अजरबैजानको उमेर समूहबाट खेलेका नुर्लान र सदिकले मच्छिन्द्रबाट ए डिभिजन लिग खेल्ने – Nepal Press

अजरबैजानको उमेर समूहबाट खेलेका नुर्लान र सदिकले मच्छिन्द्रबाट ए डिभिजन लिग खेल्ने

काठमाडौं । आसन्न शहीद स्मारक ए डिभिजन लिगका लागि साविक विजेता मच्छिन्द्र क्लबले दुई विदेशी खेलाडी भित्र्याएको छ । गत वैशाखमा भएको नेपालको पहिलो फ्रेन्चाइज फुटबल– नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीबाट खेलेका नुर्लान जाहिद र सदिक गुलियेभलाई मच्छिन्द्रले क्लबमा भित्र्याएको हो । दुवै अजरबैजानका खेलाडी हुन् ।

दुवै खेलाडी बुधबार नेपाल आइपुगेका छन् भने उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथमा क्लबका पदाधिकारीले स्वागत गरे । नेपाली फुटबल जगतमा भएको नयाँ सुरुआत एनएसएल खेलिसकेका नुर्लान नेपाली फुटबलमा नयाँ होइनन् । यद्यपि, ए डिभिजन लिगमा भने यो उनको डेब्यू सिजन हो ।

नुर्लानसँगै मच्छिन्द्रले भित्र्याएका अर्का सेन्टर ब्याक सदिक कुलियेभले भने पहिलो पटक नेपालमा खेल्नेछन् । सदिकले अजरबैजानको युवा टोलीबाट खेलिसकेका छन् । क्वाबाला एफसी, जाइरा एफसी तथा गाबाला एफसीबाट व्यावसायिक फुटबल खेलिसकेका सदिकले अजरबैजानको यु–२३ टोलीबाट इस्लामिक ओलिम्पया च्याम्पियनसिपसमेत जितेका छन् ।

अर्कातिर एनएसएलमा ललितपुरबाट ८ खेलमा २ गोल गरेका थिए । सुरुआती दुई खेलमा मौसमका कारण आफ्नो सतप्रतिशत दिन नसकेका नुर्लानले पहिलो खेलमा काठमाडौं रेजर्स एफसी र दोस्रो खेलमा धनगढी एफसीसँग गोल गर्न सकेका थिएनन् । तेस्रो खे्लमा बुटवल लुम्बिनीसँग एक गोल गरेका नुर्लानले पोखरा थन्डर्सविरुद्धको चौथा खेलमा ९० मिनेट खेल्दा पनि गोल गर्न सकेकन् ।

पाँचौं खेलमा विराटनगरसिटी एफसीसँग थप एक गोल गरेका नुर्लान बाँकी चार खेलमा भने गोलविहीन रहेका थिए ।

आगामी संस्करणको ए डिभिजन लिग कात्तिक २९ गतेदेखि काठमाडौंमा सुरु हुनेछ । लिगको डिफेन्डिङ च्याम्पियनसमेत रहेको मच्छिन्द्रले विमल घर्तीमगरसँगको सम्झौता नवीकरण गरिसकेको छ । राष्ट्रिय टोलीको बाहुल्य रहेको मच्छिन्द्रमा विशाल राई, विशाल श्रेष्ठ, मनिष डाँगी, रेजिन सुब्बा, रजिन धिमाल लगायतका खेलाडी अनुबन्ध भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *