ओलीलाई प्रचण्डपुत्रीको सुझाव- माओवादीकै सहयोगमा प्रधानमन्त्री हुनेले ठूला कुरा नगरेकै बेस – Nepal Press

ओलीलाई प्रचण्डपुत्रीको सुझाव- माओवादीकै सहयोगमा प्रधानमन्त्री हुनेले ठूला कुरा नगरेकै बेस

काठमाडौं । भरतपुर महानगरकी मेयर एवम् प्रचण्डपुत्री रेणु दाहालले एमाले अध्यक्ष ओली माओवादीको सहयोगमा दुई-दुई पटक प्रधानमन्त्री बनेको भन्दै ठूला कुरा नगर्न सुझाव दिएकी छिन् ।

सोमबार एमाले भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै ओलीले दुई-दुई पटक प्रचण्डका लागि भोट मागेर जिताएको र अब त्यस्तो गल्ती नगर्ने बताएका थिए ।

दाहालले त्यसको जवाफ फेसबुकमार्फत दिँदै पार्किन्सनको बिरामी श्रीमतीलाई छाडेर प्रचण्ड पनि ओलीका लागि भोट माग्न गएको र त्यही बेला आफ्ना भाइ प्रकाश दाहालको मृत्यु भएको उल्लेख गरेकी छिन् । ‘ओलीलाई भोट माग्न ओलीको क्षेत्रमा ओलीसहित अध्यक्ष क. प्रचण्ड झापा जाँदा घरमा आमा मात्र, त्यही पनि पार्किन्सनको बिरामी, भाइको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दु:खद घटना घट्यो ।’

यदि प्रचण्ड ओलीका लागि भोट माग्न झापा नगइ घरमै भएको भए प्रकाश दाहालले समयमै उपचार पाउने र ज्यान जोगिन्थ्यो कि भन्ने उनको भनाइ छ । उनले भनेकी छिन्, ‘के थाहा समयमै अस्पताल लैजान पाएको भए भाइको ज्यान जोगिन पनि सक्थ्यो ।’

यस्तो परिस्थितिमा माओवादीसँगको सहकार्यकै कारण ओली प्रधानमन्त्री बनेको र ओली एक्लैले दुईतिहाइ नल्याएको उनको भनाइ छ। ‘झण्डै दुईतिहाईको सरकार के ओली एक्लैले ल्याएको हो ?,’ उनको प्रश्न छ, ‘हो भने हामीले साथ छोड्दा त सबै गर्ल्यामगुर्लुम ढल्यो त । धेरै नै फुर्ती लाउनेले अब बनाएर देखाए भो त ।’

उनले थपेकी छिन, ‘इतिहासमा दुईपटक प्रधानमन्त्री माओवादीकै सहयोगमा भएकाले ठूला कुरा नगरेकै बेस होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर