पत्रकार महासंघ वागमती प्रदेश सम्मेलन: चितवनमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको माग – Nepal Press

पत्रकार महासंघ वागमती प्रदेश सम्मेलन: चितवनमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको माग

चितवन । नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिको प्रथम प्रदेशिक सम्मेलन ११ बुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ । महासंघ वागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्न माग गर्दै ११ बुँदे घोषणापत्र जारी गरिएको बताए ।

सरकारको नीति तथा कार्यक्रममा परेको प्रतिष्ठान चितवनमा बनाउन यसअघिनै महासंघ, केन्द्रीय समितिले निर्णय गरिसकेको छ ।
सम्मेलनले काभ्रेमा आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्ने, महासंघको प्रदेश कार्यालय रहेको हेटौंडा ११ स्थित जग्गामा प्रादेशिक संचारग्राम स्थापनाका लागि प्रकृया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको देवकोटाले बताए ।

कोभिड महामारीको कारण देखाउँदै पत्रकारहरूलाई कामबाट हटाउने, पारिश्रमिक नदिने जस्ता गतिविधि गरेकोमा महासंघले ध्यानाकर्षण गराउँदै बाँकी पारिश्रमिक तत्काल उपलव्ध गराउन माग गरिएको छ । प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको आबश्यक प्रवन्ध गर्न सम्मेलनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

सञ्चारमाध्यमको पुनरउत्थानका लागि आर्थिक प्याकेज ल्याउन र स्वरोजगारमूलक सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापनको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरिएको छ ।

प्रदेश समितिले यो आर्थिक वर्षलाई तालिम वर्षको रूपमा अघि बढाउने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघको विधानमा उल्लेख भएको मापदण्डअनुसार महासंघलाई क्रियाशील पत्रकारहरूको संस्था बनाउनका लागि सदस्यता शुद्धीकरण अभियानमा सहयोग गर्न सबै जिल्ला शाखाहरुलाई आग्रह गरिएको छ ।

सौराहामा २ दिन चलेको सम्मेलनमा वागमती प्रदेशका १० जिल्लाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र प्रदेश कार्यसमितिको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *