तीन फ्रान्सेली आरोही आमादब्लम नजिकको हिमपहिरोमा बेपत्ता, हेलिकप्टरमार्फत खोजी हुँदै


काठमाडौं । ६ हजार मिटर अग्लो एक हिमाल आरोहण गर्ने क्रममा कम्तीमा तीनजना फ्रान्सेली आरोही सगरमाथा क्षेत्रमा आएको हिमपहिरोमा परेर बेपत्ता भएका छन् ।
नेपाल माउन्टेन गाइड एसोसिएसनका अध्यक्ष आङनोर्बु शेर्पाका अनुसार आइतबार दिउँसो आएको हिमपहिरोमा उनीहरु परेका थिए । बेपत्ता हुनेहरुमा थोमस अर्फी, ग्रेबियल मिलोची र लुइस पचौड छन् ।
उनीहरुको खोजीमा तालिमप्राप्त माउन्टेन गाइडलाई खटाइएको एसोसियसनले जनाएको छ । उनीहरु खुम्बु क्षेत्रमा रहेको आमादब्लम हिमाल नजिक हराइरहेको जनाइएको छ ।

घटनास्थल पहिचान गर्न कैलाश हेलिकोप्टर पनि प्रयोग गरिएको छ । उक्त एयरलाइन्सका वरिष्ठ पाइलट क्याप्टेन क्लाउडियो स्टेफनले हवाइ खोजी गरिरहेका छन् ।

पाइलट स्टेफनका अनुसार मिन्बो ला हिमनदी नजिक ती आरोहीको टेन्ट भेटिएको छ भने यो आमादब्लम नजिक रहेको भनिएको छ । काठमाडौंस्थित फ्रान्सेली दूतावासको समन्वयमा खोजी कार्य भैरहेको जनाइएको छ ।
ती स्वीस पाइलट क्लाउडियोले बेपत्ता आरोहीका परिवारले पेरिसबाट उद्दार गर्न आग्रह गर्दैै टेलिफोन गरेपछि घटनाबारे थाहा भएको थियो ।