बाँकेका कोहलपुर र वैजनाथबाहेक सबै स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न – Nepal Press

बाँकेका कोहलपुर र वैजनाथबाहेक सबै स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

रूपन्देही । मंगलबार भएको नेकपा एमालेको गाउँ नगर अधिवेशनमा बाँकेमा कोहलपुर र बैजनाथबाहेक सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले अधिकतम छलफलबाट नेतृत्वमा सर्वसम्मत गरिएको जानकारी दिए ।

कोहलपुरमा पदाधिकारी बाहेकमा सर्वसम्मत भइसकेको छ । पदाधिकारीका अझै छलफल आवश्यक देखिएकाले बुधवार टुंगो लगाइने गरी अधिवेशन स्थगित गरिएको एमाले नेता देवराज भारले बताए । उनका अनुसार अधिकांश ठाउँमा युवाहरुले जिम्मेवारी सम्हालिरहेका छन् ।

कोहलपुरमा खिल प्रसाद भुसाल, नम प्रसाद शर्मा र कुल बहादुर भट्टराईले नेतृत्व दावी गरेका छन् । बैजनाथमा प्रेम सुवेदी र इन्द्र थापाले दावी गरेका छन् ।

नेपालगन्ज उपमहानगरमा दत्त प्रसाद आचार्यको नेतृत्वमा ७५ सदस्यीय पालिका कमिटी बनाइएको छ । उपाध्यक्षमा हाजी अब्दूल हकिम, सचिवमा मोहित शाह, उपसचिव दिग्वीजय ढुंगाना र उषा थापा भण्डारी लगायत छन् ।

खजुरामा गेहेन्द्र दाहाल अध्यक्षमा चुनिएका छन् । सर्वसम्मत दाहालको नेतृत्वमा ७५ सदस्यीय नेकपा एमाले खजुरा गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित भएको जिल्ला उपाध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार, उपाध्यक्ष झगबहादुर पौडेल, सचिव देउमाया थापा तथा उपसचिवमा लल्लन यादव र साविर जोलाहा चुनिएका छन् ।

डुडुवामा शकील खानको अध्यक्षतमा ७३ सदस्यीय डुडुवा गाउँपालिका कमिटि चयन भएको छ । उपाध्यक्षमा विष्णु भण्डारी, सचिव विनयराज त्रिपाठी तथा उपसचिव लल्लन प्र पाण्डे र ध्रुव कुमार चौधरी बर्मा छन् ।

नरैनापुरमा नेकपा एमालेको प्रथम नरैनापुर गाउँपालिका अधिबेशनबाट पन्चराम यादवको अध्यक्षतामा ५९ सदस्यीय कमिटी चयन भएको छ । उपाध्यक्षमा प्रमोद मिश्रा, सचिव सुनैना मिश्रा तथा उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादव चुनिएका छन् ।

राप्ती सोनारीमा मनोज केसीको नेतृत्वमा मदन ओली उपाध्यक्ष र सुधा चौधरी सचिव रहेको पालिका कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

जानकीमा बिसराम बर्माको नेतृत्वमा ५५ सदस्यीय पालिका कमिटी बनेको छ । पार्टी इञ्चार्ज डिल्ली बिसीका अनुसार रामरुप मौर्य उपाध्यक्ष, राजीतराम यादव सचिव तथा अशोक राना र यज्ञलक्ष्मी शाह उपसचिव चुनिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर