कालिकोट एमाले वडा अधिवेशन: महिला प्रतिनिधित्व न्यून, ८२ वडामा एक मात्रै महिला सचिव ! – Nepal Press

कालिकोट एमाले वडा अधिवेशन: महिला प्रतिनिधित्व न्यून, ८२ वडामा एक मात्रै महिला सचिव !

सुर्खेत । नेकपा एमाले कालिकोटका ८२ ओटा वडा अधिवेशनमा एक जना पनि महिला वडाअध्यक्ष निर्वाचित हुन सकेनन । सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको दाबी गरेको कालिकोट एमालेले भने ४१० वडा पदाधिकारीमा जम्मा ६३ जना महिलालाई मात्रै निर्वाचित गर्न सकेको छ ।

आज नेपालप्रेसलाई प्राप्त भएको ७८ वडाको वडाअधिवेशनको पदाधिकारी नामावाली हेर्दा कुनैपनि वडामा वडाअध्यक्षको रुपमा एमालेले महिलालाई निर्वाचित नगराएको पाइएको हो । केहि स्थानमा उपाध्यक्ष बनाएको एमालेले एक जना मात्रै सचिव बनाएको पाइएको हो ।

तिलागुफा नगरपालिकाको वडा नं. ११ मा मात्रै सचिव पदमा देवि शाही निर्वाचित भएर आएकी छिन् । अन्य उपसचिवमा भने महिलाको संख्या रहेपनि पदाधिकारीमा एमालेले ३३ प्रतिशत पुर्याउन भने सकेको छैन ।

‘हामीले सकेसम्म महिला नेतृत्वलाई ल्याउने प्रयत्न गरेका हौं तर अपेक्षा गरेअनुसार ल्याउन सकिएन ।’ एमाले जिल्ला अध्यक्ष नगेन्द्र शाही भन्छन्, ‘एमालेको विधान अनुसार पार्टी कमिटिमा ३३ प्रतिशत भन्दा बढि महिला सुनिश्चित गरेका छौं ।’ यद्यपी उनले पदाधिकारीमा महिलाको संख्या अपेक्षाकृत ल्याउन नसकिएको स्वीकार गरे ।

कालिकोटको पलाता गाउँपालिकामा नौ वडा रहेका छन् । नौ वडामा वडा नं. ८ मा चाँदनी वम उपाध्यक्ष र सपना शाही उपसचिवमा आएकी छिन् । वडा नं. ९ मा ऐजना शाही बम मात्रै उपसचिवमा आएकी छिन् । अन्य वडाबाट पदाधिकारीमा महिलाको प्रतिनिधित्व शुन्य रहेको छ ।

कालिकोट सदरमुकाम रहेको खाँडाचक्रमा ११ वटा वडा रहेका छन् । ११ मा वडा नं.३ मा गीता विक, ६ मा शोसिला बम शाही र ७ मा सुर्जा मल्ल मात्रै उपाध्यक्षमा निर्वाचित भएका छन् । पापालिकामा उपसचिवमा भने महिलालाई प्रतिनिधित्व गराइएको छ ।

शुभकालिकामा ८ वडा छन् । ती आठ वडामा एकमा दुधमाया विक, ६ मा लालचन्द्रा नेपाली, ७ मा राजकुमारी शाही र आठमा ममता भण्डारी मात्रै उपाध्यक्षमा आएका छन् । वडा नं. ६ बाहेक अन्य वडामा उपसचिवमा महिला सहभागिता भने देखिएको छ ।

तिलागुफा नगरपालिकामा तीन उपाध्यक्ष आउँदा एक सचिवको रुपमा आएकी छिन् । वडा नं. १ मा लालशोभा बुढा, ९ मा रामलक्ष्मी उपाध्याय, ११ मा अम्मकली शाही उपाध्यक्ष बन्दा ६ मा देवि शाही सचिव बनेकी छिन् । यहाँको वडा नं. दुई, तीन, चार र पाँचको विवरण अझै आएको छैन ।

पचालझरना गाउँपालिकामा नौ वडाबाट ४५ पदाधिकारी चयन हुँदा महिला सहभागिता जम्मा ६ मात्रै रहेको छ । सान्नी त्रिवेणीमा पनि नौ वडा छन् । यहाँ पनि सात जना महिला मात्रै उपाध्यक्ष र उपसचिवमा निर्वाचित भएर आएका छन् ।

नरहरीनाथ गाउँपालिकामा नौ वडा रहेकोमा यहाँ पनि सात जनाको मात्रै पदाधिकारीमा ‘इन्ट्री’ भएको छ । महावै गाउँपालिकामा सात ओटा वडा रहेकोमा आठ जना महिला पदाधिकारीमा आएका छन् ।

रास्कोट नगरपालिकामा नौ वडा रहेकोमा महिला पदाधिकारकिो संख्या दयनीय देखिएको छ । यहाँबाट उपसचिवमा वडा नं. दुई बाट उति सार्की, तीनबाट हजुरा जैसी, ४ बाट सर्मिला सन्ज्याल र सातबाट चना महतारा मात्रै छानिएर आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर