‘विद्रोही’ न्यायाधीशको समूहमै ‘विद्रोह’ ! तीन न्यायाधीश इजलास फर्किए – Nepal Press

‘विद्रोही’ न्यायाधीशको समूहमै ‘विद्रोह’ ! तीन न्यायाधीश इजलास फर्किए

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै संघर्षरत सर्वोच्च अदालतका न्यायाधीशहरूको समूहभित्र विभाजनको संकेत देखिएको छ । असन्तुष्ट समूहबाट तीनजना न्यायाधीशहरू आज इजलासमा फर्किए ।

अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च तीन न्यायाधीश सोमबार मुद्दा सुनुवाइमा सहभागी भएका हुन् । उनीहरूले बन्दी प्रत्यक्षीकरणको रिट सुनवाइ गरेको सर्वोच्च स्रोतले बताएको छ ।

न्यायाधीशले जबराले आज आफ्नो लागि इजलास तोकेपछि असन्तुष्ट न्यायाधीशहरूले बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए । तर, न्यायाधीशहरू कुमार चुडाल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी इजलास फर्किएर मुद्दा सुनुवाइमा सहभागी भएका छन् ।

ढुंगाना र रेग्मीले संयुक्त इजलासमा एउटा बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ थालेका छन् । यसअघि अर्का न्यायाधीश चुडालले त्यस्तै प्रकृतिको रिटमा सुनुवाइ गरी आदेशसमेत जारी गरेका छन् ।

चुडाल र अर्का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा एक-एकवटा रिट पेसीमा थिए । दुईमध्ये चुडालले रिटमाथि सुनुवाइ गरी आदेश दिएका छन् भने श्रेष्ठ अहिलेसम्म इजलास गएका छैनन् । प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई छोडेर रोलक्रममा कनिष्ठतम् न्यायाधीशहरूका लागि इजलास गठन गरेका थिए ।

जबराविरुद्ध आन्दोलन गरिरहेका न्यायाधीशलाई मुद्दा सुनुवाइ नछाड्न चर्को दवाव परिरहेको छ । प्रधानन्यायाधीश भने आफूप्रति नरम देखिएका न्यायाधीशको इजलास तोकेर धमाधम मुद्दा सुनुवाइ अघि बढाउने रणनीतिमा छन् । उनको यही रणनीतिअनुसार सोमबारका लागि इजलास गठन भएका हुन् ।

प्रधानन्यायाधीश राणा अडानमै

राजीनामाका लागि तीव्र दबाब दिइए पनि प्रधानन्यायधीस राणाले आफू संविधानसम्मत र विधिसम्मत तरिकाले मात्रै बहिर्गमन गर्ने अडान लिँदै आएका छन् । उनी अहिले पनि सोही अडानमा कायम रहेको सर्वोच्च स्रोतले बताएको छ ।

‘बाहिर जे-जस्ता हल्ला फैलिए पनि प्रधानन्यायधीसले अहिलेसम्म आफ्नो बहिर्गमनको विषयमा कुनै नयाँ प्रस्ताव गर्नुभएको छैन,’ स्रोतले भन्यो ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशहित २० जना न्यायाधीशहरु रहेकोमा ईश्वर खतिवडा हाल अमेरिकामा छन् । तीन न्यायाधीशहरू इजलासमा फर्किएपछि अब विद्रोही समूह केही कमजोर भएको छ भने प्रधानन्यायाधीशको मनोबल बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर