कोरोना प्रभावित उद्योगी-व्यवसायीले ५ करोडसम्म पुन:कर्जा पाउने, राष्ट्रबैंकले निकाल्यो सूचना – Nepal Press

कोरोना प्रभावित उद्योगी-व्यवसायीले ५ करोडसम्म पुन:कर्जा पाउने, राष्ट्रबैंकले निकाल्यो सूचना

काठमाडौं । कोरोनाका कारणले समस्यामा पारेका उद्योगी र व्यवसायीले ५ करोडसम्म पुन:कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंक तथा वित्तीय संस्थाहरुलाई पुन:कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ ।

निजी क्षेत्रले राहत नपाए धेरै उद्योग-व्यवसायहरू बन्द हुने अवस्थामा पुगेको भन्दै लामो समयदेखि सरकारलायृ घच्घच्याएको थियो । त्यसलाई मध्यनजर गर्दै राष्ट्रबैंकले कोरोनाबाट अति प्रभावित र मध्ये प्रभावित व्यवसायीहरूलाई पुनःकर्जाको नीति लिएको हो ।
कोरोनाका कारण समस्यामा परेका उद्योगी र व्यवसायीले आफूले कारोबार गरेको बैंकमा पुनःकर्जाको लागि आवेदन दिन सक्ने छन् ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले कोरोनाबाट प्रभावित भएका व्यवसायले ५ करोडसम्म पुन:कर्जा लिन पाउने बताए ।

ढकालले भने, ‘पुनःकर्जाको सीमाभित्र रहेर व्यवसायीले ५ करोडसम्म पुनःकर्जा लिन पाउने छन् । पुनःकर्जा लिन चाहने व्यवसायीले आफुले कारोबार गरेको बैंकको शाखामा मंसिर १९ गतेभित्र निवेदन दिनुपर्छ ।’

सरकारले यातायात, पर्यटन, चलचित्र उत्पादन, सिनेमा हल, रोजगारी गुमेका, कुखुरापालन व्यवसाय, पशुपन्क्षी, हवाई तथा पर्यटकीय मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय पार्टी प्यालेस, मत्स्यपालन लगायतका व्यवसायलाई कोरोना प्रभावितको सूचीमा राखेको छ ।

सीपमुलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, विद्यालय, निर्माण व्यवसाय, औषधि उत्पादक, छपाइ प्रकाशन तथा सञ्चार गृह, फलामजन्य व्यवसाय र अस्पताल पनि प्रभावित सूचीमा छन् । उनीहरू सबैले पुनःकर्जा प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *