पर्वमा प्रवासीको पीडा– ‘मन मारेर’ रमाइलो गर्ने प्रयास – Nepal Press

पर्वमा प्रवासीको पीडा– ‘मन मारेर’ रमाइलो गर्ने प्रयास

नयाँदिल्ली । पर्वतका देवबहादुर लामिछाने भारत आएको ३५ वर्ष भयो । यता आएदेखि दशैं तिहारमा घरमै टीका लगाएर रमाइलो गर्न पाएका छैनन् ।

नेपालीका मुख्य पर्वमा घर जाने मन नलाग्ने त होइन तर बाध्यताले प्रवासमा बस्नुपरेको लामिछानेको भनाइ छ । यो वर्ष पनि उनी नयाँदिल्लीमै तिहार मनाउँदै छन् । उनी यतै भएका साथीभाइसँग भेटघाट गरी तिहार मनाउने योजनामा छन् ।

अर्घाखाँची छत्रदेवका गोविन्द शर्मा भारत आएको ४४ वर्ष भयो । यो बीचमा उनले दसैं, तिहारजस्ता पर्व जन्मघरमा गएर रमाइलो गरेको सम्झना नै छैन । चाडपर्वमा घर परिवार, आफन्तजनसँग बसेर रमाइलो गर्न मन लागेपनि भनेको समयमा बिदा नपाउने तथा नेपाल र भारतको चाडपर्वको नमिल्दा धेरैजसो चाडपर्वमा जान नपाएको उनको भनाइ छ ।

गुल्मी धुर्कोटका मनिराम पोखरेल पनि भारत आएको ४५ वर्ष भयो । शुरूमा निजी संस्थामा काम गरेका पोखरेल अहिले सरकारी सेवामा छन् । तर भारत आएपछि सबै परिवारसँग चाडपर्वमा नबसेको धेरै समय भइसक्यो ।

लामिछाने, शर्मा र पोखरेल प्रतिनिधि मात्रै हुन् । भारतमा बस्ने लाखौं नेपाली रहर मारेर पर्व मनाउन बाध्य छन् ।

भारतमा स्थायी र अस्थायीरूपमा कति नेपाली छन् भन्ने तथ्यांक छैन तर करिब ४५ देखि ५० लाख नेपाली स्थायी, अस्थायी तथा अध्ययन र रोजगारका लागि भारत आएका छन् ।

गतवर्ष कोरोना महामारीका कारण भारतमा पनि रमाइलो गर्न नपाएको र घरमा जान पनि नपाएकाले यो वर्ष यतै रमाइलो गर्ने उनीहरुको सोच छ ।

विगतका वर्षमा जस्तो भारतको विभित्र ठाउँमा यो वर्ष जनवादी देउसीभैलो संचालन गरिएको रक्तिम सांस्कृतिक परिवारका पूर्वअध्यक्ष नारायण शर्मा बताउँछन् । स्याङ्जाको गल्याङ घर भएका उनले अहिलेको तिहार भारतको बैङ्लोरमा देउसीभैलो खेलेर मनाउन शुरू गरेका छन् । भारतका विभित्र शहरमा यो अभियान चलेको र आफूले दिल्लीमा देउसीभैलो खेलेको अभियानका सदस्य देववहादुर लामिछाने बताउँछन् ।

दीपावली भारतीयले पनि राम्रोसँगै मनाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर