निर्माण सकिएको चोभार सुक्खा बन्दरगाहमा भन्सार र क्वारेन्टिनको पर्खाइ – Nepal Press

निर्माण सकिएको चोभार सुक्खा बन्दरगाहमा भन्सार र क्वारेन्टिनको पर्खाइ

भन्सार विभाग कार्यविधि बनाउँदै

काठमाडौं । चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह भन्सार र क्वारेन्टिन नबस्दा सञ्चालनमा आउन सकेको छैन । बन्दरगाहको जिम्मा पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिले भौतिक निर्माणको काम सम्पन्न गरेको हो ।

समितिले भन्सार र क्वारेन्टिनको लागि भवन निर्माणसमेत गरेर कार्यालय स्थापनाको लागि भन्सार र क्वारेन्टिनलाई जानकारी गराएको थियो । भन्सार कार्यालयले भने प्रतिस्थापन विधेयकमा चोभार सुख्खा बन्दरगाहको नाम समाबेश गरेर कार्यविधि निर्माणको चरणमा रहेको बताएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल समितिले भौतिक संरचनाको निर्माण पूरा गरिसकेको जानकारी दिए ।

गजुरेलले भने, ‘हामीले गर्नुपर्ने काम सकियो । अब भन्सार कार्यालय र क्वारेन्टीन आएर बसेपछि सुख्खाबन्दगाह सञ्चालनमा आउने छ ।’

भन्सार विभागका निर्देशक विक्रम खड्काले चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय स्थापनाका लागि काम भइरहेको बताए । प्रक्रियागत विषयमा छलफल जारी रहेको उनको भनाइ छ ।

खड्काले भने, ‘भन्सार विभागले सुख्खा बन्दरगाह कसरी सञ्चालन गर्ने भनेर कार्यविधि बनाएर अर्थ मन्त्रालयलाई पठाएको छ । केही दिनमा त्यो स्वीकृत भएर आउँछ होला ।’

खड्काका अनुसार प्रतिस्थापन विधेयकभन्दा पहिले चोभार सुख्खा बन्दरगाह भन्ने शब्द कतै पनि थिएन । प्रतिस्थापन विधेयकमा पहिलोपटक यसलाई समावेश गरिएको छ । त्यही अनुसार कार्यविधि निर्माण गरेर मन्त्रालय पठाएको उनले जानकारी दिए ।

‘मन्त्रालयबाट कार्यविधि स्वीकृत भएर आएपछि चोभारमा भन्सारको कार्यालय स्थापना हुने छ,’ उनले भने ।

कस्ता वस्तुहरु चोभारको सुख्खा बन्दरगाहमा ल्याउन दिने भन्ने समेन एकिन भएको छैन । सीमानाकाबाट छुटेर चोभार आएका बस्तुहरु बाटैमा हराउन नदिनका लागि सफ्टवेयर निर्माणको काम पनि भन्सार विभागले गरिरहेको खड्काले बताए ।

खड्काले भने, ‘चीनतर्फको नाकाबाट काठमाडौंमा नै भन्सार तिर्छु भनेर आएको गाडी बुटवल गए भने के गर्ने ? यस्ता भन्सार छली हुन नदिनका लागि के–कस्ता उपायहरु प्रयोग गर्ने भन्ने विषयमा पनि हामीले काम गरिरहेका छौं ।’

खड्काका अनुसार त्यहाँ भन्सार स्थापना गर्दा २९ जना कर्मचारीको आवश्यक पर्ने अनुमान गरिएको छ । त्यसअनुसार कार्यविधिमा लेखेर पठाइएको उनले बताए ।

‘कार्यविधि पास भएर आउने अन्तिम चरणमा छ,’ उनले भने ।

व्यापारीले दाबी गरेको मात्रै बैंक ग्यारेन्टी लिने कि, त्योभन्दा धेरै लिने भन्ने पनि निर्णय भइसकेको छैन । व्यापारीहरुले बैंक ग्यारेन्टी नै लिनपर्ने बताइरहेका छन् । १० लाखको सामान भनेर ल्याएको गाडीमा ५० लाखको सामान रहेछ भने त्यसले राजस्वलाई असर गर्ने खड्का बताउँछन् ।

कृषि मन्त्रालय अन्तगतको प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले सुख्खा बन्दरगाहमा क्वारेन्टीनको कार्यालय राख्नका लागि कृषि मन्त्रालयसँग कर्मचारी स्वीकृतिको माग गरेको बताए ।

उनले भने, ‘हामीले मन्त्रालयसँग चोभार सुख्खा बन्दरगाहको लागि ६ जना कर्मचारी माग गरेर मन्त्रालयलाई फाइल पठाएका छौं । त्यो स्वीकृत भएर आएपछि क्वारेन्टीनको कार्यालय स्थापनाको काम अगाडी बढ्ने छ । अहिले नै सुख्खा बन्दरगाहमा सामान ल्याउने हो पनि भने हामी यहीँबाट कर्मचारी पठाएर काम गर्न सक्ने अवस्थामा छौं ।’

सो बन्दरगाह सञ्चालनमा आएपछि विदेशबाट आयात हुने वस्तु सिधै चोभार ल्याउन पाइनेछ । नेपालबाट निर्यात हुने वस्तु पनि यही बन्दरगाहबाट सबै प्रक्रिया पूरा गरी लैजान सकिनेछ । नेपालमा आयात हुने वस्तु धेरै मात्रामा काठमाडौंमा खपत हुने भएकाले आयातकर्तालाई सहज हुनेछ ।

स्थानीयको विरोध र कोरोना महामारीका कारण निर्धारित मितिभन्दा करिब १ वर्ष ढिला बन्दरगाह निर्माण सकिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते बन्दरगाह शिलान्यास गरेका थिए ।

बन्दरगाह निर्माणका लागि शुरूमा छुट्ट्याइएको १ अर्ब ४० करोडबाट १२ प्रतिशत लागत बढेर १ अर्ब ६० करोड खर्च भएको छ । निर्माणमा विश्व बैंकले सहयोग गरेको हो । आशिष र साक्षी ज्वाइन्ट भेन्चरले निर्माणको जिम्मा लिएका थिए । निजगढ–काठमाडौं द्रुतमार्ग, भारतसँगको रेलमार्ग, केरुङ रेलमार्ग र बाहिरी चक्रपथसँग जोडिने यो बन्दरगाहबाट व्यापारिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । व्यापारीले आफ्नो सामानको भन्सार तिर्न कोलकता, वीरगञ्ज, विराटनगर नगई चोभार सुख्खा बन्दरगाहबाट नै सबै काम गर्नसक्ने छन् ।

यस्तो छ बन्दरगाह

दुई सय २० रोपनीमा बन्दरगाह निर्माण भएको बन्दरगाहमा ५ सय कन्टेनर राख्न सकिने सुविधा छ । पाँचवटा ब्लकको गोदाम बनेका छन् । १ हजार ३ सय वर्गमिटरमा खुला जाँचक्षेत्र रहेको छ । यस्तै, यहाँ सामान जाँच्ने स्टेसन, लोड–अनलोड, नापतौल र नियन्त्रण कक्ष, पार्किङ तथा सडक निर्माण गरिएको छ ।

बन्दरगाहमा ३ वटा मुख्य गेट, भन्सार, क्वारेन्टाइन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा गोदाम, ३ वटा सवारीसाधनको चेकजाँच गर्ने संरचना निर्माण भएका छन् ।

हाल वीरगञ्ज, भैरहवा, तातोपानी र विराटनगरबाट नै भन्सारको सबै काम सकेर सामान आयात हुने गरेको छ । ती स्थानबाट सामान आयात हुँदा त्यहाँको भन्सारमा सामान्य प्रक्रिया मात्रै गरेर चोभारको सुख्खा बन्दरगाह ल्याएर भन्सार तिर्न सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *