ग्रिन कार्ड त्यागेर गाईगोठमा मस्त शशी, वार्षिक १६ करोड आम्दानी – Nepal Press
प्रेरणाको कथा

ग्रिन कार्ड त्यागेर गाईगोठमा मस्त शशी, वार्षिक १६ करोड आम्दानी

व्यवसाय धान्न बेलायतमा पढेका दुई छोरा स्वदेश फर्किए

रुपन्देही । नेपालमा धेरै कमाएकाहरु अमेरिकन र युरोपियन देश गएर उतै बस्न रुचाउँछन् । तर विश्वका धेरै देश चहारेर अनुभव संगालेका रुपन्देहीका एक किसान बेलायतको ग्रिन कार्ड छोडेर नेपालकै गाइपालनमा मस्त छन् ।

रुपन्देहीका शशी पौडेलले कृषि क्षेत्रमा लगानी गरेर नेपालमै मनग्ये कमाउन सकिने उदाहरण पेश गरेका छन् । पशुपालनबाटै दुई अर्बका मालिक बनेका पौडेलको संघर्षको कथा चाखलाग्दो छ ।

शिक्षण छाडेर कृषिकर्म

तिलोत्तमा नगरपालिका– १४ टिकुलीगढमा लुम्बिनी एग्रो प्रोडक्टस एण्ड रिसर्च प्रालि नामको फर्म सञ्चालन गरेका पौडेलले करिब एक दशक शिक्षण पेशा गरे । सरकारी सेवाबाट राजीनामा दिएर कृषिकर्म शुरु गरेका शशीले नेपालमै सफल पशुपालक कृषकको पहिचान बनाएका छन् ।

पौडेलको बाल्यकाल पर्वतमा वित्यो । उनले कक्षा ७ सम्म सरस्वती निम्न माध्यमिक विद्यालयमा पढे । त्यसपछि कक्षा ८ देखि १० सम्म महेन्द्र ज्योति माध्यमिक विद्यालयमा पढे । ०४२ सालमा एसएससी दिएर पढ्न शंकरनगर झरेका शशी कृषक बने ।

व्यापार गर्न मन पराउने उनी एसएलसी दिएपछि शंकरनगरमा बुवाले किनेको घरमा दाजुभाइसँग बस्न थाले । पढ्ने र पढाउने क्रम सुरु भयो । ०४३ सालबाटै उनले शिक्षक पेशा अंगाले ।

२०५० सालमा स्थायी शिक्षकमा नाम निकाले । त्यसपछि ९ वर्ष मात्र पढाएर शिक्षकबाट राजीनामा दिए । ‘व्यापार गर्ने मन थियो, तर हातमा चक र डस्डर भयो’, उनी भन्छन्–‘मनले मानेन, पढाएरभन्दा आफूलै नै केही व्यापार गर्छु भन्ने लाग्यो, अनि घरमा भनेर व्यापार गर्ने सोच अगाडि बढाएँ ।’

पढाउँदाको केही पैसा र घरबाट सहयोग मिलेपछि उनले नवलपरासीमा पेट्रोल पम्प खोले । त्यतिबेला उनी अमेरिका जाने प्रोसेसमा थिए । ‘अमेरिका जाने, उतै व्यापार गर्ने सपना थियो’, उनले भने, ‘बेलायतको भिषा लाग्यो ।’

त्यसपछि उनले पेट्रोलपम्प बिक्री गरे । सन् २००१ सेप्टेम्बर १९ गते ५ वर्षे मल्टिपल भिसा लागेर पौडेल उतै उडे । विदेशमै पेट्रोलपम्प खोल्ने र व्यापार गर्ने सपना देखेका उनलाई त्यहाँ बस्न पनि मनले मानेन । बिरानो मुलकमा भन्दा आफ्नो देशमा केही गर्ने सोचे । त्यसपछि ग्रिन कार्ड त्यागेर उनी केही समयमा नेपाल फर्किए ।

उनले नमूना व्यवसायिक पशुपालनको योजना बनाए । २०६५ सालमा पशुपालनका लागि संरचना निर्माणमा लागे । अनि ०६७ बैशाख १ गतेदेखि उनले व्यवसायिक गाईपालन सुरु गरे । विदेशबाट र केही नेपालकै गरेर सुरुमा ३ सय ५० वटा गाईबाट व्यवसाय सुरु गरे । सुरुमा २५ करोड लगानी गरेका पौडेल अहिले २ अर्बको मालिक बनेका छन् ।

हाल फर्ममा ५ सय गाई छन् । लगानी दुई अर्ब पुगेको छ । कुल २५ विगाह क्षेत्रफलमा रहेको पशु फार्म नेपालकै नमूना फार्म हो । पराल र चोक्कर किसानबाट खरिद गरे पनि फार्मलाई चाहिने आवश्यक हरियो घाँस २ सिजन आफूहरुले नै लगाउने गरेको उनी बताउँछन् ।

अहिले फर्मबाट दैनिक २ हजार लिटर दुध उत्पादन हुँदै आएको छ । ५ सय गाईहरु मात्र राख्ने योजनाअनुसार बाच्छीहरु फर्मले वर्षेनी ३ सयभन्दा बढी बिक्री गर्ने गर्दछ । हाल फर्मको कुल आम्दानी वार्षिक १६ करोडभन्दा बढी छ । फर्ममा ३० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

बेलायतमा उच्च शिक्षा पढेका दुई छोरा फर्किए

शशी पौडेलका तीन छोरा हुन् । उनीहरुले सानैदेखि बेलायतमा बसेर पढे । तर जेठा २७ वर्षका छोरा विदुर पौडेल र माहिला २५ वर्षका छोरा सिद्धार्थ पौडेल अहिले शशीलाई पछ्याउँदै नेपालमै फर्केर काम गर्न थालेका छन् ।

विदुरले बुवाले शुरु गरेको गाई फर्मको व्यवस्थापन हेरेका छन् भने सिद्धार्थले शिखर स्पाइकिङ नामक कम्पनी खोलेर खाद्यवस्तु उत्पादन गर्ने उद्योग शुरु गरेका छन् । करिब ५० करोड लगानी लागिसकेको यो उद्योगको उत्पादन शुरु भइसकेको छ । उनीहरु दुवैले बेलायत बसेर बिजनेश म्यानेजमेन्टमा उच्चशिक्षा सकाएर नेपाल फर्किएका हुन् ।

‘हामीले त्यहाँबाट सिक्ने कुरा सिकेका छौं, आफ्नो देशमा केही गरौं भनेर अध्ययन सकाएर आएका हौं, योजनावद्धरुपमा काम गरेपछि पक्कै सफल भइने छ’, विदुरले नेपाल प्रेससँग भने, ‘बेलायतको रोयल हल वे कजेलबाट उच्च शिक्षा पूरा गरें, मलाई उही बस्न सबै व्यवस्थापन थियो तर यहाँको मायाले तान्यो, यहाँ पनि लगनशील बनेर काम गरे उता जति प्रगति गर्न सकिन्छ ।’ उनका कान्छा छोरा १९ वर्षीय जुलुस पौडेल अहिले पनि बेलायतमै पढिरहेका छन् ।

विद्यार्थीलाई सिक्ने र पर्यटकलाई हेर्ने ठाउँ

यो क्षेत्रमा कृषिका विषयमा हेर्न, बुझ्न जान सक्ने ठाउँ धेरै कम छन् । तिलोत्तमा नगरपालिका वडा नं. १४ टिकुलीगढमा रहेको लुम्बिनी एग्रो प्रोडक्टस एण्ड रिसर्च प्रालि विद्यार्थीका लागि अध्ययनको थलो बन्दै गएको छ ।

विद्यार्थीहरु यो फर्म हेर्न आउने गर्दछन् । हरेक वर्ष देशका विभिन्न ठाउँबाट यहाँको विषयमा जान्न, बुझ्न धेरै टोली फर्ममा आउन थालेको छ । विद्यार्थीहरु मात्र नभइ पशुपालक कृषकको भ्रमण टोलीले पनि फर्मको अवलोकन गर्ने गरेका छन् ।

त्यस्तै नेपालका राजनीतिक दलका उच्चपदस्थ नेताहरुले समेत फर्मको अवलोकन गरेका छन् । रुपन्देही आउने अधिकांश दलका नेताहरु यो फर्ममा पुगेको उनको भनाइ छ ।

पुरस्कार र सम्मानको ओइरो

पौडेलले पशुपालन गरेको १० वर्षमा सानाठूला गरी दर्जनभन्दा बढी पुरस्कार र सम्मान पाएका छन् । विश्व बैंक, विश्व खाद्य संगठनदेखि, नार्क र विभिन्न अन्तर्राष्ट्रिय सम्मान उनले प्राप्त गरिसकेका छन् भने नेपालमा पनि संघीय तथा प्रदेश सरकार र अन्य ठूलठूला संघसंस्थाले दिने पुरस्कार उनले हात पारेका छन् ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट विकास रत्न विभूषणबाट विभूषित भएका उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा श्री विभूषणबाट विभूषित भइसकेका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेश ५ सरकारले दिने प्रदेश रत्न पदकबाट उनी गतवर्ष सम्मानित भएका हुन् । अन्य संघसंस्था तथा कार्यालयले उनलाई दिने सम्मान पनि उस्तै धेरै छन् ।

यही असोज ३ मा राष्ट्रिय प्रेस क्लवले वरिष्ठ उद्यमी तथा सामाजिक अभियान्ता भनेर सम्मान गरेको छ भने असोज १७ मा युगान्तकारी मिडिया प्रालिले अहिंसा र विश्व शान्तिका लागि मानव सम्मान पुरस्कारबाट सम्मान गरेको छ ।

बायो ग्यासको उत्पादन शुरु

यो फर्मबाट पौडेलले बायो ग्यास निकाल्न शुरु गरेका छन् । टिकुलगढस्थित आफ्नै फर्ममा दैनिक १५ सय धनमिटर बायो ग्यास निकाल्ने योजनाका साथ शुरु भएको उद्योगको परीक्षण शुरु भइसकेको छ ।

बायो ग्यासबाट आफूलाई चाहिने बिजुली निकाल्ने, ग्यासलाई बोटलिङ गर्ने र पाइपबाट नजिकका ग्राहकहरुलाई बायो ग्यास दिने योजनाका साथ शुरु गरेको उनको भनाइ छ ।

करिब १० करोडको लागतमा निर्माण हुन लागेको बायो ग्यास प्लान्ट नेपालमै नयाँ भएको उनले बताए । जर्मन, इटाली र भारतबाट मेसिन ल्याएर बायो ग्यास निकाल्न शुरु गरेको पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर