विमानस्थलको लफडाबारे बुझ्न मन्त्री आलेले सीईओ र नासुलाई मन्त्रालय बोलाए – Nepal Press

विमानस्थलको लफडाबारे बुझ्न मन्त्री आलेले सीईओ र नासुलाई मन्त्रालय बोलाए

काठमाडौं । पर्यटन बोर्डका सीईओ र भन्सार कर्मचारीबीच त्रिभुवन विमानस्थलमा भएको विवादलाई लिएर पर्यटनमन्त्री प्रेम आलेले दुवै पक्षलाई मन्त्रालय बोलाएका छन् । आलेकै नेतृत्वको भ्रमण दलमा सहभागी सीईओ रेग्मीले लन्डनबाट फर्कने क्रममा विमानस्थलमा भन्सार कर्मचारीसँग लफडा गरेका थिए ।

लण्डनमा ३ दिनको कार्यक्रमपछि मन्त्री आलेसँगै फर्किएका रेग्मीले विमानस्थलमा भन्सार कर्मचारीलाई हातपात गरेको आरोप लागेको छ सँगै फर्किए पनि अलग-अलग द्वारबाट निस्केकाले सो घटनाबारे आफूले थाहा नपाएको आलेले नेपाल प्रेसलाई बताए । यस विषयमा आफूले छलफलका लागि दुवै पक्षलाई मन्त्रालय बोलाएको उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस् : विमानस्थलमा पर्यटन बोर्डका सीईओ र भन्सारका कर्मचारीबीच लफडा

मन्त्री आलेले भने, ‘म र सचिव त्रिभुवन विमानस्थलको भीआईपी लाउन्जबाट निस्किएका हौं । पर्यटन बोर्डका सीई‌ओ भने अन्य यात्रु आउने ठाउँबाटै बाहिरिएका थिए । पछि भन्सारमा हातपात भयो भन्ने कुरा मैले सुनेँ । मैले सीईओ रेग्मी र भन्सारका नासु सुमन थापालाई के भएको हो भनेर बुझ्न छलफलमा बोलाएको छु ।’

गल्ति कसको हो भन्ने ठहर्‍याए आवश्यक कारबाही हुने मन्त्री आलेको भनाइ छ ।

मन्त्री आले, पर्यटन सचिव यादव कोइराला र पर्यटन बोर्डका सिइओ रेग्मी नोभेम्बर १ देखि लण्डनमा सुरू भएको ३ दिने वर्ल्ड ट्राभल मार्टमा सहभागी हुन गएका थिए । भाइटीकाको दिन बिहान लण्डनबाट नेपाल फर्कने क्रममा विमानस्थलमा लफडा भएको थियो ।

स्रोतका अनुसार रेग्मीले ६ बोतल मदिरा साथमा ल्याएका थिए । एक व्यक्तिले विदेशबाट आउँदा १ लिटर मात्रै मदिरा ल्याउन पाउने कानूनी व्यवस्था रहेको छ । यही विषयलाई लिएर विवाद सुरू भएको र रेग्मीले नासु थापालाई थप्पड हानेको विमानस्थल स्रोतले बताएको छ ।

रेग्मीमाथि भन्सार ऐनअनुसार कारबाही चलाउँदै ५ हजार जरिवाना गराइएको छ । घटनापछि गरिएको मेडिकल टेस्टमा रेग्मीले मदिरा सेवन गरेको पुष्टी भएको स्रोतको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *