टी-२० विश्व कपमा इंग्ल्यान्डको लगातार दोस्रो जित – Nepal Press

टी-२० विश्व कपमा इंग्ल्यान्डको लगातार दोस्रो जित

काठमाडौं । इंग्ल्यान्डले आईसीसी टी- ट्वान्टी विश्व कपमा लगातार दोस्रो जित निकालेको छ ।

बुधबार भएको समूह- १ को खेलमा इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।

जितका लागि १२५ रनको सामान्य लक्ष्य पाएको इंग्ल्यान्डले १४ ओभर १ बलमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा ओपनर जेसन रोयले सर्वाधिक ६१ रन बनाए । डेविड मलान २८ रनमा अविजित रहे ।

बंगलादेशका शोरिफुल इस्लाम र नासुम अहमदले १-१ विकेट लिए ।

आबुधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनायो । बंगलादेशका मुश्फिकुर रहिमले सर्वाधिक २९ रन बनाए । कप्तान महमुदुल्लाह रियाद र नासुम अहमदले समान १९ रन जोडे ।

इंग्ल्यान्डका तीव्र गतिका बलर टाइमल मिल्सले सर्वाधिक ३ विकेट लिए । इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरेको थियो ।

इंग्ल्यान्ड दुई खेलबाट ४ अंक बनाउँदै शीर्षस्थानमा रहेको छ । समान २ अंक भए पनि नेटरनरेटको आधारमा श्रीलंका दोस्रो, अस्ट्रेलिया तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छन् । यस्तै, बंगलादेश पाँचौँ र वेस्टइन्डिज पुछारमा छन् ।

यता, सुपर- १२ को समूह- २ मा पाकिस्तान दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *