महेश बस्नेतको टोलबाट गगनको गर्जन : सिंगल-सिंगल भिडेरै एमालेलाई हराउने हो – Nepal Press

महेश बस्नेतको टोलबाट गगनको गर्जन : सिंगल-सिंगल भिडेरै एमालेलाई हराउने हो

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले एमालेसँग एक्लै चुनाव लडेरै कांग्रेसले बहुमत ल्याउने दावी गरेका छन् । भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता थापाले एक्लै चुनाव लड्न आउन एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको चुनौतीको जवाफ दिएका हुन् ।

‘सिंगल-सिंगल चुनाव लड्न आउन भनेको होइन ? पहिले पनि सिंगल नै लडेर कांग्रेस सबैभन्दा ठूलो पार्टीको भएको थियो । अब त झन् एमालेलाई कुचो लगाएर बढार्ने हो । कतै धुलो अड्केको रहेछ भने भ्याकुम लगाउने हो’, थापाले भने । उनले एमाले राजनीतिक पार्टी नभएर ‘केपी ओलीको प्राइभेट लिमिटेड’ भइसकेको आरोप लगाए ।

गुण्डु एमालेका युवा नेता महेश बस्नेतको गाउँ हो । उनी साबिक गुण्डु गाविसबाट २०५४ मा गाविस अध्यक्ष निर्वाचित भएका थिए भने अहिले सो क्षेत्रका सांसद छन् । यसअघि कांग्रेसले महेश बस्नेतकै गाउँमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत लगेर भाषण गराएको थियो ।

देउवाले त्यसबेला महेश बस्नेतलाई आफूसँग होइन भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिएका थिए ।

‘एमालेमा फरक मत राख्ने भीम रावल र धनश्याम भूसाल छन् । उनीहरूको पनि त्यहाँ केही चल्दैन । एमाले पार्टी होइन ओली प्राइभेट लिमिटेड भइसकेको छ’, थापाले भने । जनताले विश्वास गरेर दिएको मतको सम्मान गर्न नसकेर संविधानमाथि प्रहार गरेकाले एमाले हराउनुको विकल्प नभएको थापाको भनाइ छ ।

फरक प्रसंगमा थापाले कांग्रेसले मंसिरमा महाधिवेशन सकेर पुस २ भित्र निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताए ।


प्रतिक्रिया

One thought on “महेश बस्नेतको टोलबाट गगनको गर्जन : सिंगल-सिंगल भिडेरै एमालेलाई हराउने हो

  1. कस्ताे परिभाषा हाे, फरक मत चाहिँदाे रहेछ काजीसापलाई पार्टी हुन हाहाहा ।। १० मुख र भद्रगाेल भएकाे काँग्रेस त्यसैले पार्टी नै रहिरहेकाे हाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर