कर्णालीमा सत्ता बाँडफाँडको किचलो झन् बढ्यो, मुख्यमन्त्री शाहीले मंसिरअघि नछाड्ने ! – Nepal Press

कर्णालीमा सत्ता बाँडफाँडको किचलो झन् बढ्यो, मुख्यमन्त्री शाहीले मंसिरअघि नछाड्ने !

माओवादी–कांग्रेस विवादको रमिता हेर्दै एमाले

सुर्खेत । कर्णालीमा सत्ता परिवर्तनको चर्चा चुलिएको छ । सम्झौताअनुसार बहालवाला मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता साझेदार कांग्रेसका जीवनबहादुर शाहीलाई सत्ता हस्तान्तरण गर्ने भनिएको तर शाहीले नछाड्ने संकेत दिएपछि सत्ता परिवर्तनको सवाल पेचिलो बनेको हो । सत्ताघटक दलको भागबण्डामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने रमिता हेरिरहेको छ ।

यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने बेला कांग्रेस र माओवादीले आलोपालो सरकार चलाउने सम्झौता भएको भनिएको छ । तर नेकपा माओवादी केन्द्रले वैशाख तीन गतेको सहमति पार्टीको संसदीय दल र पार्टीले जानकारी जानकारी नपाएको बताउँदै वर्तमान सरकार जोगाउन पार्टी केन्द्रलाई समेत आग्रह गरेको छ । तर, कांग्रेस नेता शाही भने छिटोभन्दा छिटो सहमति कायान्यन गरेर आफूलाई सत्ताको नेतृत्व दिनुपर्ने दावी गरिरहेका छन् ।

‘विगतमा हामीले कर्णाली हेरेर मात्रै सहमति गरेका थियौं तर अब राष्ट्रिय सहमतिका आधारमा सत्ताको भागबण्डा हुन्छ’, एक माओवादी नेताले भने, ‘मंसिरअघि सत्ता फेरबदलको कुनै सम्भावना छैन ।’

एमालेबाट फ्लोरक्रस गरेर मन्त्री भएका तीन जनाले पनि १३ गते आसपास राजीनामा दिने भनेका छन् । त्यसो भएमा यहाँ माओवादी केन्द्रको सत्ता जोगिन सहयोग हुनेछ । ‘हामी कात्तिक १३ गते आसपास राजीनामा दिएर मार्गप्रशस्त गरिदिन्छौं’, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले नेपाल प्रेससँग भनेका छन्, ‘त्यसपछि हामी पार्टी निर्माणको काममा जुट्नेछौं ।’

सरकारमा सहभागी नेकपा माओवादीका एक मन्त्रीले भने, ‘विगतमा कात्तिक पाँच गते राजीनामा दिने भनेर प्रचार गरियो, अहिले कात्तिक १५ गते मुख्यमन्त्रीले राजीनामा दिने भनेर प्रचार गरिएको छ । तर त्यसमा सत्यता छैन ।’

यसरी कांग्रेस र माओवादीको भागबण्डा किचलोको एमालेले रमिता हेरिहेको छ । ‘हामी अहिले पार्टी निर्माणमा लागिरहेका छौं, सत्ताको खेलामा लागेका छैनौं’, एमाले प्रमुख सचेतक गुलावजंग शाहले भने, ‘एमाले सत्ताका लागि र्याल चुहाएर बस्ने पार्टी होइन । एमाले त्याग पनि गर्छ । चालिस सिटमा बीस सिट जित्दा पनि हामीले त्याग गरेकै हो ।’

उनले परिआएको खण्डमा एमालेले जुनसुकै निर्णय लिनसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर