सैन्य कूविरुद्ध सुडानमा देशव्यापी प्रदर्शन सुरु, अन्तर्राष्ट्रिय समुदायबाट भत्र्सना (तस्बिरहरु) – Nepal Press

सैन्य कूविरुद्ध सुडानमा देशव्यापी प्रदर्शन सुरु, अन्तर्राष्ट्रिय समुदायबाट भत्र्सना (तस्बिरहरु)

सेनाद्वारा अन्तरिम सरकार विगठनको घोषणा

काठमाडौं । सैनिक कूविरुद्ध सडकमा उत्रन सुडानको प्रधानमन्त्री कार्यालयले नागरिकलाई आह्वान गरेको छ । अन्तरीम सरकारका प्रधानमन्त्रीसहितका नागरिक अगुवालाई सेनाले गरेको पक्राउको विरोधमा यस्तो आह्वान गरिएको हो ।

सेनाविरुद्ध अहिले खार्तुमका सडकमा प्रदर्शन सुरु भएको छ । प्रधानमन्त्री अब्दुल्ला ह्यामडकलाई पक्राउ गरी अज्ञात स्थानमा राखिएको त्यहाँको सूचना तथा प्रसारण मन्त्रालयले जनाएको छ ।

सैन्य कू भएपछि त्यहाँका सैनिक प्रमुख अब्देल फताह अल बरेनले संकटकाल घोषणा गरेका छन् । साथै, अन्तरिम सरकार र संसद पनि विगठन गरिएको छ ।

सन् २०१९ मा सेना र अन्तरिम सरकारबीच भएको शक्ति बाँडफाँटले मुलुकको शान्ति र सुरक्षालाई चुनौति थपेको सैन्य कमान्डर बरेनले बताएका छन् ।

सुडानको नागरिक आयोगका सदस्य मोहम्मद हसनले सैन्य कूलाई राजनीतिक मूर्खतको संज्ञा दिँदै एक थोपा रगत रहेसम्म लडिरहने बताएका छन् । खार्तुममा भएको सेनाविरोधी प्रदर्शनमा १२ जनाभन्दा बढी गम्भीर घाइते भएका छन् ।

जर्मनीले कूको भत्र्सना गर्दै अविलम्व यसको अन्त्य गर्न आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर