ओलीको प्रशंसामा दुर्गा प्रसाईको भाषण: तपाईंको अनुहारमा लि क्वान यु र महाथिरलाई देख्छु – Nepal Press

ओलीको प्रशंसामा दुर्गा प्रसाईको भाषण: तपाईंको अनुहारमा लि क्वान यु र महाथिरलाई देख्छु

‘दुर्गा प्रसाईं जिन्दावाद भन्दै एमाले कार्यकर्ताको नारावाजी

काठमाडौं । माओवादी निकट व्यवसायीका रुपमा चिनिएका दुर्गा प्रसाईं आज औपचारिकरुपमा एमाले प्रवेश गरे । झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ‘एमाले नेता’ का रूपमा पहिलो भाषण पनि गरे ।

कार्यक्रममा लिखित भाषण पढेका प्रसाई माओवादीमाथि खनिएका थिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको उच्च प्रशंसा गरे । प्रसाईंले भाषण गर्दा एमाले कार्यकर्ताले अनवरत ताली र हुटिङका साथ समर्थन गरेका थिए । भाषण उनले भाषण सकेपछि ‘दुर्गा प्रसाईं जिन्दावाद’ ‘बोली अलि पिरो हो, दुर्गा प्रसाई जिन्दावाद’ भन्दै नारावाजीसमेत भयो ।

प्रसाईं मञ्चको अग्रपंतिमा एमाले नेताहरू सुभाष नेम्वाङ र लेखराज भट्टसँगै बसेका थिए । प्रसाईंले पार्टी अध्यक्ष ओली आफ्नो हजुरबा भनेर चिनाएका थिए । ओलीलाई उनले सिंगापुरका नेता लि क्वान यु र मलेलियाका नेता मोहम्मद महाथिरसँग तुलना गरे ।

प्रसाईले भने, ‘ओली हजुरबालाई मैले नजिकबाट बुझ्ने मौका पाएँ । उहाँमा मैले सिंगापुरका नेता लि क्वान यु र मलेसियाका महाथिरको अनुहार देखिरहेको छु । मैले कुनै चाकडी गरेर भनिरहेको छैन ।’

प्रसाईंले देशमा आफूजस्तै लाखौं जनता केपी ओलीका फ्यान रहेको बताए ।

‘एमालेको सदस्यता लिएका मात्र होइन कुनै राजनीतिक पार्टीमा आवद्ध नभएका लाखौं जनता तपाईंका फ्यान छन्, तपाईंले नाकाबन्दीका बेला लिएका चट्टानी अडान कसैले बिर्सेको छैन,’ उनले भने ।

नेपाली जनता आगामी चुनावमा ओलीलाई जनादेश दिनका निम्ति व्यग्र प्रतिक्षामा बसिरहेको दावी प्रसाईंले गरे । देशलाई अगाडि बढाउनका लागि ओली नेतृत्वको विकल्प नै नरहेको उनको भनाइ थियो ।

प्रसाईंले माओवादी नेतृत्वप्रति तिव्र आक्रमण गरे । माओवादीलाई माओको नाम बेच्ने अधिकार नभएको र कम्युनिष्ट भन्न पनि लाज लाग्नुपर्ने प्रसाईंको टिप्पणी थियो ।

‘के यही दिन देख्नका लागि १७ हजार मान्छेको बलिदानी गरिएको हो ? यहि दिन देख्नका लागि जनताले गोली खाएका हुन् ? देशलाई आखिर केका लागि २ सय वर्ष पछाडि धेकेलियो ?’ प्रसाईले प्रश्न गरे, ‘अब पनि उनीहरूसँग जवाफ मागेनौ भने हामी उनीहरूका दास मात्र हुनेछौं ।’

प्रचण्ड र बाबुरामहरूले जनयुद्धको बलिदानीलाई देउवाको पैतालामा चढाएको आरोप पनि प्रसार्इंले लगाए ।

‘प्रचण्डले आफ्नै टाउकोको मोल तोक्ने शेरबहादुर देउवाको पैतालामुनि जनयुद्ध विसर्जन गरेका छन्,’ उनले भने । जण्डिस लाग्दा पनि उपचारका लागि परिवारसहित थाइल्यान्ड जाने माओवादी नेताहरूबाट देशको विकास र समृद्धि सम्भव नरहेको प्रसाईंको भनाइ थियो । आफू कुनै लोभ लालचमा परेर नभइ ओलीप्रतिको भरोसाका कारण एमालेमा प्रवेश गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर