता लिए ।

सरकारको आलोचना धेरै गर्ने भएकोले तपाईलाई चुप राख्न जिम्मेवारी दिएको भन्ने चर्चा छ नि ?

अब यस्ता झिनामसिना विषयमा मेरो ध्यान छैन । म सीधा राजनीति गर्ने मान्छे हुँ । कसैले त्यसरी व्याख्या गरेर धमिलो पानीमा माछा मार्न खोज्यो होला । तर त्यो प्रवृत्ति सफल हुँदैन । मैले बुझेको यत्ति हो कि अहिले लोकतन्त्र र संविधानमाथिको संकट निवारण गर्नुपर्छ । यो व्यवस्था अझै संस्थागत भइसकेको छैन । लोकतन्त्रविरुद्ध फेरीपनि षड्यन्त्र हुन्छ । मेरो प्रयत्न लोकतन्त्र रक्षाका लागि योगदान गर्नु हो । त्यसैले मैले यो जिम्मेवारी लिएको हुँ । कसैले यसलाई अपव्याख्या गर्नुछैन । मेरो भूमिकाबाट कोही मख्ख पर्नुपर्दैन, कोही आत्तिनुपर्दैन । एक रियल डेमाक्रेटिक लिडरका हिसाबले मैले सधै इमानदार राजनीतिज्ञको रुपमा आफूलाई उभ्याएको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर