कांग्रेस एक्लै लड्नुपर्छ, बहुमत ल्याउनुपर्छ : गगन थापा – Nepal Press

कांग्रेस एक्लै लड्नुपर्छ, बहुमत ल्याउनुपर्छ : गगन थापा

सिन्धुली । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी संसदीय निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् ।

सिन्धुलीमा आयोजित कार्यक्रममा बोल्दै नेता थापाले महाधिवेशन सकिएलगत्तै एकतावद्ध भएर चुनावको तयारीमा जुटेको खण्डमा कांग्रेसलाई कसैले हराउन नसक्ने बताएका हुन् । उनले संसदको सबैभन्दा ठूलो दल बन्नका लागि कांग्रेसले कसैसँग गठबन्धन गर्न आवश्यक नरहेको पनि उल्लेख छ ।

‘अधिवेशन सकिएको भोलिपल्टदेखि नै चारतारे झण्डा लिएर गाउँगाँउमा कांग्रेस पुग्नुपर्छ । कांग्रेसको स्वभाव भनेकै एक्लै लड्ने हो । हामी आपसमा मिल्यौ र चुनाव लड्यौ भने कसैले हराउन सक्दैन’, थापाले भने । उनले विगतमा कांग्रेसले चुनावी गठबन्धनको प्रयास गरेपनि असफल भएको बताए ।

‘पहिला माओवादीसँग गठबन्धन गरेकै हौ । चितवनमा माओवादीलाई छाड्दा काठमाडौंमै कांग्रेसको भोट घट्यो । त्यसैले कांग्रेसले एक्लै लड्ने तयारी गर्नुपर्छ’, थापाले भने । उनले संसदको पहिलो दल बन्न आवश्यक ४२ लाख भोट कांग्रेसले ल्याउन सक्ने र गठबन्धन गर्दा भोट घट्नसक्ने बताए ।

फरक सन्दर्भमा नेता थापाले न्यायालयमा देखिएको समस्या समाधानका लागि कांग्रेस सही ठाउँमा उभिनुपर्ने बताए । ‘अदालतको विषयमा कांग्रेस सही ठाउँमा उभिनुपर्छ । न्यायालयको जोगाउन कांग्रेसले स्पष्ट धारणा राखेर अगाडि जानुपर्छ’,थापाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *