चीनको राजदूत बन्न परराष्ट्र मामिलाको उप कार्यकारीबाट रुपकको राजीनामा ! – Nepal Press

चीनको राजदूत बन्न परराष्ट्र मामिलाको उप कार्यकारीबाट रुपकको राजीनामा !

सभामुखका अग्नि सापकोटाका छोराले चीनबाटै अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन्

काठमाडौं । भारत, चीन, अमेरिकाको राजदूत कांग्रेस कोटाबाट नियुक्त भएपछि चीन माओवादीको कोटामा परेको छ । यी चार देशको राजदूत कुटनीतिक र भूराजनीतिक अर्थमा समेत महत्वपूर्ण र हेबिवेट मानिन्छन् ।

सरकारले पछिल्लो समय अमेरिका, चीन र भारतका राजदूतलाई मन्त्रीस्तरीय सुबिधा दिने गरेको थियो । सरकारले भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरिसकेको छ ।

अब प्रधानमन्त्री शेरवहादुर देउवा बेलायतबाट फर्किएपछि चीन लगायत अन्य देशका राजदूत नियुक्त हुने बताइएको छ । चीनको लागि नेपाली राजदूतमा सभामुख अग्नि सापकोटाका छोरा रुपक सापकोटालाई पठाउनेबारे छलफल भइरहेको माओवादी स्रोतले जनाएको छ ।

चीनमै भूराजनीतिको विषयमा अध्ययन गरेका सापकोटाले यसै साता कात्तिक ७ गते परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप कार्यकारी निर्देशकबाट राजीनामा गरेका छन् । राजदूतको लागि लबिङ भइरहेका बेला सापकोटाले आकर्षक पदबाट राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

सापकोटा युवा कुटनीतिज्ञ हुन् । सरकारले सिफारिस गरेमा दावाफुटी शेर्पापछि उनी सम्भवतः सबैभन्दा युवा राजदूत हुनेछन् । सापकोटाले चीनको रेनमिन विश्वविद्यालदययबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन् ।

उनी चीन मामिला विज्ञका रुपमा समेत नेपालमा स्थापित हुन खोजिरहेका छन् । रुपकलाई राजदूत बनाउनेबारे प्रचण्ड सकारात्मक रहे पनि सत्ता गठबन्धनमा विशेष गरी प्रधानमन्त्री शेरवहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनजस्तो विशाल छिमेकी देशमा परिपक्व राजदूत पठाउनुपर्ने आशय व्यक्त गरेको स्रोतले जनाएको छ ।

रुपकलाई राजदूत बनाउने बार पार्टीमा अहिलेसम्म छलफल नभएको माओवादी स्रोतले जनाएको छ । कतिपय माओवादी नेताले केपी ओली सरकारले कार्यकाल पूरा नहुँदै फिर्ता बोलाएका लिलामणी पौडेललाई नै राजदूत बनाउन सुझाएका छन् । पौडेल पनि पछिल्लो समय माओवादी पार्टीमा सक्रिय भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर