पत्रकार महासंघ हङकङका अध्यक्ष राईको भीरबाट लडेर मृत्यु – Nepal Press

पत्रकार महासंघ हङकङका अध्यक्ष राईको भीरबाट लडेर मृत्यु

खोटाङ । हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भीरबाट लडेर मृत्यु भएको छ । काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा आइतबार साँझ भीरबाट लडेर उनको मृत्यु भएको हो ।

गाडी रोकेर शौच जानेक्रममा लडेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं इन्सपेक्टर सागर शाहले बताए ।

ओखलढुंगाको मोलुङ गाउँपालिका-२ टेकनपुरबाट धरान नगरपालिका-१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष पनि हुन् । उनको सम्पादकत्वमा दुई दशकदेखि हङकङबाट एभरेष्ट साप्ताहिक प्रकाशन हुँदै आएको छ ।

राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । धरानबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव जिम्मा दिने तयारी गरिएको प्रहरी निरीक्षक शाहले बताए । पत्रकार राईसँग सशस्त्र प्रहरीका पूर्व एसपी प्रेम श्रेष्ठ पनि थिए । उनीहरू घुमफिरका क्रममा भोजपुरतर्फ हिँडेको बताइएको छ ।

जनजाति महासंघ हङकङका अध्यक्ष रहेका राई किरात राई यायोक्खा हङकङका संस्थापक अध्यक्ष पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर