कांग्रेस महाधिवेशन सर्यो, मंसिर २७ देखि पुस १ गतेसम्म हुने – Nepal Press

कांग्रेस महाधिवेशन सर्यो, मंसिर २७ देखि पुस १ गतेसम्म हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ गतेदेखि पुस १ गतेसम्म हुने भएको छ । यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्मको मितिमा महाधिवेशन नहुने निश्चित भएपछि निर्वाचन समितिले पुनः नयाँ कार्यतालिका बनाउँदै महाधिवेशनको मिति १८ दिन पर सारेको हो ।

केन्द्रीय निर्वाचन समितिको आजको बैठकले वडा अधिवेशन हुन बाँकी सबै जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ । त्यस्तै कात्तिक ३० मा पालिका अधिवेशन, मंसिर ३ मा प्रदेशसभा क्षेत्र अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशन गर्नेगरी कार्यतालिका बनाइएको छ । निर्वाचन समितिले प्रस्ताव गरेको नयाँ कार्यतालिमा प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने उल्लेख छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीका अनुसार मंगलबार कांग्रेस पदाधिकारी बैठकले महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गर्न निर्वाचन समितिलाई जिम्मा दिएको थियो । सोही अनुसार समितिले नयाँ कार्यतालिका प्रस्ताव गरेको हो । निर्वाचन समितिले नयाँ तालिका प्रस्ताव गरेपनि कांग्रेस महाधिवेशन सार्न केन्द्रीय समितिको बैठक बस्नुपर्ने हुन्छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनको नयाँ मिति अनुमोदन गर्न केही दिनमै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका छन् ।

कांग्रेसको प्रदेश २ का ८ र अन्य ५ गरी १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । रौतहट र रसुवाको क्रियाशील सदस्यता विवाद पनि समाधान हुन बाँकी नै छ ।

नेपाली काँग्रेस १४ औं महाधिवेशनको नयाँ कार्यतालिका :

  • कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन (वडा/पालिका अधिवेशन हुन नसकेका १३ जिल्लामा)
  • मंसिर ३ गते : प्रदेश सभा अधिवेशन
  • मंसिर ६ गते : संघीय निर्वाचन क्षेत्र अधिवेशन
  • मंसिर १० गते : जिल्ला अधिवेशन
  • मंसिर १६ र १७ : सात वटै प्रदेशको अधिवेशन
  • मंसिर २७ देखि पौष १ गते: केन्द्रीय महाधिवेशन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर