एक वडा एक पार्क अभियानमा काठमाडौं महानगर, एकै दिन दुई पार्कको शिलान्यास – Nepal Press

एक वडा एक पार्क अभियानमा काठमाडौं महानगर, एकै दिन दुई पार्कको शिलान्यास

काठमाडौं । ‘एक वडा एक पार्क निर्माण’ को नीति अनुरुप काठमाडौँ महानगरपालिकाले आज एकै दिन वडा–३२ मा दुई ओटा पार्कको शिलान्यास गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करीब ४ रोपनी ११ आनामा निर्माण हुने ‘बागमती दोभान’ र ‘अमरावती’ दुई पार्कको आज एकै पटक शिलान्यास गरेका हुन् ।

पार्क शिलान्यासपछि सम्वोधन गर्दै प्रमुख शाक्यले साना ठूला गरी काठमाडौं महानगरपालिका क्षेत्रभित्र ५० वढी पार्क निर्माण भैरहेको जानकारी दिए ।

‘सार्वजनिक जग्गाको संरक्षण गर्ने, हरियाली कायम गर्ने र स्थानीयहरुको अपनत्व रहने गरी उनीहरुलाई नै संरक्षणको जिम्मा दिने नीति अनुसार हामीले प्रत्येक वडामा कम्तीमा एक पार्क निर्माणको अभियान अघि बढाएका हौँ,’ उनले भने, ‘जहाँ–जहाँ सार्जजनिक जमिन छ, त्यहाँ–त्यहाँ त्यो जग्गाको संरक्षण गर्दै साना–ठूला पार्क बनाउँदै आएका छौँ ।’

उनले कतिपय जमिन गुठीका नाममा रहेका कारण पार्क निर्माण गर्ने र हरियाली कायम गर्ने कुरामा समस्या भएको बताए । साथै उनले ती जमिन गुठी संस्थानले लिजमा दिए संरक्षण गर्दै हरियाली कायम गर्ने बताए।

‘काठमाडौं महानगरपालिका क्षेत्र भित्र मात्रै ५० बढी पार्क निर्माणको काम अघि बढेको छ,’ शाक्यले भने, ‘कति पार्क निर्माण सम्पन्न भएका छन्, कति निर्माणको चरणमा छन् । कति शिलान्यास भएका छन् भने कति शिलान्यासको तयारीमा छन् ।’ मेयर शाक्यले सम्पदा निर्माण–पुनर्निर्माणको कामलाई पनि अघि बढाएको बताए ।

उपप्रमुख खड्गी श्रेष्ठले, सार्वजनिक जग्गा संरक्षण र हरियाली विकास गर्ने महानगरको नीति व्यवहारिक रुपमै कार्यान्वयनमा आएको महसुस भएको अनुभूति राखिन् ।

महानगरले बनाएका पार्कहरुको दिगो व्यवस्थापनका लागि स्थानीय सहभागिता हुने बताउँदै खड्गी श्रेष्ठले भनिन् ‘भित्री सहरमा पार्क बनाउन असम्भव भइसक्यो । त्यहाँ जग्गा नै छैन । पैसा भएर मात्र पनि नहुने रहेछ । त्यसैले बाहिरी सहरमा जहाँ सम्भव छ । त्यहाँ पार्क विकास गरौँ ।’
काठमाडौं भौतिक पूर्वाधार विभागका प्रमुख राम थापाले यो आर्थिक वर्षमा मात्रै करीब ३५ वटा पार्क निर्माणको तयारीमा रहेको बताए । ‘हामीले साना–ठूला गरेर ५० बढी पार्क निर्माणको काम अघि बढाएका छौँ,’ उनले बताए ।

करीब ११ आना जमिनमा निर्माण दोभाव पार्क करीब ६७ लाखको लागतमा निर्माण हुनेछ भने करीब चार रोपनी क्षेत्रफलमा निर्माण हुने अमरावती पार्क करीब ९० लाखको लागतमा निर्माण हुँदैछ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलगायतको पनि उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *