रामेश्वर खनाललाई प्रचण्डको जवाफ- सामाजिक विभेदलाई रुचाउनेले माओवादीको विरोध गरे (भिडिओ) – Nepal Press

रामेश्वर खनाललाई प्रचण्डको जवाफ- सामाजिक विभेदलाई रुचाउनेले माओवादीको विरोध गरे (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुन:स्थापित गर्न चाहानेहरूले माओवादीको विरोध गरेको बताएका छन् ।

माओवादीबारे टिप्पणी गरेका पूर्वअर्थसचिव रामेश्वर खनालको भनाइप्रति उनले जवाफ फर्काएका हुन् । प्रचण्डले खनाललाई सामाजिक विभेद रुचाउने तत्वको संज्ञा दिएका छन् ।

आइतबार पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रम प्रचण्डले भने, ‘तपाईंहरूले देख्नुभयो नि हिजोका सरकारका कतिपय ठूल्ठूला महान विद्वान कर्मचारीतन्त्रका ठूला भन्नेहरू चाहीँ माओवादी नसकिँदासम्म यो देशले सुख पाउँदैन भनेको सुन्नु भएको छ नि हिजो अस्ति मात्रै,’ खनालका नाम नलिकन उनले भने, ‘को हुन् ती मान्छेहरू ? सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई फेरि पुन:स्थापित गर्न चाहने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरूलाई सिध्याएपछि हुन्छ के ?’

प्रचण्डले माओवादी आन्दोलनमा जातीय विभेद हटाउन अन्तरजातीय विवाह गर्ने क्रम सुरू भएको भए पनि अझै जातीय विभेद कायम रहेकोमा आफूलाई दुःख लागेको बताए । ‘अहिले बिस्तारै फेरि उपल्लो जात र तल्लो जात, अझ मलाई सबभन्दा बढी पीडा हुने त रोल्पा, रुकुमजस्ता ठाउँहरु जहाँ सबभन्दा बढी दलितहरूलाई उन्मुक्ति दिनका लागि धेरै नेता कार्यकर्ताहरू जन्मिए, धेरै त्यसखालका विद्रोहका कीर्तिमानहरू कायम भए,’ उनको भनाइ छ, ‘अन्तरजातीय विवाहहरू भए त्यहीँ अहिले दलित केटासँग प्रेम गरेको विषयलाई लिएर दलित युवा र अन्य युवाहरू मारिए त्यही ठाउँमा । मेरो लागि यो निकै ठूलो पीडाको विषय भएको छ । प्रतिक्रान्ति भनेको त यसरी पो हेर्दाहेर्दै हुँदोरहेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर