अफगान ‘शरणार्थी’ बारे आपत्ति जनाउँदै युएनएचसीआरलाई सरकारको पत्र – Nepal Press

अफगान ‘शरणार्थी’ बारे आपत्ति जनाउँदै युएनएचसीआरलाई सरकारको पत्र

सरकारसँग छलफल गरेरै मात्र अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । सरकारले विदेशी नागरिकको अस्थायी बसोबासबारे आफूसँग समन्वय नगरेको भन्दै नेपालस्थित राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसीआर)सँग आपत्ति जनाएको छ ।

सरकारलाई जानकारी नदिइकन ११ जना अफगान नागरिकलाई अस्थायी बसोबासको प्रबन्ध मिलाएको प्रति असन्तुष्ट हुँदै गृह मन्त्रालयले मंगलबार काठमाडौंस्थित युएनएचसीआर कार्यालयलाई पत्र लेखेको छ ।

गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलले सरकारलाई थाहा नै नदिइ गृहयुद्ध र आन्तरिक द्वन्द्वमा फसेका मुलुकबाट अन्तर्राष्ट्रिय सीमा हुँदै नेपाल प्रवेश गरेका विदेशी नागरिकलाई बस्ने प्रबन्ध गरेकाप्रति कुरा उठाइएको बताए ।

गृहले यस्तो कार्यमा पूर्वसूचना दिन र नत्र त्यस्ता कागजात र निर्णयमा सरकारको सहमती नहुने जानकारी गराइएको समेत प्रवक्ता पोखरेलले जानकारी दिए ।

गृहले मंगलबार युएनएचसीआरकी नेपाल कार्यालय प्रमुख क्यारेलिन स्पानुथ बर्मासँग पछिल्लो समस्याबारे भर्चुअल छलफल गरेको थियो । बर्माले आगामी दिनमा नेपाल सरकारसँग छलफल गरेर मात्रै अघि बढ्ने बताएकी छिन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार काठमाडौंको सिनामंगलस्थित एक घरमा छापा मार्दै ११ जना अफगान नागरिकलाई पक्राउ गरेको थियो । नियन्त्रणमा लिएर उनीहरुलाई सोधपुछ गर्दा युएनएचसीआरले कोठामा भाडामा लिएर उनीहरुलाई त्यहाँ राखेको कुरा खुलेको थियो । उनीहरुको साथबाट भारतको आधार कार्ड समेत भेटिएको थियो । रुपन्देहीको बेलहिया नाका हुँदै उनीहरु सहजै काठमाडौं आइपुगेको खुलेको थियो ।

पक्राउ परेका ती अफगान नागरिकलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ । अध्यागमनले उनीहरुलाई जहाँबाट आएको त्यहीँ पठाउने कि प्रचलित कानूनअुसार उनीहरुलाई कारागारमा पठाउने भन्ने बारे अध्ययन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर