साढे तीन करोड बचतसहित पुनमले गरिन् एनआरएनए युकेको खाता हस्तान्तरण – Nepal Press

साढे तीन करोड बचतसहित पुनमले गरिन् एनआरएनए युकेको खाता हस्तान्तरण

लन्डन। गैरआवासीय नेपाली संघ बेलायतकी निवर्तमान अध्यक्ष पुनम गुरुङले तीन करोड रुपैयाँ नयाँ कार्यसमितिलाई हस्तान्तरण गरेकी छन् । उनको पुरानो कार्यसमिति २६ हजार पाउण्ड घाटामा थियो ।

तर, दुईवर्ष नपुग्दै त्यही संस्थाको बैंक खातामा सवा दुईलाख पाउन्ड अर्थात् तीन करोड रुपैयाँ बराबरको बचत गरेर उनले खाता हस्तान्तरण गरेकी थिइन् । २०१९-२१ वर्षमा राष्ट्रिय समन्वय परिषद्को पहिलो महिला अध्यक्षको जिम्मेवार उनले लिएकी थिइन् । आफ्नो कार्यकालमा पनि उनले कोरोना महामारीबीचमा पनि एनआरएनएको कार्यक्रमलाई अघि बढाइन् ।

कार्यकालको उत्तरार्धमा एनआरएनए आईसीसीको आह्वान मा ‘अक्सिजन पठाऔ-आफन्त बचाऔ’ अभियानअन्तर्गत २ सातामा २ करोड ६० लाख मूल्य बराबरको अक्सिजन लगायतका स्वास्थ्य सहायता वितरण अभियान उनले चलाइन् ।

उनकै अगुवाइ र आईसीसीसँगको सहकार्यमा पहिलो पटक बेलायतबाट डेढसय थान अक्सिजन कन्सनट्रेसन नेपाललाई बुझाइयो । उनकै पहलमा संकलित स्वास्थ्य सहायता कोरोनाको दोस्रो लहरको बेला नेपालका विभिन्न जिल्लामा वितरण गर्ने काम भयो । उनलाई बेलायतस्थित नेपाली डायस्पोरामा कतिपयले अझैपनि आइरन लेडीको रुपमा चर्चा गर्छन् ।

उनी भन्छिन्, ‘टीमवर्क, अग्रज अभियन्ताको निस्वार्थ सहयोग र सद्भावकै कारण, अनेकौं प्रतिकूलताका बीचपनि यति धेरै काम गर्न सकिएकोमा खुशी छु, सबैप्रति आभार व्यक्त गर्दछु ।’ दुई महीनासम्मको हिसाब किताब र लेखापरीक्षणपछि २ लाख एघार हजार ५ सय अर्थात झण्डै तीन करोड ६० लाख रुपैयाँ बचत सहितको हरहिसाब र खाता हस्तान्तरण गरेकोमा उनले खुशि व्यक्त गरिन् । छु ।

गुरुङले हालै बेलायतको बेजिङस्टोक क्षेत्रमा प्रदान गरिने एक कम्युनिटी अवार्ड प्राप्त गरेकी छन् । स्थानीय समुदाय र परोपकारी क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘कम्युनिटी अचिभर अवार्ड’ प्रदान गर्ने घोषणा गरिएको छ ।

बेजिङस्टोक अफ्रिकन क्यारेबियन क्याथोलिक एशोसिएसन ९बिएसीसीए०को आव्हानमा वर्षेनी मनाइने ‘ब्ल्याक हिस्ट्री मन्थ’ का अवसरमा यो अवार्ड दिइने गरेको छ । यस वर्ष गुरुङसहित अन्य समुदायका समेत जम्मा १० कम्युनिटी लिडरलाई अवार्डका लागि छनोट गरिएको छ ।

क्यान्सरपीडिको सहयोगार्थ च्यारिटी दौड र नेपालमा विपन्न परिवारका बालबालिकाको शिक्षादिक्षा, कोभिड महामारीका बेला नेपाललाई बेलायतबाट डेढसय थान अक्सिजन सहयोग लगायतका कार्यमा गुरुङले गरेको सफल नेतृत्वको कदरस्वरूप अवार्ड प्रदान गरिएको जनाइएको छ ।

एनआरएनएनए बेलायतकै इतिहासमा पहिलो महिला अध्यक्ष गुरुङ त्यहाँको नेपाली समुदायकी एक अग्रणी अभियन्ता हुन् । तमुधिं बेलायत र क्वोने घोण्डे घोताने समाजमा आमा समूहकी संस्थापक अध्यक्ष उनी । तमुधिं यूके, बेजिङस्टोक नेपाली समाजसहित विभिन्न संघसंस्थामा सल्लाहकारको भूमिकामा छन् । नेप्लिज वुमन एशोसिएसनमा समेत उपाध्यक्ष छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर