अलौकिक मार्दी हिमालसम्मको अविस्मरणीय पदयात्रा – Nepal Press
ट्राभल ब्लग

अलौकिक मार्दी हिमालसम्मको अविस्मरणीय पदयात्रा

करिब डेढ वर्षसम्म कोरोना कहरका कारण हाम्रो दैनिकी निरस र त्रासबीच बित्यो । घरभित्रै थन्किएर बस्नुपर्यो । बाहिरी दुनियाँको रमाइलो देख्न मुस्किल थियो ।

तर अहिले परिवेश परिवर्तन भएको छ । कोरोना संक्रमण कम भएसँगै चहलपहल बढेको छ । अरु क्षेत्र जस्तै आन्तरिक पर्यटनको क्षेत्रमा पनि आशाको किरण देखिएको छ ।

यसपालिको दसैंलाई सार्थक बनाउन र विदाको सदुपयोग गर्न हाम्रो परिवारले मार्दी हिमालको पदयात्रा गर्ने निर्णय गर्‍याे । लामो समयदेखि यस्तो यात्रामा जान नपाएकी म निकै खुसी भएँ ।

१० मिनेटको छलफलपछि नै मेरा श्रीमान र दुई छोरासँग म पनि पदयात्रामा जाने निष्कर्ष निस्किएको थियो ।

फुलपातिको राति १० बजे योजना बन्यो । राति नै हामीले यात्राका लागि आवश्यक सामग्री प्याकिङ गर्यौं । अष्टमीको दिन बिहान ९ बजे हामी निजी गाडीमार्फत घरबाट निस्कियौं । सडकमा खासै सवारी जाम थिएन । साँझ ५ बजे त हामी पोखरा पुगिसकेका थियौं ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरबाट भए पनि सुक्ष्म अवलोकन गर्दै हामीले लेकसाइडको रिसोर्टमा पहिलो रात बितायौँ । अर्को दिन बिहान साढे ८ बजे आफ्नो गाडी होटलमै पार्क गरेर ट्याक्सीमा धुम्पुसतिर डोहोरियौं ।

दायाँबाँया मनोरम दृश्य नियाल्दै करिब दुई घण्टामा हामी धम्पुस पुग्यौं । खुलेका अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्य मन र क्यामेरामा कैद गर्दै पदयात्रामा लम्कियौं ।

करिब साढे १२ बजेतिर हामी खाना खान पोथनाको एउटा होटलमा पुगेर सुस्तायौं । होटल सञ्चालिकाको आतिथ्यता र मीठो परिकारले हामी सबैको मनमा सकारात्मक ऊर्जा भर्यो ।

ढिलै भए पनि केही तंग्रिन थालेको होटल व्यवसाय देखेर मन रमाइरहेको थियो ।

रात झमक्क परेको थियो । हाम्रो त्यो दिनको बास फोरेस्ट क्याम्पमा अवस्थित एउटा होटलमा भयो । त्यहाँ पनि थरिथरीका परिकारहरु खान पाउँदा दसैं मनाउन नपाएको दुख बिर्सियौं ।

यात्राको दोस्रो दिनलाई स्वागत गर्दै थोरै चिया खाजापछि हामी सुनसान र घना जंगलको बाटो हुँदै अगाडि बढ्यौं । कयौं आन्तरिक पर्यटकहरु फर्कदैँ थिए र केही विदेशी पर्यटकहरु पनि आफ्ना भरिया र गाइडहरुसँगै ओरालो झर्दै थिए ।

कोककत्ताबाट आएका कयौं पदयात्रीसँग हाम्रो वार्तालाप भयो र केही त अन्नपूर्ण पदयात्रालाई टुङ्गो लगाएर पुनः यो पदयात्रामा अगाडि बढिरहेका थिए ।

पदमार्ग सफा र प्रष्ट थियो । रुखहरुमा रंगाइएको सेतो र निलो रंगले हामीलाई दिशानिर्देश गरिरह्यो । बादलडाँडा भन्ने ठाउँमा दिउँसोको खानापछि केही सुस्तायौं ।

करिब ३ बजे हामी हाइक्याम्पमा पुग्यौँ र त्यहाँबाट देखिने सुन्दर हिमालहरुको रमणीय दृश्य र सूर्यास्तको सुन्दरताले मन पुलकित भयो ।

पहिलेको तुलनामा यहाँ होटेलको संख्या बढेको रहेछ । र पछिल्ला दिनमा होटलमा ग्राहकको चाप पनि बढेको व्यवसायीहरुले बताए । सबै वस्तुहरु खच्चड र भरियामार्फत ढुवानी गर्नुपर्ने वाध्यता छ।

त्यस ठाँउमा रातको खानापछि हामी चाडैँ आफ्नो ओछ्यानतिर गयौं । किनकि अर्को दिन सबेरै भ्यू प्वाइन्ट पुगेर सूर्योदयको किरण हिमालमा परेको हेर्नुथियो । कति लोभलाग्दो होला त्यो दृश्य भन्ने कौतुहलता थियो ।

बिहान ४ बजे मोबाइल टर्चको उज्यालोमा हामी खुड्किला चढ्दै उकालो लाग्यौं । करिब पौने २ ‍घण्टामा हामी भ्यू प्वाइन्ट पुग्यौं । सूर्योदय र सूर्योदयको किरण हिमालमा परेको मनमोहक दृश्य शब्दमा वर्णन गर्न कठिन छ । उक्त दृश्यलाई आँखा र क्यामेरामा कैद गरेपछि पोखरा फर्कियौं । त्यहाँबाट अझै दुई घण्टा हिँडेमा बेस क्याम्प पुगिने रहेछ । तर हामीलाई पोखरा फर्कनु थियो ।

बिहानको खाजापछि हामी त्यहाँबाट हिँड्यौ । ‘लो क्याम्प’सम्म पहिले गएकै मार्ग हुँदै छोटो बाटो जाने लोभले सिदिङ मार्ग रोज्यौं । वर्षातको पानीले बाटो अत्यन्तै बिग्रेको रहेछ । पाँच घण्टाको हिँडाइपछि हामी सिदिङ पुग्यौं ।

सिदिङको ओरालो यात्रा अत्यन्तै कष्टकर रह्यो, जसबाट हामीले केही पाठ पनि सिक्यौं– हतारमा अप्ठेरो बाटो रोज्न नहुने रहेछ । पहिले गएकै गोरेटो हुँदै फर्किएको भए यो पदयात्रा सोचेभन्दा अझ रमणीय हुने थियो होला । समग्रमा अचानक तय भएको हाम्रो यात्रा निकै रोमाञ्चक रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *