मन्त्री प्रेम आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल एयरलाइन्सको उडान सुरू – Nepal Press

मन्त्री प्रेम आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल एयरलाइन्सको उडान सुरू

काठमाडौं । नेपाल वायुसेवा निगमले धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा उडान सुरू गरेको छ ।

आजदेखि धनगढी विमानस्थलबाट डोटीको दिपायल र बझाङमा उडान सुरू गरेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले निगमलाई उडान नियमति गर्न निर्देशन दिएका थिए ।

मन्त्री प्रेम आलेले बाढी पहिरोले सडक अवरुद्ध भएका पहाडी जिल्लाका जनताको माग र आवश्यकता अनुसार नेपाल एयरलाईन्सले तत्काल डोटी र बझाङमा हवाई सेवा शुरु गर्न लागेको बताए ।

प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा बाढी पहिरो प्रभावित पहाडी जिल्लामा भ्रमणमा भ्रमणमा उच्चस्तरीय टोलीलाई डोटी र बझाङका जनताले हवाई सेवा तत्काल सञ्चालन गर्न आग्रह गरेका थिए । सरकारका तर्फबाट मन्त्री आलेले तत्काल पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्ने प्रतिबद्धता गरेका थिए । सोही प्रतिबद्धता आफूले पुरा गरेको मन्त्री आलेले बताए ।

दुवै रुटमा नियमित उडान हुने उनले बताए । उनका अनुसार धनगढीदेखि डोटी २ हजार ६१५ र डोटीबाट धनगढी आउन २ हजार ५१५ भाडा दर कायम भएको छ ।

त्यस्तै धनगढीदेखि बझाङको ३ हजार ९९५ र बझाङदेखि धनगढी आउँदा ३ हजार ८९५ भाडा दर कायम गरिएको भट्टले बताए ।

बेमौसमी वर्षात्‌सँगैको बाढीपहिरोले पहाडी जिल्लाका राजमार्गहरू अवरुद्ध भएका बेला नेपाल एयरलाइन्सले सुरू गरेको उडानले सहज हुने भन्दै स्थानीय उत्साही भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर