दाल र तेलको मूल्यमा कसले गर्दैछ झेल ? – Nepal Press

दाल र तेलको मूल्यमा कसले गर्दैछ झेल ?

काठमाडौं । हरेक भान्सामा दैनिक खपत हुने दैनिक उपभोग्य वस्तुमा पर्छ, खानेतेल । पछिल्लो केही समययता तेलको मूल्य आकासिँदा उपभोक्ताको भान्सा महंगिएको छ ।

पेट्रोलियम पदार्थको एक रूपैयाँ मूल्यवृद्धि हुँदा सडकमा आन्दोलन हुन्छ । तर, हरेक घरमा बिहान-बेलुकी आवश्यक पर्ने तेल र दालको अन्धाधुन्द मूल्य बढाइँदा न सरकारी निकायले चासो दिएका छन्, कसैले सडकमा आवाज नै उठाएको छ ।

कोरोना आउनुअगाडि एक कार्टुन खानेतेल १ हजार २ सय रूपैयाँमा आउँथ्यो । अहिले एक हजार ८ सय रूपैयाँसम्म पुगेको छ । यस्तै, केही दालमा प्रतिकिलो ४० रूपैयाँसम्म मूल्यवृद्धि भएको छ ।

चाडपर्वका बेला नेपालमा खाद्यान्नका बजार मूल्य अनियन्त्रित बन्ने गर्छ । उपभोक्ता ठगीमा नपरुन् भनेर सरकारले बजार अनुगमन पनि गरिटोपल्छ । तर, त्यो केवल औपचारिकताभन्दा बढी हुँदैन । सरकारले अनुगमन गरेको दावी गरे पनि उपभोक्ता महंगो मूल्य तिर्न वाध्य भइरहेका छन् ।

बजारमा उपभोग्य वस्तुको गुणस्तर र मूल्य कस्तो छ भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्ने गरेका छन् । तर, तीनवटा नियामक निकायले बजार अनुगमन गर्दा पनि उपभोक्ताले खासै राहत पाएका छैनन् ।

लकडाउनका बेला नेपाल वनस्पति घ्यू-तेल उत्पादक संघले तोकेको मूल्यभन्दा बजारमा खानेतेलको मूल्य धेरै भएको थियो । बैशाखमा भएको लकडाउनको समयमा सनफ्लावर तेलको १ लिटरको पाकेटमा २८० रूपैयाँ मूल्य तोकिएको थियो । तर नेपाल वनस्पति घ्यू-तेल उत्पादक संघले दिएको तथ्याङ्कमा सनफ्लावर तेलको मूल्य २७० रूपैयाँभन्दा धेरै छैन ।

भटमास र तोरीको तेल पनि संघको मूल्यभन्दा धेरैमा बिक्री भएको थियो । संघले एउटा मूल्य वाणिज्य विभागमा बुझाउने तर बजारमा चर्को मूल्य असुल्ने प्रवृत्ति छ ।

संघको तथ्यांक अनुसार पनि १ वर्षको समयमा नै भटमासको तेलमा ८५ रूपैयाँ मूल्य वृद्धि भएको छ । २०७७ साल असोजमा प्रटिलिटर १७५ रूपैयाँमा पाइने भटमासको तेल अहिले प्रतिलिटर २६० रूपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष तोरीको तेल प्रतिलिटर २ सय रूपैयाँ थियो । अहिले प्रतिलिटर २७५ रूपैयाँ पुगेको छ । त्यस्तै, सनफ्लावर तेल प्रतिलिटर १८० थियो भने अहिले प्रतिलिटर २७० रूपैयाँ प्रतिलिटर पुगेको छ ।

दालमा पनि उस्तै

दालमा पनि तेलमा जसरी नै मूल्यवृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष दालको पनि मूल्य वृद्धि चर्को छ ।

खुद्रा व्यापार संघका अनुसार दालमा प्रतिकेजी ३५ रूपैयाँसम्म मूल्यवृद्धि भएको छ । अघिल्लो वर्ष रातो दाल प्रतिकेजी १२५ रूपैयाँ थियो । यस वर्ष मूल्यवृद्धि भएर १६० रूपैयाँ पुगेको छ । एक वर्षमै ३५ रूपैयाँ मूल्य बढेको हो ।

त्यस्तै, रहरको दालमा प्रतिकेजी १० रूपैयाँ मूल्यवृद्धि भएको छ । अघिल्लो वर्ष प्रतिकेजी १७० रहेकोमा यसवर्ष १८० रूपैयाँ केजी पुगेको छ ।

कालो दाल, मुग खोस्टा र मुग छाटेको दालको भने मूल्य घटेको व्यवसायीले बताएका छन् ।

वाणिज्य विभाग भने बजार अनुगमन भइरहेको जवाफ दिन्छ । चाडपर्वको बेला उपभोक्ता ठगिन नदिनका लागि टोली बनाएर बजार अनुगमन भइरहेको विभागको भनाइ छ । पहिले ३ वटा टोलीले अनुगमन गर्ने गरेकोमा अहिले ६ वटा टोली अनुगमनमा रहेको विभाग स्रोतले बतायो ।

विभागका एक कर्मचारीले भने, ‘बजारमा धेरै हल्ला मात्रै भएको हो । हाम्रो अर्थतन्त्र आयातमा आधारित भएकाले विश्व बजारमा दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धि हुँदा त्यसको असर नेपालमा पनि पर्छ । हामीले गलत लागत मूल्य बताउनेहरुलाई कारबाही गरिरहेका छौं । बजार अनुगमनका क्रममा पनि तोकिएको भन्दा धेरै वा आफुखुसी मूल्यमा दैनिक उपभोग्य बस्तु बिक्री गर्नेहरुलाई कारबाही गरिरहेका छौं ।’

कोरोनाको समय र त्योभन्दा पछि नेपालमा मात्र नभएर विश्व बजारमा नै मूल्य वृद्धि भएको उनको भनाइ छ ।

उत्पादन भएको बस्तु बजारमा पुग्दा वा उपभोक्ताको भान्सामा गुग्दा ६ ठाउँमा कारोबार हुनेगर्छ । बाणिज्य विभागको तथ्याङ्कले पनि उत्पादकबाट उपभोक्तासम्म वस्तु पुग्दा ५ देखि ६ ठाउँमा कारोबार हुने भएकाले पनि केही मूल्य वृद्धि भएको बताउँछ ।

चालु आर्थिक वर्षको साउनमा घ्यू र तेलको मूल्य २९.०७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा पनि उल्लेख छ । अघिल्लो वर्ष घ्यू र तेलको मूल्यवृद्धि ६.४८ प्रतिशत मात्रै थियो ।

के भन्छन् खुद्रा व्यापारी ?

खुद्रा व्यापार संघका सचिव अमुलकाजी तुलाधरले पछिलो समय खानेतेल र दालमा धेरै मूल्यवृद्धि भएको जानकारी दिए ।

उनले भने, ‘अघिल्लो वर्षको तुलनामा यस वर्ष तेलमा ८० देखि १ सय रूपैयाँसम्म मूल्यवृद्धि भएको छ । दालको पनि मूल्य बढेको छ ।’

तुलाधरका अनुसार लकडाउनको समयमा प्रतिकेजी ५० रूपैयाँसम्म दालको मूल्यवृद्धि भएको थियो । अहिले केही दालको मूल्य घटेको उनले बताए ।

‘तेलको मूल्य पनि बीचमा एकपटक २ रूपैयाँ प्रतिलिटर घटेको थियो । नत्र २ वर्षको समयमा मूल्य वृद्धि निरन्तर भइरहेको छ,’ उनले भने ।

उपभोक्ताकर्मी भन्छन्- लुट चलेको छ

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बजारमा लुटतन्त्र चलिरहेको बताए । बजार अनुगमनको नाममा सरकारको बजेट मात्रै सकाउने काम बाणिज्य विभागले गरेको उनले आरोप लगाए ।

बानियाँले भने, ‘कामभन्दा धेरै बोल्ने परिपाटीका कारण बजारमा मूल्य वृद्धि अत्याधिक भएको हो । विभागले उत्पादन लागतको अध्ययन गरेर बजारमा तोकिएको मूल्य ठिक छ कि छैन भन्ने प्रष्ट पर्नुपर्छ । तर, सरकार उपभोक्ता जति ठगिए पनि ठगिउन् भनेजसरी कुनै चासो नदेखाई बसेको छ ।’

उपभोक्ताले पनि सामान किन्दा बस्तुको मूल्य र प्रयोग मिति राम्रोसँग ख्याल गर्नुपर्ने बानियाँले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर