विप्लव समूहका नेता कार्यकर्ता रिहाइको पहल भइरहेको कार्यबाहक प्रधानमन्त्री खाँणको भनाइ – Nepal Press

विप्लव समूहका नेता कार्यकर्ता रिहाइको पहल भइरहेको कार्यबाहक प्रधानमन्त्री खाँणको भनाइ

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

गृहमन्त्री समेत रहेका खाँणले मुद्धा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्धा फिर्ता लिने प्रक्रिया कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे ।

खाँणले पार्टीका एउटै बन्दीलाई ६/७ वटासम्म मुद्धा लागेको पाइएको उल्लेख गर्दै उनीहरुलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग छलफल भईरहेको जानकारी समेत दिए । उनले सो पार्टीको मुद्धा लागेका, बन्दी जीवन बिताईरहेकाहरुको संख्या एकीन गर्ने काम सरकारले गरिरहेको बताए । सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिबद्ध रहेको कार्यबहाक प्रधानमन्त्री खाँणको भनाई थियो ।

उनले भने, ‘मुद्धा लागेकाहरुलाई चाँही कानुनी प्रक्रियाबाटै त्यो मुद्धा टुंगियोस्, फिर्ता लिन सकियोस् र बन्दीहरु पनि प्रक्रियागत रुपमै मुक्त हुन् भन्ने हाम्रो चाहना छ । त्यसका लागि अहिले गृहकार्य भएको छ । एट्टोर्नी जनरलको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा उहाँहरु कति जना बन्दी हुनुहुन्छ ? उहाँहरुलाई पनि हामीले भनेका छौं– कानुनी अवस्था कस्तो छ, कति जना हुनुहुन्छ ? कहाँकहाँ हुनुहुन्छ ? त्यसको बारेमा अब स्पेसिफिक रुपमा छलफल गरौं । एउटै व्यक्तिलाई ६ वटा, ७ वटा मुद्धा पनि छ । कुनै ठाउँमा घटना हुन्छ, त्यसैको नाममा अनेकौंको नाम जोडिएको हुन्छ । यसले गर्दा बन्दी भन्दा मुद्धा धेरै रहेछ । त्यसलाई हामीले अब कसरी सम्बोधन गर्ने भन्नेमै छलफलमा छौ । सरकार सबै राजनीतिक पार्टीहरुसँग संवाद गर्ने, छलफल गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएरै शान्ति स्थापना गर्न प्रतिबद्ध छ ।’

खाँणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने काममा सरकारले राजनीतिक दलहरुसँगको छलफल गर्ने कामलाई प्राथमिकता दिईरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर