आगामी वर्ष महाकवि देवकोटाको जन्मजयन्ती उनकै कुञ्जमा मनाइने


काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आगामी वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती उनकै कुञ्जमा मनाउने योजना बनाएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा रचना वाचन कार्यक्रममा प्राज्ञहरुले देवकोटा कुञ्ज आफ्नो कार्यकालमा सम्पन्न गरिने बताए ।
प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले देवकोटा राष्ट्रप्रेमी, भाषाप्रेमी, स्रष्टा, अभियानकर्मी र राजनीतिज्ञ भएको उल्लेख गरे । देवकोटा सानैदेखि साहित्य सिर्जनामा लागेको उनले बताए । उनले भने, ‘अरु साहित्यकार शासकप्रति कतै नै कतै ढल्किएको भए पनि देवकोटाले कहिल्यै त्यसो गर्नुभएन ।’
प्रतिष्ठानका काव्य विभागका प्रमुख हेमनाथ पौड्यालले आफूहरुको अवधि झण्डै एक वर्ष बाँकी रहेको र यही अवधिमा देवकोटा कुञ्ज निर्माण सम्पन्न गरिने बताए । देवकोटा नेपालमा मात्रै नभएर विश्वमा नै प्रख्यात रहेको उनको भनाइ छ । देवकोटाका सबै कुरा संरक्षण गरिने उनले उल्लेख गरे । उनले भने, “कतिपय प्रतिष्ठानको सङ्ग्रहालय र कतिपय सामग्री उहाँको कुञ्जको सङ्ग्रहालयमा सुरक्षित राखिनेछ ।”
देवकोटाका छोरा प्रा. डा. पद्मप्रसाद देवकोटाले महाकवि देवकोटाका स्मृति सङ्कलन र संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गरे । विगतमा परिवारलाई नै संरक्षण गर्न भनिए पनि अहिले प्रतिष्ठान नै कुञ्ज निर्माणमा लागेको उनले बताए । उनले भने, ‘अहिले रहनुभएकाको अवधि सकिँदा निर्माणमा असर नगरोस् ।’
स्रष्टा प्रा. डा. मोहनप्रसाद खनालले आफूसँग देवकोटाको स्वर सुरक्षित रहेको बताए । अमेरिकाको एउटा सुदूर गाउँमा पुग्दासमेत देवकोटाका कृति र फोटो भेटिएको उनले बताए ।