सिड्नीको स्थानीय चुनाबमा उम्मेदवार बने नेपालका एलेक्स कार्की, लेबर दलले दियो चुनाबको टिकट – Nepal Press

सिड्नीको स्थानीय चुनाबमा उम्मेदवार बने नेपालका एलेक्स कार्की, लेबर दलले दियो चुनाबको टिकट

अष्ट्रेलिया । प्रवासी जीवन त्यति सहज र सरल छैन । त्यसमाथि अरूको देशलाई कर्मभूमि मनाएर अगाडि बढ्नु पर्दाको संघर्ष अनि आफू स्थापित हुन गर्नुपरेको दु:ख पीडादायक हुन्छ ।

प्रवासलाई कर्मभूमि बनाएर त्यहाँको राजनीतिमा प्रवेश गरेका एलेक्स कार्कीले अब चाँडै सफलताको स्वाद चाख्न पाउने भएका छन् अष्ट्रेलियाको मुख्य दल मध्येको एक लेवर पार्टीले उनलाई न्यू साउथ वेल्स राज्यको स्थानिय निकायको चुनावमा टिकट दिएपछिको चर्चाले अष्ट्रेलिया मात्र नभई जन्मभूमि नेपालमा पनि चर्चा पाएको छ ।

३७ वर्षे एलेक्स नेपालको दोलखामा जन्मिएका हुन् । पेशाले उनी इन्जिनियर समेत हुन् । उनी अहिले अष्ट्रेलियाको स्थानीय चुनावी मैदानमा होमिएका छन् । उनले सिड्नीको द हिल साइन काउन्सिलको काउन्सिलर पदमा लड्न टिकट पाएका हुन् । न्यू साउथ वेल्स राज्यमा डिसेम्बर ४ तारिखमा स्थानिय निकायको चुनाव हुँदैछ । काउन्सिलको चार वटा वडामध्ये पश्चिमी वडाबाट एलेक्स चुनाव लड्दै छन् ।

उनको चुनावी समूहमा तीन जना छन् । बारबरा बुर्टन र मोनिका ट्रेसी सहितको तीनजनाको समूहमा एलेक्स दोस्रो नम्बरमा छन । विजयी हुने प्राथमिकताका आधारमा पार्टीले उम्मेदबारको नम्बर तोक्ने गर्छ । सामान्य अवस्थामा १ र २ नम्बरका उम्मेदबारले जित्ने संभावना हुन्छ । यस कारण पनि जितमा कार्कीको सम्भावना बलियो छ । स्थानिय समुदायसँग राम्रो घुलमिल भएकाले पनि यी जुझारू युवकको जित हुने अपेक्षा नेपाली समुदायले लिएका छन् ।

पेशाले सिभिल इन्जिनियर एलेक्स सन् २००३ मा अध्ययनका लागि अष्ट्रेलिया पुगेका थिए । उनले सिड्नीको युनिभर्सिटी अफ न्यू साउथ वेल्समा अध्ययनकै समयमा सन् २००७ मा लेवर दलको सदस्यता लिएका थिए । विद्यार्थी जीवनमा सिड्नी सिटी काउन्सिलमा समेत काम गरिसकेका एलेक्स हाल राज्य सरकारको यातायात विभागमा कार्यरत छन् ।

‘यतिबेला प्रवामा बसिरहेको हामीलाई अष्ट्रेलियको मूल राजनीति पार्टीले दिएको अवसर र हामीमाथि गरेको विश्वास पनि ठूलो कुरा हो’ उनले भने, ‘जित्ने कुरामा त म आशावादी छँदै छु । त्यसमाथि अष्ट्रेलियामा हुर्किरहेका हाम्रा दोस्रो पुस्तालाई यहाँको मूल राजनीतिमा लाग्न मेरो उम्मेदबारी र उपस्थिति साँच्चै प्रेरणा र हौसला पनि हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *