चार वर्षपछि उल्टियो चुनावी परिणाम, कार्यकाल सकिन लाग्दा नयाँ वडाध्यक्ष – Nepal Press

चार वर्षपछि उल्टियो चुनावी परिणाम, कार्यकाल सकिन लाग्दा नयाँ वडाध्यक्ष

जनकपुरधाम । महोत्तरीको मनरा सिस्वा नगरपालिका १० को वडाध्यक्षको मतपरिणाममा चार वर्षपछि उलटफेर भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको चार वर्षपछि अदालतको आदेशबाट आज पुनः मतगणना हुँदा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय विजयी भएका छन् ।

चार वर्ष वडा चलाएका वडाध्यक्ष अरुणकुमार चौधरी पुनः मतगणनाबाट पराजित हुनुपरेको छ । चौधरीले नेपाली कांग्रेसबाट जितेका थिए । उच्च अदालत जनकपुरमा पुनः मतगणना हुँदा चौधरीको २६६ मत मात्र आयो । २६८ मत ल्याएर स्वतन्त्र उम्मेदवार राय निर्वाचित भएका छन् ।

०७४ सालको चुनावपछि भएको मतगणनामा दुबै उम्मेदवारको समान २६७ मत आएको भनिएको थियो । समान मत आएपछि गोलाप्रथा गरी कांग्रेस उम्मेदबार चौधरीलाई निर्वाचित गरियो । तर, धाँधली भएको भन्दै उम्मेदवार राय अदालत पुगे र आज न्याय पाएका छन् ।

पुनः मतगणनापछि निर्वाचित वडाध्यक्ष रायले उच्च अदालत जनकपुरले न्याय दिएकोमा धन्यवाद ज्ञापन गरे ।
उनले भने, ‘कांग्रेस नेता र तत्कालीन निर्वाचन अधिकारीले धाँधली गरेका थिए । आज ढिलै भएपनि सत्यको जित भयो । खुशी लागेको छ ।’

उनले अन्तिम आर्थिक वर्षमा वडाध्यक्षको कार्यभार सम्हाल्ने भएकाले इमान्दारितापूर्वक काम गर्ने बताए । धाँधली गरी वडाध्यक्ष भएका चौधरीले व्यापक भ्रष्टाचार गरेको र अब उनीविरुद्ध कानूनी लडाइँ लड्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर