न्यायपालिकामा ‘दाइगिरी’को सिण्डिकेट : कसले चलाउँछ न्यायाधीश र बार नेतृत्वलाई ? – Nepal Press

न्यायपालिकामा ‘दाइगिरी’को सिण्डिकेट : कसले चलाउँछ न्यायाधीश र बार नेतृत्वलाई ?

काठमाडौं । बलिउडमा गुण्डा नाइकेलाई भाइ भनिन्छ । पुलिसले टोले गुण्डाहरुलाई ‘भाइगिरी’ गरेको अभियोगमा समाउँछ । भाइसँग न्यायाधीशदेखि मन्त्रीसम्म, पसलेदेखि बिलेनियरसम्मका व्यवसायी थर्कमान हुन्छन् र ज्यान जोगाउन ‘सेटिङ’ मिलाउँछन् ।

अचेल नेपालको न्यायक्षेत्रमा ‘दाइगिरी’को चर्चा छ । भुक्तभोगीहरु भन्छन्- दाइगिरीका कारण न्यायपालिका आतंकित छ । बारदेखि न्यायाधीशसम्म सेटिङमा चलाउने हैसियत राख्ने दाइहरुको सिण्डिकेट नमान्दा चोलेन्द्र शमसेरविरुद्ध आन्दोलनको आगो झोसियो ।

वकिलहरुबीच ‘दाइ’ आतंक लामो समयदेखि चल्दै आएको हो । दाइहरुका अगाडि बारका अध्यक्ष हुन् वा चलेका वकिल कोही पनि ठाडो शीर गरेर उभिन पाउँदैनन् । अझ पछिल्लो समय त हिजो फरक राजनीतिक कित्तामा रहेका बरिष्ठ दाइहरुको एउटै सिण्डिकेट बनेपछि ‘दाइगिरी’ चुलीमा पुगेको छ ।

अहिले मुलतः तीनवटा दाइले न्यायक्षेत्रको समग्र दाइगिरीको कमाण्ड सम्हालेका छन् । ती हुन् शम्भु थापा, हरिहर दाहाल र रमण श्रेष्ठ । कुनै बेला शम्भु र रमण सुशीला कार्कीको पक्ष र विपक्षमा आम्ने साम्ने हुँदा खेल रमाइलो थियो । तर चोलेन्द्रले बार्गेनिङ नसुनेपछि दाइहरु एकठाउँमा पुगेका छन् र खेल एकपक्षीय छ ।

राजनीतिक रुपमा शम्भु थापा विगतमा एमाले थिए । नेकपा विभाजनको बेला प्रचण्ड-माधव समूहमा रहेका उनी अहिले नेकपा एस र माओवादी केन्द्रको साझा वकिल हुन् ।

हरिहर दाहाल कांग्रेस हुन् र उनी पनि बारको अध्यक्ष भइसकेका छन् । रमण श्रेष्ठले माओवादीको प्रतिनिधित्व गर्छन् । मुलतः अहिले बारको आन्दोलन भनिए पनि यी दाइहरुको आदेश पालन गर्ने बफादार क्लबमा परिणत भएको छ नेपाल बार ।

त्यसैले बारको आन्दोलनमा कालो पट्टी उबाँध्नेभन्दा सेतो पट्टी बाँध्नेहरुको संख्या बढिरहेको छ । पीपीएलए र डीएलएको पछिल्लो विज्ञप्तिले त्यसको संकेत गर्छ ।

कानून व्यवसायीहरुका अनुसार नेपाल बारले चलाएका यसअघिका आन्दोलन यति फितलो कहिल्यै भएका थिएनन् । बारको अधिक हिस्सा आन्दोलनमा छैन । केही सिण्डिकेट वरिष्ठ अधिवक्ताहरुको दादागिरीका अगाडि कसैले प्रश्न गर्न नसक्ने र बार उनीहरुको रबर स्ट्याम्पमात्र बन्दा आज वकिलहरु विभाजित भएका छन् ।

नेपाल बारका करीव १२ हजार सदस्य छन् भने लाइसेन्स लिएका वकिलहरु २० हजारजतिको संख्यामा छन् । बारका सदस्यहरुको दुई तिहाई भन्दा बढी हिस्सा (करीव ८० प्रतिशत) बोक्ने एमाले निकट पीपीएलए र कांग्रेस निकट डीएलएले एकैदिन एकै प्रकृतिको विज्ञप्ति निकालेर बार आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका छन् ।

तर दाइगिरीका अगाडि बार नेतृत्व निरीह आदेशपालकमात्र बनेको छ । बारकै कतिपय पदाधिकारीले आन्दोलनको औचित्यमाथि प्रश्न उठाएर बैठकमै बोलेका छन् । तर सल्लाहकार समितिका तीनै दाइहरुले लेखेर दिएको निर्णयमा छाप लगाउनेबाहेक अरु हैसियत बार नेतृत्वसँग अहिले छैन ।

डीएलए र पीपीएलए जस्ता संगठन एकातिर हुँदा पनि बारलाई केही वरिष्ठ दाइहरुले घिसार्दै सर्वोच्च अदालतको प्रांगणमा खडा गरिरहेका छन् । न्यायक्षेत्रका हरेक व्यक्तिलाई थाहा छ यी वरिष्ठ अधिवक्ताहरुको दाइगिरी जस्तै सर्वोच्च अदालतमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको दाइगिरी अझै पनि कायम छ । संयोग चाहिँ चोलेन्द्रसँग सेटिङ नभएपछि भड्किएका दाइहरु र कल्याण श्रेष्ठको मिसन मिलेको छ र उनीहरुले आफ्नो एजेण्डामा न्यायाधीशहरुलाई हिडाएका छन् ।

पूर्व महान्यायाधिवक्ता रमेश बडालले भने जस्तै अहिले अदालतको फैसलाहरुमा आफ्नो नियन्त्रण गर्न चाहाने केही भुतपुर्व प्रधानन्यायाधिश र न्यायाधिशहरु र आफु अनुकुल फैसला गराउन चाहाने केही सेटिङ्गमा रहने वरिष्ट अधिवक्ताहरुको हेगेमोनी विरुद्धमा नउभिने हो भने अव केही दिन पछि मुद्दा दर्ता गर्नु अगाडि भुतपुर्वको ईजलासमा फैसला लेखाउने र उनिहरुको सेटिङ्गवाला वकिलमात्र वहसमा राख्नु पर्ने दिन आउनेछ ।

चोलेन्द्रसँग किन चिढिए दाइहरु ?

केही वरिष्ठ अधिवक्ताहरु जो प्रधानन्यायाधीश आए पनि आफूले हेरिरहेका करोडभन्दा माथि (घुस आउने) ठूला मुद्दा आफू अनुकुल फैसला गराउन ‘बेन्च सपिङ’ गर्थे । यो सिण्डिकेट आफूविरुद्ध नलागोस् भनेर प्रधानन्यायाधीशहरुले उनीहरुले भने बमोजिम गरिदिन्थे ।

चोलेन्द्रले उनीहरुलाई टेरेनन् । वरिष्ठ अधिवक्ताहरुको सिण्डिकेट मान्दिन भन्दै उनले केही वकिल र न्यायाधीशहरुसँग लुजटक गरेको कुरा सुनेपछि यो समूह त्यही बेलादेखि चोलेन्द्रको विरोधमा लाग्यो र मौका खोजिरहेको थियो । अहिले फलाम तातेको बेला घन हान्न खोजेका हुन् ।

बार सल्लाहकार बैठकमा रमण श्रेष्ठले एक क्वीन्टल नोट बुझाउँदा पनि चोलेन्द्रले आफूले भने बमोजिम फैसला नगरेको र पैसा फिर्ता माग्दा अर्को मुद्दामा मिलाउँला भनेर रकम पच गरेको बताएका छन् । यसको मतलब यी वरिष्ठ दाइहरुले क्वीन्टलमा जोखेर न्यायाधीशलाई पैसा खुवाउने र मुद्दा आफ्नो पक्षमा फैसला गराउने रहेछन् भन्ने आफैंले पुष्टी गरेका छन् ।

त्यसो हो भने क्वीन्टल घुस खाने चोलेन्द्रमात्र होइन क्वीन्टलका क्वीन्टल पैसा जोखेर न्याय खरिदविक्री गर्ने रमण श्रेष्ठ र शम्भु थापाहरुमाथि चाहिँ कसले कारवाही गर्ने ? कानून व्यवसायी आचारसंहिता त अवश्य होला । शम्भु थापाले पनि केही समयअघि यस्तै अभिव्यक्ति दिएका थिए ।

दाइगिरीको उद्देश्य प्रधानन्यायाधीश चोलेन्द्र शमसेरलाई हटाएर न्यायपालिका शुद्धिकरण गर्ने हुँदै होइन । चोलेन्द्रले सेटिङमा साथ नदिएको आक्रोश र उनलाई यहि आन्दोलनको बलमा हटाउन वा राजीनामा दिन बाध्य पारियो भने अब आउने प्रधानन्यायाधीशदेखि सबै न्यायाधीशहरुलाई आफ्नो इशारामा नाच्न बाध्य पारिन्छ भन्ने उनीहरुको मिसन हो ।

यदि यो आन्दोलनबाट प्रधानन्यायाधीशलाई हटाउन सकियो भने शम्भु थापा, हरिहर दाहाल, रमण श्रेष्ठहरु उभिएपछि जिल्ला, उच्च वा सर्वोच्च अदालतका कुन न्यायाधीशले उनीहरुको मुद्दा हराउने हिम्मत गर्छन् ? यो आन्दोलनको मूल चुरो यहाँनिर छ ।

बिगतमा यस्ता नजिर स्थापित गरेर शम्भु थापाहरुले न्यायाधीशलाई काबुमा राखेका थिए । थापा बार अध्यक्ष हुँदा पवनकुमार ओझालाई सर्वोच्चको न्यायाधीशबाट हटाउन सफल भए । परमानन्द झाहरुलाई समेत हटाउन सफल भएपछि अरु न्यायाधीशमाथि स्वतः दबाब पर्ने नै भयो ।

कृष्णकुमार बर्मा र बलिराम कुमार शर्माहरुको कसरी बहिर्गमन भयो ? इतिहास थाहा पाउनेहरु दाइगिरी सामु राणाले कम्प्रोमाइज नगर्दाको परिणाम अहिलेको अराजकता हो भन्छन् । न्यायाधीशहरुका पनि आफ्ना स्वार्थ, शर्त र भविष्यको चिन्ता छ ।

हरिकृष्ण कार्की चोलेन्द्रकै कारण एमालेसँग आफ्नो सम्बन्ध बिग्रिएको भनेर अशन्तुष्ट थिए । प्रकाशनमानसिंह राउत पनि प्रधान न्यायाधीशले कांग्रेससँग आफ्नो सम्बन्ध बिगारिदिएको भनेर रुष्ट छन् । कतिपय न्यायाधीश अहिले इजलासमा बस्दा चोलेन्द्र बहिर्गमन भए भने अरु सिनियरको कोपभाजनमा परिने त्रासमा छन् ।

दीपक कार्कीलाई जसरी पनि प्रधान न्यायाधीश बन्नु छ । अझ न्यायपालिकाभित्र सुनिए अनुसार चोलेन्द्रलाई हटाएर वा महाअभियोगबााट निलम्बित गरेर दीपक कार्की र मीरा खड्का दुवैजनाले पालैपालो प्रधानन्यायाधीश खाने गरी संविधानमै संशोधन गर्ने समझदारीसमेत भित्रभित्रै भएको थियो ।

यसअघि संवैधानिक इजलाससम्बन्धी व्यवस्था अदालतले आदेशबाटै संशोधन गरे जस्तै न्यायाधीशको उमेर ६७ वर्ष बनाउने आदेश किन नगर्ने ? भन्ने सम्मका छलफल चोलेन्द्र विरोधी समूहमा नभएका होइनन् । यी सबै घटनाक्रमहरुले के पुष्टी हुन्छ भने- अहिले जे भइरहेको छ, त्यो न्यायपालिकाको हितमा होइन केही दाइगिरी र वरिष्ठतम न्यायाधीशहरुको वृत्ति विकासका लागि हो ।

त्यतिमात्र होइन सत्ता गठबन्धनभित्रका एक चौथाइ सांसदमार्फत चोलेन्द्रविरुद्ध महाअभियोग दर्ता गराएर उनलाई निलम्बित गर्ने र तत्कालै कामु प्रधान न्यायाधीशको हैसियतमा दिपक कार्कीले रिट हाल्न लगाएर सो अनुसार आदेश गराउनेसम्मका छलफल पनि भएको बताइन्छ ।
यदि एमालेले परमादेश जारी गर्ने अन्य चार न्यायाधीशविरुद्ध पनि महाअभियोग लगाएमा सर्वोच्चमा अर्को रिट दर्ता गराएर एमालेको महाअभियोग खारेज गर्ने र चोलेन्द्रमाथिको महाअभियोग संसदले टुंगो लगाउन आदेश दिनेसम्मका तयारी पनि नभएका होइनन् । जुन प्रयास अहिले पनि जारी छ ।

कम्फरटेबल इजलासमा यस्तो सेटिङ

दाइहरु र दाइ समूहका कम्फरटेबल न्यायाधीशहरुबीच कसरी मुद्दामा सेटिङ हुन्छ भन्ने एउटा पछिल्लो उदाहरण नै काफी छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गर्न टिप्पणी उठाएको अभियोगमा तत्कालीन भौतिक पुर्वाधार मन्त्रालयका सचिव र अख्तियारका पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर भयो ।

बस्न्यात थुनामा थिए । उनी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालतमा गए । उनका वकिल थिए शम्भु थापासहित दाइ टोली । ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको कम्फरटेबल इजलासबाट ५ लाख धरौटीमै दीप बस्न्यात छुटे ।

अहिलेसम्म सामान्य इजलासले थुनामा पठाएको व्यक्तिलाई ७३ नम्बरको निवेदन कायम हुँदा हुँदै बन्दी प्रत्यक्षीकरणको सुनुवाइबाट छाड्ने कुनै प्रचलन नै थिएन । तर शम्भु थापाले बहस गरेको हुनाले कम्फरटेबल इजलासबाट नयाँ सिद्धान्त कायम कायम गरेर दीप बस्न्यातलाई छुटाइयो ।

सबैलाई थाहा छ, दीप बस्न्यात शम्भु थापा, आनन्दमोहन भट्टराई र ईश्वरको खतिवडाको सेटिङ अनुसार छुटेका हुन् । यो प्रकरणलाई लिएर केही न्यायाधीशले प्रधानन्यायाधीशलाई उतिबेलै ध्यानाकर्षण पनि गराएका थिए ।

जग्गा व्यक्तिको नाममा गर्ने दीप बस्न्यात बन्दी प्रत्यक्षीकरणबाट छुटे । तर त्यो जग्गा खरिद गर्ने शोभाकान्तको हकमा अर्को इजलासले बन्दी प्रत्यक्षीकरणमा उनलाई छुट दिएन । यो मुद्दा लगायत पछिल्लो समय हरिहर दाहाल,शम्भु थापा र रमण श्रेष्ठ एकातिरबाट बहस गरेको कुनै पनि मुद्दा उनीहरुले हारेका छैनन् । यो सेटिङको नमूना एमालेले कारवाही गरेका कर्णालीका चार सांसदको प्रकरणमा पनि देखिएको थियो ।

दाइगिरीको नांगो रुप संवैधानिक इजलासमा देखिएकै हो । बाहुबली वकिलहरु उभिएर ठूलो स्वर गरेपछि न्यायाधीशले इजलास छाड्नुपर्ने र उनीहरुले चाहेका न्यायाधीश संवैधानिक इजलासमा बसेर बाहिरै फैसला लेख्नेसम्मका अभ्यास भएकै हुन् ।

दाइगिरीले रिक्युजल (इजलास छाड्ने वा नछाड्ने न्यायाधीशको स्वविवेक’लाई कब्जामा लिँदा प्रधानन्यायाधीशले नेतृत्व क्षमता देखाउन नसक्नु नै अहिलेको समस्याको एउटा कारण हो । त्यही रिक्युजलको विषय अर्को पक्षका वकिलले उठाउँदा दाइगिरी र उनीहरुका कम्फरटेबल न्यायाधीशले अदालतका अवहेलनामा मुद्दा चलाउने र लाइसेन्स खारेज गर्ने धम्की दिइएको परिणाम अहिले देखिदैछ ।

जसरी टोले गुण्डाले धम्की दिँदा सज्जनहरुले खुरुखुरु मान्नुपर्ने बाध्यता हुन्छ त्यस्तै अवस्था अदालतमा सिर्जना भएकै हो । उनीहरुको मनोबल बढाउन प्रधान न्यायाधीश,न्यायाधीश र वकिलहरु सहयोगी बनेकै हुन् । त्यसैले आज बारको दुई तिहाई शक्ति रहेका पिपिएलए र डिएलए एकातिर हुँदा पनि यो जमात बार नेतृत्वलाई मदारीले बाँदर नचाए जसरी सर्वोच्चको आँगनमा नचाइरहेको छ ।

डीएलएको विरासत बोक्ने शेरवहादुर केसी, सुनील पोखरेल, गोपालचन्द्र घिमिरे, उपेन्द्र केशरी न्यौपाने, ध्रुवलाल श्रेष्ठजस्ता  प्रजातन्त्रवादी वकिलहरु बारको आन्दोलनमा छैनन् । पीपीएलए संस्थागत रुपमै आन्दोलनमा छैन ।

न्यायपालिकाको अहिलेको समस्या पहिचान गर्नेमा एमाले र कांग्रेस निकट वकिलहरुको संगठन एक ठाउँमा उभिनु दाइगिरीमाथि पहिलो चुनौति हो । चोलेन्द्रमात्र होइन सर्वोच्चका २० जनै न्यायाधीशले जनताको न्याय पाउने अधिकार हनन गरेका हुन् भनेर राजनीतिक दलले संवैधानिक प्रक्रिया अपनाएर हटाउनुपर्ने आशय उनीहरुले व्यक्त गरेका छन् ।

एमाले र कांग्रेसका नेतृत्वको ग्रीन सिग्नल नलिई ती दलका भातृ संगठनले यति बोल्ने आँट गरेका अवश्य होइनन् । अचेल युट्युबमा भाइरलमेन बन्नेहरुले ३ करोड जनताको मलाई साथ छ भने जस्तै दाइहरुले पनि २० हजार वकिलको ठेक्का लिनु एउटा कुरा हो ।

नत्र ८० प्रतिशतभन्दा बढी बार सदस्यहरुको हिस्सा बोक्ने पीपीएलए र डीएलएले मुख खोलिसकेपछि बारको ह्याण्डिलमात्र उनीहरुको हातमा छ, स्टेयरिङ छुट्टिइसक्यो ।

यो पनि पढ्नुहोस :

न्यायाधीश र वकिलहरु संविधानभन्दा माथि हुन् ?

अदालत र अस्पतालमा मौलाएको अपराध

बार कोषाध्यक्षको प्रश्न: हड्तालकारी न्यायाधीशलाई सेवाग्राहीले घिसारेर इजलासमा लगे के हुन्छ ?

न्यायपालिकाको अस्तित्व सिध्याएर न्यायाधीशको चाहीँ बच्ला ?

‘कम्फरटेबल अदालत’ का लागि हमाल देखाएर अर्कैतिर हमला

सर्वोच्चको आन्दोलनमा ट्वीस्ट- एमाले र कांग्रेसका वकिल संगठन सबै न्यायाधीश हटाउने लाइनमा एकमत


प्रतिक्रिया

One thought on “न्यायपालिकामा ‘दाइगिरी’को सिण्डिकेट : कसले चलाउँछ न्यायाधीश र बार नेतृत्वलाई ?

  1. बेञ्च र बारबीच समन्वय गर्न समन्वय समिति बनाएका थिए जसमा बारका भूतपूर्व र वरिष्ठ पनि थिए। चोलेन्द्रले समन्वय गर्न नसकेकोले राजीनामा गर्नुपर्छ भन्ने तिनै बरिस्ठ हरु छन।आफू समन्वय गर्न समितिमा बस्छन। समन्वय गर्न मान्दैनन् तर समन्वय गर्न नसकेको जिम्मेवारी लिँदैनन।कानुनले नचिन्ने त्यो ऐँजेरु समन्वय समिति भङ्ग गर्नु पर्छ।घुष ख्वाउने बरिष्ठहरुको सम्पत्तिको छानबिन उच्चस्तरीय न्यायिक समितिबाट गराउनु पर्छ।र बरिस्ठ हरुले बिगत ३ बर्षमा कति कति आयकर दाखिला गरे? आफै सार्वजनिक गर भन्नू पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर