नीरोकै लाइनमा ‘प्रचण्ड यात्रा’ – Nepal Press

नीरोकै लाइनमा ‘प्रचण्ड यात्रा’

परिष्कानहीन, संस्कारहीन, कल्पनाहीन मान्छेको हातमा शक्ति आयो भने उसको आत्मा र विवेक शक्तिमादकतामा ध्वस्त हुँदै जान्छ ।

सम्राट् नीरो रोमन सम्राटहरुमा क्रुरतम् शासकहरूमध्ये एक थिए– करिब दुई हजार वर्ष पहिले ।शक्तिको उन्मादमा सामान्यतया मान्छे आफ्नो सिमानालाई अतिक्रमण गरेर आसुरी, दानवीय प्रवृत्तिमा सजिलैसँग प्रवेश गर्दछ ।
लाग्छ, सबै ‘कु’ संस्कृति र बुद्धिहीनहरूको अचेतन गन्तव्य आदर्श नीरो नै हो ।

शक्तिको उन्माद र काउकुतीमा नीरोलाई एक बिहान सनक चढ्यो ‘परापूर्व कालमा ट्रायको दश वर्षे युद्धमा ट्राय नगर जलेको थियो । त्यस्तो सम्पन्न र सांस्कृतिक रूपले अति समृद्ध राज्य कसरी जलिरहेको थियो होला ? म आज उत्तेजित छु, त्यो जलनको झलकको अनुकृत हेर्न । म महामन्त्री, मन्त्री, भारदार र सेनालाई रोम नगर जलाउन आदेश दिन्छु ।’ शक्तिशाली सम्राट्को आदेश अक्षरशः पालना गरियो । ऐश्वर्यशाली रोम जल्न थाल्यो प्रचण्ड रूपले ।

सम्राट् नीरोले आफ्नो सबैभन्दा बढी मन पर्ने बाँसुरी निकाल्यो र बजाउँदै नाच्न थाल्यो आगोको वरिपरि । हाम्रो पौराणिक ताण्डव नृत्यको एक बिभत्स पश्चिमेली अवतरण थियो त्यो नृत्य र सङ्गीत ।

इतिहासकारहरूका थरीथरीका बयानहरू छन्, एक थरी भन्छ– केही वर्षपछि नीरोले त्यो प्रचण्ड ज्वालामा आत्मदाह ग¥यो, दोस्रो थरी भन्छ– नीरोले आत्महत्या गर्यो, तेस्रो थरी भन्छ– नीरो पागलपनको अन्तिम सीमामा पुगिसकेको थियो र पागलपनमै उसको मृत्यु भयो ।

यहाँ नीरोले के गर्यो भन्ने बखान गर्न खोजिएको होइन । नीरो प्रवृत्तिको विश्लेषण गर्न खोजिएको हो । हिजो रोममा देखिएका नीरो र आज नेपालमा उदाएका प्रचण्ड उस्तै–उस्तै हुन् भन्दा फरक नपर्ला ।

गत आइतबारबाट बेमौसमी झरीले मुलुक आक्रान्त बनेको छ । भीषण बाढी र पहिरोबाट हजारौँ प्रभावित भएका छन् । सयौँ विस्थापित भएका छन् । कयौँ सहाराविहीन भएका छन् ।

बाढी पहिरो तथा प्राकृतिक विपत्तिबाट आइतबारसम्म सुदूरपश्चिम प्रदेशमा मात्रै मृत्यु हुनेको संख्या ३७ पुगेको छ । वर्षाले भित्र्याउन तयार अर्बौँको धान बाली नष्ट भएको छ । किसानहरूको आँसु थामी नसक्नु भएको छ ।

यता किसानमा पिरमा छन् । उता दलका नेता उत्साहमा छन्, उमङ्गमा छन् ।

शुक्रबार पारिवारिक भ्रमणका रहेका पुष्पकमल दाहाल प्रचण्ड धुलिखेल पुगेर जिप लाइनको मज्जा लिए । त्यहीबेला यता किसान भित्र्याउनै लागेको बालीमा बाढीले पुराएको क्षतिले विक्षिप्त थिए ।

वर्तमान सरकारको महत्वपूर्ण घटक हो माओवादी । माओवादीका अध्यक्ष हुन् प्रचण्ड । शुक्रबारको उनको गतिविधिले त्यो सङ्केत गरेन । देश रोइरहेको बेला, देशवासी पीडाले भक्कानिइरहेको बेला प्रचण्डको जिप लाइनको मज्जाले रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहन्छ भनेजस्तो भएको छ ।

गणतान्त्रिक मुलुकको पहिलो प्रधानमन्त्री प्रचण्ड हिजोका दिनसम्म सीमान्तकृत समुदायका नेताका रूपमा परिचित थिए । उनकै मुद्दामा सहमत भएर हजारौँ नेपालीले हाँसीहाँसी बलिदानी दिए । तर, आज उनले त जिते, उनको मुद्दामा प्राण त्याग गर्नेहरूले के पाए ?

बाढीका कारण विक्षिप्त भएको किसानको मनमा मल्हम लगाउनु पर्ने, राहत, क्षतिपूर्ति र उद्धारमा खटिन निर्देशन दिनुपर्ने र आफैं पनि दूरदराजसम्म पुगेर अवस्था बुझ्नु पर्ने प्रचण्ड मस्तीमा छन्, आफै रमाइरहेका छन् ।

कल्पनाहीन मान्छेको हातमा शक्ति आयो भने उसको आत्मा र विवेक शक्तिमादकतामा ध्वस्त हुँदै जान्छ र साथै उसले शक्ति प्रदर्शन गर्ने सानो वा ठूलो शासन क्षेत्र पनि ध्वस्त हुन्छ ।

सानो संस्था होस् कि सम्पूर्ण साम्राज्य होस् । मानव जाति नीरोको उदाहरणको बाबजुद त्यहीँ गल्ती पटक–पटक बिभत्स रूपमा दोहोराइरहेको छ ।

नीरोको आगो लगाइले रोमको त्यति हानि भएन जति नीरो अरू धेरै वर्ष बाँचेर शासन चलाएको भए हुन्थ्यो । रोम त केही वर्षभित्र पुन निर्मित हुनसक्छ तर बौहुलठ्ठी शासनको छाप मेटाउन धेरै समय लाग्छ ।

प्रचण्ड मात्रै होइन देशका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सुदूरपश्चिम पुगे । तर, पीडितसम्म पुग्न सकेनन् । राहतको प्याकेज दिन्छु भने तर, पीडित तङ्ग्रिन लाग्दा पनि आश्वासनबाहेक केही पाएका छैनन् । उनी पीडितलाई भेट्नभन्दा पनि महाधिवेशनको माहौल तयार गर्न आएको प्रस्ट हुन्थ्यो । त्यो खर्च र तामझामले एउटा बस्तीको उद्धार हुन्थ्यो तर, त्यहाँ कसैको चासो पुगेन ।

देउवा गएको अर्को दिन रामचन्द्र पौडेल कैलाली र कञ्चनपुर पुगे । उनले पनि पीडितका विषयमा भन्दा नेता कार्यकर्ताको विषयमा बढी छलफल केन्द्रित गरे । पीडित आँसु पुछिरहेका थिए, नेताहरू महँगा सवारीमा हुइँकिरहेका थिए । त्यही सडक हुँदौ जहाँ हिलोले लतपतिएका धानका बालाहरू सुकाइएको थियो, त्यो कुल्चिँदै ।

यी दृश्यले हाम्रै मुलुकमा नीरोहरु बढिरहेका मान्न सकिन्छ । रोम खतरामा परेको बुझ्न सकिन्छ ।

यहाँ पनि अदृश्य रूपमा रोम जलिरहेको छ, नीरो बाँसुरी बजाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *