इतिहास, धर्म र क्रिकेटः पाकिस्तानले जित्दा बंगलादेशमा हर्षोल्लास, भारतीयको निशानामा मुस्लिम खेलाडी – Nepal Press

इतिहास, धर्म र क्रिकेटः पाकिस्तानले जित्दा बंगलादेशमा हर्षोल्लास, भारतीयको निशानामा मुस्लिम खेलाडी

काठमाडौं । टि-२० विश्वकप अन्तरगतको म्याचमा हिजो पाकिस्तानले भारतलाई लज्जास्पद पराजय चखायो । बलियो मानिएको भारतलाई १० विकेटले हराएसँगै पाकिस्तानमा खुशीयाली छाउनु स्वभाविक थियो । तर, छिमेकी देश बंगलादेश र भारतकै कतिपय स्थानमा समेत पाकिस्तानको जितमा खुशी मनाइएको खबरले भने धेरैलाई आश्चर्य लाग्न सक्छ ।

भारत र पाकिस्तानबीचको क्रिकेट प्रतिस्पर्धालाई यी दुई देशमा मात्र नभएर विश्वभर नै चासोका साथ हेरिन्छ । अझ दक्षिण एसियाली क्षेत्रमा त भारत-पाकिस्तान म्याचको रौनक नै बेग्लै हुन्छ । नेपाललगायत दक्षिण एसियाका देशहरुमा भारतविरोधि भावना प्रबल छ । त्यसैले यी देशका धेरै मानिसहरु क्रिकेटमा भारतलाई समर्थन गर्दैनन् । आपसी दुश्मनका रुपमा चिनिएका भारत र पाकिस्तानबीचको म्याच हुँदा पाकिस्तानप्रति धेरैको सहानुभूति र समर्थन पाइन्छ । यस्तो समर्थन सबैभन्दा बढी बंगलादेशमा प्रकट हुने गरेको छ ।

पाकिस्तानले भारतमाथि शानदार जित हासिल गरेपछि बंगलादेशस्थित पाकिस्तानी उच्चआयोगले ट्विटरमा एउटा भिडिओ पोष्ट गर्यो । उक्त भिडिओमा बंगलादेशीहरुले पाकिस्तानको जितमा खुसियाली मनाइरहेको देखिन्छ । उनीहरुले ‘पाकिस्तान जिन्दावाद’ को नारासमेत लगाएका छन् । भिडिओ पोष्ट गर्दा उच्चायोगले पाकिस्तानको जितमा खुशी मनाएकोमा बंगलादेशीहरुलाई धन्यवाद दिएको छ ।

बंगलादेशीले भारतको विरोध र पाकिस्तानको समर्थन गर्नुका पछाडि मुख्य दुई फ्याक्टरले काम गरेका छन्ः इतिहास र धर्म ।

भारत, पाकिस्तान र बंगलादेश विगतमा एउटै देश थियो । अंग्रेजहरुले भारतीय उपनिवेश छाडेसँगै भारत र पाकिस्तान सन् १९४७ मा छुट्टिए । भारतमा भएको स्वतन्त्रता संग्रामपछि अंग्रेजले नै दुई देश छुट्याइदिएर हिँडेका थिए । मुस्लिम बहुल क्षेत्र पाकिस्तानमा र हिन्दू बहुल क्षेत्र भारतमा रहे ।

तर, पाकिस्तान पनि सग्लो देशका रुपमा कायम रहन सकेन । विभिन्न राजनीतिक र अन्य विवादपछि पूर्वी पाकिस्तानले पश्चिम पाकिस्तानसँग स्वतन्त्रताको लडाईं लड्यो र सन् १९७४ मा बंगलादेश जन्मियो । पश्चिम पाकिस्तान हालको पाकिस्तान हो ।

भारतबाट पाकिस्तान अलग्गिएपछि यी देशको सम्वन्ध तिक्ततापूर्ण रहिआएको छ । उनीहरु एक-अर्कालाई एक नम्बरको दुश्मन मान्ने गर्छन् । भारत र पाकिस्तानको दुश्मनीको मुख्य स्रोत धर्म हो । भारत हिन्दूबहुल र पाकिस्तान मुस्लिम बहुल राष्ट्र भएकाले उनीहरु एक-अर्कालाई देखिसहँदैनन् ।

तर, भारत-पाकिस्तानको जस्तो तिक्ततापूर्ण सम्वन्ध बंगलादेश-पाकिस्तानबीच छैन । पाकिस्तानसँग लडाईं लडेर अलग देश बनेको भए पनि एउटै धर्मका कारण पाकिस्तानी र बंगालादेशीहरु भावनात्मकरुपमा नजिक छन् । बंगलादेश पनि मुस्लिम बहुल राष्ट्र हो । त्यही भएर पाकिस्तान र भारतको म्याच हुँदा बंगलादेशीको समर्थन पाकिस्तानपट्टि हुन्छ ।

सन् २०१६ को टि-२० विश्वकपको सेमिफाइनलमा भारत वेस्टइन्डिजसँग पराजित भएपछि बंगलादेशी टिमका विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहिमले फेसबुकमै खुशी व्यक्त गरेका थिए ।

उनले लेखेका थिए, ‘यो हो नि खुशी । अब म राम्ररी निदाउन सक्छु ।’

तीव्र विवाद भएपछि उनले आफू वेस्ट इन्डिजको ठूलो फ्यान भएको स्पष्टीकरण दिँदै आफ्नो स्टाटस हटाएका थिए ।

यता, हिन्दूबहुल भारतमा मुस्लिमको उपस्थिति उल्लेख्य (१५.५ प्रतिशत) छ । भारतीय मुस्लिमहरु पाकिस्तानप्रति सदासयता राख्छन् । भारतीय संस्थापनले देशको मुस्लिम समुदायलाई निरन्तर थिचोमिचो गर्नुको मुख्य कारण पनि यही नै हो ।

हिन्दु कट्टरपन्थि भारतीय जनता पार्टी सत्तामा आएपछि भारतीय मुस्लिममाथिको ज्यादति झनै बढेको छ । पछिल्लो दृष्टान्तका रुपमा हालै बलिउडका मुस्लिम नायक शाहरुख खानका छोरा आर्यन खानलाई मामुली केसमा गरिएको अतिरञ्जित कानूनी कारवाहीलाई लिन सकिन्छ । मुस्लिम सेलिब्रिटीहरुप्रति भारतमै बढ्दोरुपमा घृणा फैलाउने प्रयास भइरहेको छ । पाकिस्तानीहरु भने उनीहरुप्रति सहानुभूति राख्ने गर्छन् । हालै एक पाकिस्तानी टिभी प्रस्तोताले शाहरुखलाई भारत छोडेर पाकिस्तान आउन आग्रह गर्दै ट्विट गरेका थिए ।

भारतीय संस्थापनले आफ्नो देशका मुस्लिम समुदायको राष्ट्रियताप्रतिको प्रतिवद्धतामा प्रश्न गरिरहन्छ । राज्य सत्ताले मात्र होइन, जनस्तरबाट नै उनीहरुमाथि ‘देशविरोधि’ को आरोप लाग्ने गरेको छ । अनि, जब भारत र पाकिस्तानबीच क्रिकेट म्याच हुन्छ, त्यसबेला भारतका हिन्दूहरुले आफ्नै देशका मुस्लिम नागरिकहरुलाई शंकाको दृष्टिले हेर्ने गर्छन् । भारतले पछिल्लो समय पाकिस्तानसँगको क्रिकेट म्याच पन्छाउन खोज्नुको एउटा कारण यो पनि हो । इन्डियन प्रिमियर लिग (आइपीएल) मा समेत भारतले पाकिस्तानी खेलाडीहरुलाई रोक लगाएको छ ।

आफ्नै पितापुर्खाहरुले बनाएको देश पाकिस्तानप्रति भारतीय मुस्लिमहरुको केही न केही सहानुभूति रहेको हुनसक्छ नै । त्यो बेलाबेलामा प्रकटरुपमा पनि देखिने गरेको छ । पाकिस्तानले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु जित्दा भारतका मुस्लिमहरुले बधाइ साटासाट गर्ने गरेको पाइन्छ । कहिलेकाही भारतीय मुस्लिमहरुले पटका पड्काएर खुशीयाली मनाएका समाचारहरु पनि आउने गर्छन् । हिजो भारतलाई पाकिस्तानले हराएपछि भारतभित्रै खुशीयाली मनाइएको भनेर सामाजिक सञ्जालमा सरगर्मी भएको थियो । विभिन्न स्थानमा मुस्लिमहरुले आतिशवाजी गरेको भन्दै फेसबुक र ट्विटरमा बग्रेल्ति भिडियोहरु पोष्ट भएका छन् ।

पूर्वक्रिकेटर विरेन्द्र सेहवागले पाकिस्तानको जितमा भारतका केही भागमा पटका पड्काइएको भन्दै ट्विट गरेका थिए । उक्त ट्विटमा विभाजित प्रतिक्रियाहरु आए । मुस्लिमहरुले सहवागको विरोध गरेका छन् भने अन्य भारतीयले उनको समर्थन गरेका छन् ।

सहवागकै जोडीका रुपमा खेल्ने अर्का पूर्वक्रिकेटर (हाल भाजपाका सांसद) गौतम गम्भीरले पनि त्यस्तै ट्विट गरेका थिए ।

उनले लेखेका छन्, ‘पाकिस्तानको जितमा जो अतिशवाजी गरिरहेका छन् उनीहरु भारतीय हुनै सक्दैनन् ।’

हिजो पाकिस्तानसँगको हारपछि भारतीय समर्थकहरुले एक खेलाडीलाई आक्रमणको निशाना बनाए, मोहम्मद सामी । उनले हिजोको म्याचमा खराब प्रदर्शन त गरेका थिए नै । तर, उनीमाथि हमला हुनुको मुख्य कारण चाहिँ उनी मुस्लिम हुनु नै थियो । सामाजिक सञ्जालमा भारतीयहरुले उनीमाथि ‘धोकेवाज’, ‘गद्दार’ जस्ता आरोप लगाउँदै भारत छोडेर पाकिस्तान जान चेतावनीसमेत दिएका छन् । ट्विटरमा सामी ह्यासट्याग ट्रेन्डिङमा समेत आएका थियो ।

सामीमाथि आक्रमण तेज भएपछि एकाध पूर्वक्रिकेटरले उनको बचाउमा लेखेका छन् । सचिन तेन्दुलकरले एउटै म्याचको प्रदर्शनलाई लिएर सामीको प्रतिवद्धतामाथि प्रश्न उठाउनु गलत भएको बताएका छन् । इरफान पठानले आफू सहभागी टिम पनि विगतमा पाकिस्तानसँग हारेको तर आफूलाई ‘पाकिस्तान जान’ नभनिएको बताएका छन् ।

यता पाकिस्तानी गृहमन्त्रीले भारतविरुद्धको जितलाई विश्वभरका मुस्लिमहरुको जित भन्दै ट्विट गरेका थिए ।


प्रतिक्रिया

One thought on “इतिहास, धर्म र क्रिकेटः पाकिस्तानले जित्दा बंगलादेशमा हर्षोल्लास, भारतीयको निशानामा मुस्लिम खेलाडी

  1. भाजपा नेतृत्व को मोदी सरकारले कुन राज्य मा मुस्लिम माथि थिचोमिचो गरेको हो? नेपाल प्रेस् पनि फन्डिट को डलर खान सुरु गरेकै हो? भारतमा मोदी र उत्तर प्रदेशमा योगी जिको सरकारले केही हदसम्म मुस्लिम आतंक कम गर्नु कोसिस गरेको हो! बहुमत जनता माथि अल्पसंख्यक ले शासन गर्नु लोकतन्त्र होइन जून नेपालमा अहिले चलिरहेको तंत्र लोकतन्त्र होइन! जून दिन नेपाल को सनातन समुदाय निन्द्रा खुल्छ नेपाल बाट सबै सखाप हुनेछ र हुन्दु साशक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *