उत्कृष्ट प्रहरीको पुरस्कार पाएका कुँवर गृहमन्त्रीको ठाडो आदेशमा हटाइए, कांग्रेस नेता नरिझाएको आरोप


रूपन्देही । शनिबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट उत्कृष्ट प्रहरीको पुरस्कार पाएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा हटाइएका छन्।
करिब ४ महिनाअघि इलाका प्रहरी कार्यालय बुटवलको प्रमुखको जिम्मेवारीमा आएका कुँवरलाई हटाएर गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँमा कार्यरत प्रहरी नायव उपरीक्षक ठग बहादुर केसी बुटवल ल्याइएका छन् ।
प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीको ठाडो निर्देशनमा गृहमन्त्रीको गृहजिल्ला रुपन्देहीको बुटवलसंगै महानगरीय प्रहरी वृत दरवारमार्गमा कार्यरत प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेललाई हटाएर विश्वराज खड्काको काज सरुवा गरेको छ।
दरवारमार्गमा कार्यरत पौडेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा काज सरुवा गरिएको छ।
जिल्ला प्रहरी कार्यालयले उत्कृक्ष्ट प्रहरीको रुपमा पुरस्कृत गरेको भोलिपल्टै कुंवरलाई सरुवा गरेर गृहमन्त्री खाँणले आफूनिकट केसीलाई बुटवल ल्याएका हुन् ।
सरकार फेरिएलगत्तै ठगबहादुरले बुटवल आउन लबिङ गर्दै आएका थिए । डिएसपी कुँवरले गृहमन्त्री बालकृष्ण खाँणका भाइ रूपन्देहीका कांग्रेस नेता रामकृष्ण खाँणलाई रिझाउन नसकेका कारण सरूवा भएको प्रहरी अधिकृतको दावी छ ।
उनले यहाँको जिम्मेवारी सम्हालेपछि गृहमन्त्रीको क्षेत्रमा रहेको मोतिपुर घटनामा ४ जनाको मृत्यु र तिलोत्तमामा खाँणकै छिमेकी सीता भण्डारीको मृत्यु प्रकरणमा ४५ दिन शव नउठाइ आन्दोलन गर्न दिएर गृहमन्त्रीलाई धेरै आलोचित बनाएको र मोतिपुर जग्गा कब्जामा नाम जोडिएका कांग्रेस नेताहरू पक्राउ गर्न भूमिका खेलेको कांग्रेस कार्यकर्ताले गृहमन्त्रीसँगै गुनासो गरेका थिए ।