एमाले अध्यक्ष ओली चितवन आउँदै, अयोध्याधामको अवलोकन गर्ने – Nepal Press

एमाले अध्यक्ष ओली चितवन आउँदै, अयोध्याधामको अवलोकन गर्ने

चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित माडीको अयोध्याधाम अवलोकन गर्ने भएका छन् । उनी पर्सि मंगलबार पहिलोपटक अयोध्याधाम आउने भएका हुन् ।

२०७७ असार २९ भानुजयन्तीका दिन बालुवाटारमै आयोजित कार्यक्रममा ओलीले राम भारतीय हुँदै नभएको भन्दै नेपालमै जन्मेको र अयोध्या पनि नेपालमै रहेको अभिव्यक्ति दिएपछि माडीको अयोध्यापुरी चर्चामा आएको थियो । अयोध्याधाममा वागमती प्रदेश सरकारको करिब ३० लाख लगानीमा मन्दिर, सत्तल, सुरक्षा गार्ड बस्ने भवन र शौचालय बनेको छ । ओली नेतृत्वको सरकारले अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षण गर्न १ करोड बजेट विनियोजन गरेको थियो । पुरातत्व विभागमार्फत देशभरका पुरात्विक स्थलको संरक्षण गर्न ४८ करोड बजेट विनियोजन भएको थियो ।

माडी नगरपालिकाले अयोध्याधामका लागि १०० बिघा जमिन प्रस्ताव गरेको थियो । ओलीकै निर्देशनमा बालुवाटारमै राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदको मूर्ति बनाएर गत वैशाखमा काठमाडौंदेखि रथयात्रा गरेर मूर्ति राखिएको थियो । ओलीले माडीमा अयोध्याधाम निर्माण गर्ने कार्यलाई सफल पार्ने अडान लिँदै आइरहेका छन् । प्रमाण र अनुसन्धानबिना अयोध्याधाम बनाउन लागेको भनेर उनको आलोचना पनि हुँदै आएको छ ।

माडी नगरपालिका-९ मा पर्ने अयोध्याधाम भरतपुरदेखि करिब ५० किलोमिटर दूरिमा छ । यहाँ रामायणसँग जोडिएका अयोध्यापुरी, वाल्मीकि आश्रम, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्डलगायतका धार्मिक क्षेत्रहरू छन् । एमाले माडीका नेता श्रीप्रसाद दवाडीले अयोध्याधाम अवलोकनपछि ओलीले सम्बोधन गर्ने बताए ।

त्यसपछि उनले एमाले भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन गर्नेछन् । ‘कात्तिक १५ गते ११ बजे चितवन आउँनुहुनेछ, अधिवेशन उद्घाटन र सम्बोधन गर्नुहुनेछ’, एमाले भरतपुर महानगर अध्यक्ष रामप्रसाद न्यौपानेले भने, ‘केन्द्रीय महाधिवेशनको तयारीबारे जानकारी र महाधिवेशनस्थल निरीक्षण गर्नुहुनेछ ।’

ओलीको चितवन भ्रमणबारे एमाले भरतपुर महानगर कमिटीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर