सिन्धुपाल्चोकको बिन्जेलमा बन्ने भयो प्रसूती केन्द्र
स्थानीयले गरे दाताको भब्य स्वागत


सिन्धुपाल्चोक । बलेफी गाउँपालिका– खर्कचौर बिन्जेलमा प्रसूती केन्द्र निर्माण हुने भएको छ । अष्ट्रेलियन नागरिक थियो फिस्चेको आर्थिक सहयोगमा ६ कोठे सुविधा सम्पन्न प्रसूती केन्द्र निर्माण हुन लागेको हो । फिस्चेको ५० लाख ४० हजार र बलेफी गाउँपालिकाको १२ लाख ६० हजार लागतमा भवन निर्माण हुनेछ ।
भवनको शुक्रबार दाता संस्था अष्ट्रियन नागरिक थियो फिस्चे र संविधानसभा सदस्य केशव नेपालले एकै साथ शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा संविधान सदस्य केशव नेपाल, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षत्री, बलेफी गाउँपालिका वडा नं.४ का अध्यक्ष कालीप्रसाद तामाङ, डा.सविना पराजुली, ईन्जिनियर नविन पराजुली र जालपादेवी माविका प्रधानाध्यापक नेत्रप्रसाद तिमिल्सिनाले मन्तव्य राखेका थिए ।
प्रसूती केन्द्र निर्माणसंगै ग्रामीण भेगमा गर्ववतीलाई प्रसूती सेवा लिन टाढा टाढाको स्वास्थ्य संस्था धाउनु पर्ने र जोखिमपूर्ण रुपमा घरमा नै सुत्केरी हुने प्रथाको अन्त्य हुने छ ।
शिलान्यास कार्यक्रममा स्थानीय पन्जेबाजा, लोक भजन र जालपादेवी माविका विद्यार्थीहरुले आकर्षक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । साँगाचोक निवासी ईन्जिनियर नविन पराजुलीको समन्वयमा प्रसूती केन्द्र निर्माण हुन लागेको हो ।