विभाजनतर्फ विवेकशील-साझाः मिलन पाण्डे पक्षको बैठक भोलि, यस्ता छन् एजेन्डा – Nepal Press

विभाजनतर्फ विवेकशील-साझाः मिलन पाण्डे पक्षको बैठक भोलि, यस्ता छन् एजेन्डा

काठमाडौं । लामो विवादपछि विवेककशील–साझा पार्टी औपचारिक विभाजनतर्फ लम्केको छ । आज संस्थापन पक्षले पार्टीको केन्द्रीय समिति बैठक बोलाएर अध्यक्ष मिश्रको चर्चित दस्तावेज पारित गरायो भने भोलि असन्तुष्ट पक्षले बैठक डाकेको छ ।

पार्टीमा अध्यक्ष र संयोजकले संयुक्तरुपमा वैठक बोलाउनुपर्ने प्रावधान भए पनि उनीहरुबीच आपसी सहमति नजुटेपछि अलग–अलग बैठक डाकेका हुन् । केन्द्रीय समितिमा मिश्रको बलियो पकड छ ।

मिश्रले आजका लागि एकतर्फीरुपमा केन्द्रीय समिति बैठक डाकेपछि त्यसलाई काउन्टर दिँदै पाण्डेले भोलि २ बजे वैठक बोलाएका छन् । उनले बैठकका लागि ११ वटा एजेन्डा प्रस्तुत गरेका छन् । जसमा पार्टीभित्र बहसमा रहेका दस्तावेजहरु, अध्यक्ष र संयोजकको भूमिकाको समिक्षा, महाधिवेसन मिति घोषणा लगायत छन् ।

संयोजक पाण्डेले केन्द्रीय सदस्यहरुर्लाइ पठाएको पत्रमा पार्टी अध्यक्षले एकीकरण घोषणापत्रको मर्मविपरित सचिवालयको बैठक राखेको र आफूले प्रयास गर्दागर्दै पनि संयुक्त केन्द्रीय समितिको बैठक बोलाउन नसकेको उल्लेख गरेका छन् ।

‘अब एकजना व्यक्तिको चरम महत्वाकांक्षाका निम्ति वैकल्पिक राजनीतिक बलि चढ्न सक्दैन,’ उनले भनेका छन्, ‘अब पार्टी अघि बढ्छ, बैकल्पिक राजनीति अघि बढ्छ ।’

यता पार्टी प्रवक्ता शरदराज पाठकले समानान्तर गतिविधि गर्नेलाई पार्टीले कारवाही गर्ने संकेत गरे ।

उनले भने, ‘उहाँहरुले यस्ता गतिविधि जारी राखे कठोरतापूर्वक निर्णय गर्नुपर्ने हुन्छ। तर, अझै हामी आशावादी छौं । उहाँहरुले पार्टी अनुशासनको दायराभित्र रहेर प्रक्रियासंगतरुपमा आफ्नो फरकमतलाई स्थापित गर्ने प्रयास गर्नुहुनेछ ।’

पाण्डेले भने पार्टीको विधानले दिएको कार्यकारी अधिकार प्रयोग गरी आफूले आठौं केन्द्रीय कमिटि बैठक डाकेको  उल्लेख गरेका छन् ।
बैठकका एजेन्डा यी हुन् ।

बैठकमा प्रस्तावित एजेन्डाहरू:

१. सङ्गठन सुदृढीकरण तथा विवेकशील साझा निर्माण अभियानबारे

२. पार्टीमा बहसमा रहेका दस्ताबेजहरूबारे

३. न्याय तथा सुशासन आयोग गठनबारे

४. पार्टीमा अध्यक्ष र संयोजकको भूमिका समीक्षा गर्नेबारे

५. महाधिवेशन मिति घोषणाबारे

६. स्थानीय निर्वाचन परिचालन समिति गठनबारे

७. वृहत् लोकतान्त्रिक प्रोग्रेसिभ ध्रुवीकरणबारे

८. पार्टीको विधान पारित गर्नेबारे

९. बागमती प्रदेश सभामा पार्टीको भूमिकाबारे

१०. पार्टी प्रवक्ता नियुक्तिबारे

११ . पार्टीले सञ्चालन गर्ने अभियानहरूबारे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर