‘अन्तिमपटक’ चितवनबाटै चुनाव लड्ने घोषणा गरेका प्रचण्ड मतदातामाझ आश्वासन बाँड्दै – Nepal Press

‘अन्तिमपटक’ चितवनबाटै चुनाव लड्ने घोषणा गरेका प्रचण्ड मतदातामाझ आश्वासन बाँड्दै

चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल केही दिनदेखि चितवनमा छन् । आफू अन्तिमपटक चुनाव लड्ने र चितवनबाटै उठ्ने घोषणा गरेका उनी घरदैलो, कार्यकर्ता भेटघाट र सार्वजनिक कार्यक्रममा व्यस्त देखिन्छन् ।

जनतामाझ प्रचण्डले विकासे आयोजनाको आश्वासन बाँडिरहेका छन् । आज माडी-९ बाँदरझुलामा आयोजित नागरिकता वितरण सहजीकरण कार्यक्रममा उनको सम्बोधन चितवनको विकासमा केन्द्रित थियो ।

उनले माडी प्रवेश गर्ने राष्ट्रिय निकुञ्जभित्रको बाटो छिट्टै पीच गर्ने बताए । चुनावका बेलाको प्रतिबद्धता नबिर्सेको भन्दै उनले भने, निकुञ्जभित्रको बाटोमा ग्राबेल दबाएर सहज पार्ने काम भएको छ । आकाशे वा भूमिगत पुल बनाउने सपना त अझै पूरा भएको छैन, अब पीच गर्ने छलफल चलिरहेको छ ।’

प्रचण्डले चितवनका सुकुम्बासीलाई लालपुर्जा बाँड्ने पनि बताए । ‘बाँदरझुलामा नागरिकता वितरणको काम सुरू भएको छ, अब लालपुर्जा वितरण र बिजुली बत्ती जडान हुनेछ ।’ कार्यक्रममा प्रचण्डले ७३ वर्षीया हरिमाया प्रजा, ७२ वर्षीया फूलमाया प्रजा र ५७ वर्षीया कृष्णमाया घलानलाई नागरिकता हस्तान्तरण गरे ।

नेकपा एमाले माडीका नेता श्याम विष्टले बाँदरझुलाबासीले सहजै नागरिकता दिन माग गरे । नेपाली कांग्रेसका शोभाकर चापागाईंले निकुञ्ज ऐन जनमैत्री बनाउन ढिलाइ गर्न नहुने बताए । नेकपा एस माडीका अध्यक्ष नारदमणी पौडेलले माडीका समग्र समस्या हल गर्न पहल गर्न प्रचण्डसँग आग्रह गरे । वडा नम्बर ९ का वडाध्यक्ष शिवहरि सुवेदीले भूमिहीनलाई छिटो लालपुर्जा दिन माग गरे । उनले माडी निकुञ्जका कारण बेलाबखत दुख झेल्दै आइरहेको दु:खेसो गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *