सुरेन्द्र पाण्डेको प्रष्टोक्तिः व्यक्तिलाई टार्गेट गरेर चितवनमा महाधिवेशन गर्न लागेको होइन (भिडिओ) – Nepal Press

सुरेन्द्र पाण्डेको प्रष्टोक्तिः व्यक्तिलाई टार्गेट गरेर चितवनमा महाधिवेशन गर्न लागेको होइन (भिडिओ)

ओलीले आजै महाधिवेशन मूल व्यवस्थापन कार्यालयको उद्घाटन गर्दै

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कुनै पार्टी वा व्यक्ति विशेषलाई टार्गेट गरेर राष्ट्रिय महाधिवेशन चितवनमा गर्न लागिएको आरोपको खण्डन गरेका छन् ।

आज विहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले केहि मानिसहरुको डराएको मनको अभिव्यक्तिका रुपमा त्यसलाई लिनसमेत अनुरोध गरेका छन् ।

‘विधान महाधिवेशनमै हामीले चितवनमा गर्नेबारे छलफल गरेका थियौं । तर ठाउँको उपलब्धताको ग्यारेन्टी नभएको हुनाले निश्चित गर्न सकिएन । त्यतिबेला अध्यक्षले बुटवल घोषणा गर्दा पनि अन्य सम्भावना कायमै रहने भन्नुभएको थियो,’ नेता पाण्डेले भने, ‘पछि सबै कोणबाट छलफल गर्दा चितवन नै पायक पर्ने देखियो । कुनै पार्टी वा व्यक्तिलाई टार्गेट गरेर आएको हाइन । उहाँहरुको मन डराएको हो, डराएको मनको अभिव्यक्ति हो ।’

केहि दिनअघि चितवन भ्रमणका क्रममा नेकपा माओवादी अध्यक्ष प्रचण्ड तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले अन्तै तय भएको महाधिवेशन चितवन सारिनुमा आफूहरुलाई टार्गेट गरिएको अभिव्यक्ति दिएका थिए ।

अध्यक्ष केपी शर्मा ओली पनि आजै चितवन जाँदैछन् । उनले महाधिवेशनको उद्घाटन स्थल नारायणगढको नारायणी किनार र बन्दसत्र स्थल सौराहाको अवलोकन गर्नेछन् । जिल्ला पार्टी कार्यालयमा महाधिवेशन मूल व्यवस्थापन समितिको कार्यालयको उद्घाटन पनि आजै ओलीले गर्नेछन् ।

नेता पाण्डेले उद्घाटन समारोहमा ५ लाख कार्यकर्ता उतार्ने लक्ष्यअनुसार सबै प्रदेशबाट सहज आगमनका लागि योजना बनाइसकेको बताए । उनले तिहारलगत्तै पूर्ण क्षमतामा महाधिवेशन तयारीमा जुट्ने जानकारी दिए ।

‘बागतमीबाट साढे २ लाख, गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, प्रदेश २ बाट १ लाख जनसंख्या चितवन ल्याइने । अन्य प्रदेशबाट स्वयम्सेवकका रुपमा ल्याइने योजना बनाइएको छ,’ उनले थपे, ‘जिल्लाजिल्लाबाट मानिस ल्याउन योजना बनेका छन् । मूल व्यवस्थापन समितिको मातहतमा १२ वटा समितिहरु बनाइएको छ ।’

महाधिवेशनमा कुन पदका लागि उम्मेद्वारी दिने तयारी छ ? भनेर सोधिएको प्रश्नमा नेता पाण्डेले पार्टीभित्र कुनै पदमा पनि उम्मेद्वारीबारे छलफल नभएको दावी गरे ।

‘कम्युनिस्टहरुको परम्परामा म पहिल्यै यो पदका लागि उठ्छु भन्ने चलन हुँदैन । कतिपय बुर्जुवा पार्टीहरुमा त्यस्तो हुन्छ । तर हामी त्यस्तो अभ्यासबाट आएका होइनौं । हामी सबै सहमतिमा गर्ने प्रयासमा हुनेछौं,’ उनले भने, ‘यसपल्ट इलेक्ट्रोनिक भोटिङ प्रणालीबाट चुनावमा जानेछौं । १०० वटा मेसिन अर्डर गरिसकेका छौं । केहि पदमा चुनाव पनि हुनसक्छ किनभने त्यो मेसिनको प्रयोग पनि त गर्नुप¥यो नि ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर