दुई उप–महालेखापरीक्षक बढुवाका लागि तीनजनाको नाम सिफारिस – Nepal Press

दुई उप–महालेखापरीक्षक बढुवाका लागि तीनजनाको नाम सिफारिस

काफ्ले र बिष्टको बढुवा हुने सम्भावना बढी

काठमाडौं । सरकारले रिक्त रहेको राजपत्रांकित बिशिष्ट श्रेणीका दुई उप–महालेखापरीक्षक पदमा बढुवाका लागि तीन नायब महालेखापरीक्षकको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले कार्यसम्पादन तथा मुल्यांकनका आधारमा बढुवाका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

मंगलबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले क्रमश पहिलो नम्बरमा महेश्वर काफ्ले, दोस्रो नम्बरमा विन्दु विष्ट र तेस्रो नम्बरमा वामदेव शर्माको नाम सिफारिस गरेको छ । यसअघि एक जनालाई कार्यसम्पादन तथा मुल्यांकनका आधारमा बिशिष्ट श्रेणीमा बढुवा गर्दा तीन जनाको नाम सिफारिस हुने गरिएको थियो ।

तर, यसपटक भने अरु नायब महालेखापरीक्षकको बढुवा सिफारिसका लागि योग्यता पुगिनसकेकाले दुई जना बढुवा गर्दा पनि तीन जना नायब महालेखापरीक्षकको नाम मात्रै सिफारिस भएको हो । बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन जना नायव महालेखापरीक्षकमध्ये अब बस्ने मन्त्रिपरिषद् बैठकले दुई जनाको बढुवा गर्नेछ ।

बरिष्ठताका आधारमा एक नम्बरमा सिफारिस भएका नायब महालेखापरीक्षक काफ्ले र दुई नम्बरमा सिफारिस भएका बिष्ट उपमहालेखापरीक्षकमा बढुवा हुने सम्भावना बढी छ । उप–महालेखापरीक्षक बाबुराम गौतम र ईश्वर नेपालले कात्तिक ५ गते नै अनिवार्य अवकाश पाएपछि एक सातादेखि दुई उप–महालेखापरीक्षकको पद रिक्त रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *