चितवनका बगैंचामा ढकमक्क फूलः पुष्प व्यवसायी उत्साही, ८० रूपैयाँमै सयपत्रीको माला – Nepal Press

चितवनका बगैंचामा ढकमक्क फूलः पुष्प व्यवसायी उत्साही, ८० रूपैयाँमै सयपत्रीको माला

चितवन । ढकमक्क फूलेका सयपत्री, मखमलीलगायत फूलले तिहारलाई स्वागत गरेजस्तो दृश्य चारैतिर देखिन थालेको छ । तिहारलाई फूलको पर्व भनेर पनि चिनिन्छ । बारीमा फक्रेका फूलहरुले तिहार नजिकिएको सन्देश बाँडिरहेका छन् । यससँगै तिहार आउन १२ दिन मात्रै बाँकी छ । पुष्प व्यवासय गर्नेहरु पनि उत्साहित छन् ।

भरतपुर महानगर वडा नम्बर ७ मा उज्वल नर्सरीको फूलबारी लोभैलाग्दो छ । फूलको हेरचाह गर्ने, फूल बेचेरै जीविका चलाउनेलाई माली दाई भनेर चिनिन्छ । यहाँ युवाहरु मालीदाइ बनेका छन् ।

सिभिल इञ्जिनियर सागर कार्की, विएस्सी एजीका विद्यार्थी अजय यादव र बोस्र्टन कलेजमा शिक्षण गर्ने एक्सन लौडारी मिलेर २९ कट्टठामा सयपत्री र मखमली हुर्काएका छन् ।

भरतपुर–७ कृष्णपुर चोकदेखि विकासचोकसम्म जाने भित्रिसडक छेउमै फूलबारी छ । कलेजमा पढ्दै गरेका विद्यार्थी मिलेर ४ वर्ष पहिले माली दाईको अवधारणा ल्याए ।

सुरूमा ७ विद्यार्थीसँगै फूलखेतीमा रमाए । जागिर र अध्ययनका लागि चितवन बाहिर साथीहरु पुगेपछि तीन जनाले मालीदा एग्रो इनोभेसन प्रालि नै स्थापना गरे । फूलखेतीमा रमाएका सागर भन्छन्, ‘मिहेनतको फल मीठो हुँदो रहेछ ।’

सुरूमा १ सय बेर्ना लगाएका उनीहरुले यसपालि ठूलो क्षेत्रफलमा सयपत्री फूलखेती गरेका हुन् । ‘१० हजार माला बेच्ने लक्ष्य छ’, उनी भन्छन्, ‘करिब ८ लाख आम्दानी हुनेछ ।’

उनका साथी अजय यादव विएस्सीएजी पढेका छन् । ‘पढ्दापढ्दै घर नजिकै सयपत्री खेती गरेँ’, अजय भन्छन्, ‘माग बढ्दो देखेरै क्षेत्रफल बढायौँ, यसबाट आम्दानी लिन सजिलो छ ।’

उनका अनुसार छोटो अवधिमा २० प्रतिशत लगानी गरेर ८० प्रतिशत आम्दानी लिन सकिन्छ । उनले मालीदाइबाट यो वर्ष डेढ लाखको बेर्ना बेचिएको बताए ।

‘फूलखेतीमा युवाहरुको आकर्षण बढ्दो छ’, उनले भने, ‘थोरै क्षेत्रफलमा भए पनि सयपत्री लगाउने क्रम बढ्दो छ ।’ करिब २ बिगाहमा मखमली फूलहरु छन् । प्रतिकट्टठा वार्षिक २ हजार भाडामा जग्गा लिएका हुन् ।

जग्गा पाए अर्को वर्ष जग्गा थप गर्ने सोच लिएका छन् । सयपत्रीको बेर्ना हुर्काएमा २ महिनामै उत्पादन लिन सकिन्छ भने कटिङ गरिएका बेर्नाबाट एक महिनाबाटै उत्पादन लिन सकिन्छ । एउटा बोटबाट डेढ महिनासम्म फूल टिप्न सकिन्छ । एउटै बोटबाट १ सय बढी थुंगा टिप्न सकिन्छ । एउटा मालामा ४० देखि ४५ वटासम्म थुंगाको प्रयोग हुन्छ । माली दाईबाट प्रतिमाला ८० रुपैयाँ र प्रतिकेजी ४ सय रुपैयाँमा थुंगाको कारोबार भैरहेको छ ।

बेर्ना लगाउँदा एकैदिन १० जनाले, फूल टिप्दा १५ जनाले रोजगारी पाउने गर्छन् । तिहारलाई लक्षित गरेर उनीहरुले अनलाईन बुकिङ समेत लिएका छन् ।

“तिहारमा सधैँ सयपत्री, मखमली आयात गर्न नपरोस् भनेरै सानो प्रयास गरेका हौँ”, अजय भन्छन्, “करोडौँ मूल्य बाहिर पठाउनुभन्दा बाँझो जमिनमा फूलखेती गरौँ, आम्दानी पनि बढ्छ ।” अफ्रिकन ब्रिड कोलकतिया बीउबाट उनीहरुले सयपत्री फूल उत्पादन गर्छन् । “स्वदेशमै बीउ उत्पादन नहुँदा महंगो मूल्य तिर्नुपर्छ”, उनले भने, “१ हजार दाना बीउलाई ३ देखि ६ हजारसम्म तिर्नुपर्छ ।” उनीहरुले बीउ हुर्काएर तयार पारेका बेर्ना कटिङ गरेर बेच्दै आएका छन् ।

प्रति बेर्ना ३ रुपैयाँसम्म बेच्दै आएका छन् । “माग अनुसारको उत्पादन गर्नै सकिएन”, अजय भन्छन्, “उत्पादन भएको फूलको बजारीकरण गर्न गाह्रो छैन ।” ओइलिएका, झरेका, बिग्रेका फूलहरु खेर जान नदिन सुकाएर धुप बनाउनेबारे परीक्षण गर्न लागेका छन् ।

“चाँडै फुलेका फूल खेर जान नदिन धुप बनाउनेबारे परीक्षण गर्दैछौँ”, उनले भने, “यो प्रविधि सफल भए अन्य किसानलाई पनि हस्तान्तरण गर्नेछौँ ।” माला छिटै खरिद गर्नुपरे प्लाष्टिकभित्र प्याक गरेर फ्रिजमा राखे १५–२० दिन फूल नबिग्रने बताए ।

घरघरमा सयपत्री फूलखेती अभियान चलाएका उज्वल टोलका पूर्वअध्यक्ष इश्वरकुमार श्रेष्ठ उज्वल नर्सरीका सञ्चालक हुन् । ६ वर्ष पहिले सयपत्री फूलखेती समूह गठन गरेर ३ वर्षसम्म डेढ विघामा व्यवसायीक फूलखेतीको नेतृत्व गरेका थिए ।

२०७६ सालदेखि उनले आफ्नो टोलका हरेक घरका करेशाबारीमा सयपत्री रोप्ने अभियानै चलाए । उज्वल नर्सरी मार्फत लंकु र पदमपुरमा ३ विघामा सयपत्री फूलखेती छ ।

घर पछाडि करिब ५ कट्टठामा फूलहरु ढकमक्क फूलेका छन् । पुष्प व्यवसाय सम्हाल्दै आएका उनका छोरा सुलभ श्रेष्ठले वर्षभरीनै सयपत्री फूलहरुको कारोबार हुदै आएको बताउँछन् ।

“यसपाली तिहारमा मात्रै २५ हजार माला बेच्छौँ”, उनी भन्छन्, “दुई दर्जन समूह तथा व्यक्तिगत रुपमा उत्पादन भएका माला पनि यही मार्फत नै बिक्री हुन्छ ।”

५ सय बढी माला खरिद गरेमा प्रतिगोटा ६० रुपैयाँ थोक मूल्यमा बेचिने बताए । थोरै माला किन्ने ग्राहकले ८० रुपैयाँमा माला पाउने बताए । “सकेसम्म सस्तो मूल्यमा स्वदेशी माला बेचौँ र उपभोक्ताको मन जितौँ”, उनी भन्छन्, “तिहारका बेला मालाको माग र उत्पादन दुवै बढी हुन्छ, त्यसैले महंगो पार्न हुँदैन ।”

मालीदाइ र उज्वल नर्सरीबाट चितवन र आसपासका जिल्लामा माला कारोबार हुनेगर्छ । उज्वल नर्सरीले वर्षैभरी सजावटका फूल तथा विभिन्न मालाहरु बिक्री गर्दै आएको छ ।

फ्लोरिकल्चर एसोसियसन चितवनका अध्यक्ष अमरबहादुर घलेले चितवनमा तिहार लक्षित करिब १० लाख सयपत्रीका बेर्ना रोपिएको बताए ।

“यसपाली करिब ४० विघामा सयपत्री फूलखेती छ”, उनले भने, “यसपाली चितवनकै ३ लाख माला बजारमा पुग्नेछ ।” मखमली फूलको तथ्यांक यकिन नभएको उनले बताए । चितवनमा करिब ७ लाख सयपत्री मालाको कारोबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर