मेटमणिको दाबी- आगामी चुनावमा एमालेको सिट शून्य, घनश्यामहरू यतै फर्किन्छन् – Nepal Press

मेटमणिको दाबी- आगामी चुनावमा एमालेको सिट शून्य, घनश्यामहरू यतै फर्किन्छन्

रूपन्देही । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले आगामी निर्वाचनमा १६५ वटा निर्वाचन क्षेत्रमध्ये कुनै पनि स्थानमा एमालेले जित्न नसक्ने टिप्पणी गरेका छन् ।

उनले समानुपातिकतर्फ एमालेले १०/१२ वटा सिट ल्याए पनि प्रत्यक्षतर्फ भने शून्य सिट हुने दाबी गरे ।

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले बुधबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता चौधरीले घनश्याम भुसाललगायतका नेता केही समय बिराएर ओली नेतृत्वको पार्टीमा रहे पनि उहाँहरू छिट्टै एकीकृत समाजवादीमा फर्कन बताए । ‘रनभुल्ल भएर उहाँहरू ओली पार्टीमा हुनुहुन्छ, एमालेको महाधिवेशनअगाडि नै समाजवादीमा आउँनुहुन्छ, ’चौधरीले भने ।

वर्तमान गठबन्धन निर्वाचनपछि पनि निरन्तर रहने उनको भनाइ छ । ‘जबसम्म हामीले योग्यता क्षमता निर्माण गर्न सक्दैनौं, तबसम्म गठबन्धन रहनेछ, ’नेता चौधरीले भने । नेपालको कम्युनिष्ट आन्दोलन अत्यन्तै अफ्ठयारो अवस्थामा रहेको उनले बताए ।

‘नेकपा एस निर्माण नभएको भए नेपालको कम्युनिष्ट आन्दोलन आँखा अगाडि समाप्त भएको देख्नुपर्दथ्यो, यो खालको अवस्था आइसकेको थियो, आज एकीकृत समाजवादी निर्माण गरेर समाप्त/विघटन गर्न लागेको नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरि पनि सेभ गरेका छौं । यसमा हामी सफल भएका छौं, समृद्ध बनाउने ठाउँमा छौं, ’उनले भने ।

ओलीबाहेक सबै कम्युनिष्ट पार्टीको मोर्चा बनाउने भन्दै चौधरीले उपेन्द्र नेतृत्वको पार्टीसँग सहकार्य गरेर बहुमतका साथ चुनाव जित्ने जिकिर समेत गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्केपछि अदालतबारे दृष्टिकोण बनाउने उनले बताए ।‘प्रधानान्याधीशले मन्त्री बनाइदिनुस् भनेर दबाब दिनुभएको साँचो हो भने त्यो गलत कार्य हो, सेटिङ बार्गेनिङको कुरा साँचो हो भने उहाँले पदबाट राजीनामा दिनुपर्छ, ’चौधरीको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर