‘देउवा अवैधानिक सभापति, कांग्रेस निर्वाचन आयोगको निगाहमा बाँचेको छ’ – Nepal Press
नेपाल टक

‘देउवा अवैधानिक सभापति, कांग्रेस निर्वाचन आयोगको निगाहमा बाँचेको छ’

चार वर्षका लागि सभापति निर्वाचित भएका शेरबहादुर देउवाको कार्यकाल ५ वर्ष ७ महिनामा हिँडिरहेको छ । परिस्थितिले अहिले उनी प्रधानमन्त्री पनि बनेका छन् । कांग्रेसको विधानमा कुनै पनि तहको नेतृत्वको कार्यकाल ४ वर्ष हुने उल्लेख छ । विशेष परिस्थितिमा ६ महिना थप गर्न सकिन्छ । त्यो सुविधा लिएर पनि म्याद गुज्रिसकेको छ । संविधानमा पनि राजनीतिक दलले प्रत्येक ५ वर्षमा (विशेष परिस्थितिमा ६ महिना थप्न सकिने) उल्लेख छ ।

तोकिएको समयमा काम नगर्दा आफ्नै विधान र देशको संविधानले कांग्रेसलाई नचिन्ने अवस्था आएको छ । महाधिवेशन गर्ने प्रमुख दायित्व रहेका देउवा राजकीय काममा व्यस्त भएको हुनाले त्यो उनको प्राथमिकतामा परेको छैन । महाधिवेशन आउन एक महिना बाँकी रहँदा केही जिल्लाको क्रियाशील विवाद अझै टुंगिएको छैन । यस्तोमा कांग्रेसले आसन्न चुनावको सामना कसरी गर्ला ? महाधिवेशन हुन नसके कांग्रेसको वैधानिक हैसियत के होला ? यी र यस्तै प्रश्नको जवाफका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग हामीले कुराकानी गरेका छौं । राजनीतिक कार्यक्रमका लागि कैलाली आएका पौडेलसँग धनगढीमा गरिएको कुराकानी प्रस्तुत छ नेपाल प्रेसको नेपाल टकमा :-

–चौथोपटक सारिएको कांग्रेस महाधिवेशनको समय आउनै लाग्यो । तोकिएको समयमा हुन्छ त महाधिवेशन ?

महाधिवेशन निर्धारित समयमा गर्नु पार्टीको बाध्यता हो । नगरे हाम्रो अस्तित्व नै संकटमा पर्छ । हामीले छिटो र छोटो विधि अपनाएर भए पनि केन्द्रीय कार्य समिति र प्रदेश कार्य समितिको निर्वाचन गर्नैपर्छ । त्यो नभएपछि हाम्रो पार्टीको अस्तित्व सकिन्छ ।

– महाधिवेशन आउन एक महिनामात्रै बाँकी छ । केही जिल्लाहरूमा वडा अधिवेशन पनि सुरू भएको छैन । यसले त फेरि अधिवेशन सर्ने देखिन्छ नि ?

महाधिवेशन त हुनै पर्छ । नत्र विधान, संविधान र कानूनले पार्टीको अस्तित्व नै सक्छ । ६ वर्षसम्म निर्वाचन नगरेको पार्टीलाई निर्वाचन आयोगले चुनावमै प्रतिबन्ध लगाउन सक्छ यो कुरा संविधान र कानूनमै प्रस्ट छ । हाम्रो विधानले पनि हामीलाई चार वर्षको कार्यकाल तोकेको छ । त्यो चार वर्षपछि असाधारण परिस्थिति आए बढीमा एक वर्ष थप्न सक्ने भनिएको छ । त्यो पनि गइसक्यो ।

हाम्रो पार्टीको विधान अनुसार त हामी अवैध भइसकेका छौँ । संविधानले पनि पाँच वर्ष ६ महिना भन्दा बढी कुनै पनि पार्टीले केन्द्रीय समिति र पदाधिकारीको निर्वाचन नगरे त्यो पार्टी अवैध हुन्छ भनेको छ । संविधानले भनेको कुराबाट पनि आज हामी अवैध अवस्थामा पुगेका छौँ । अहिले हाम्रो पार्टी निर्वाचन आयोगको निगाहमा बाँचेको छ । मङ्सिरमा निर्वाचन गर्छौं भनेर प्रक्रिया अघि बढेको छ । त्यो प्रक्रिया बिग्रिएमा निर्वाचन आयोगले कुनै छुट नदिने संकेत दिएको छ । मंसिरमा नयाँ पदाधिकारी निर्वाचित भएनन् भने नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आउँदो निर्वाचनमा वञ्चित गर्न सक्छ ।

–संसदीय निर्वाचन सकेर पार्टीको महाधिवेशन गर्ने हल्ला पनि सुनिन्छ नि ?

त्यो बेलासम्म त टिकट बाँड्नै पाइदैन । पार्टीलाई अवैध अवस्थामा राखेर अझै पनि टिकट बाँड्ने खेल गर्न हुन्छ ? कसरी बाँड्नी ? कसले बाँड्नी ? अहिलेको अवैधानिक समितिले बाढेको टिकट कसले मान्छ ?

–अहिलेको नेतृत्व अवैधानिक हो ?

अवैधानिक हो । अवैधानिक भइसक्यो । अब वैधानिकता दिलाउन अधिवेशन चाँडो भन्दा चाँडो गर्नुपर्छ । आज व्यक्ति बलियो हुनी पार्टी कमजोर हुनी यो कहीँ हुन सक्छ ? यसको मूल्यांकन कार्यकर्ताले पनि गर्नुपर्छ । त्यस कारण यस पटक सही निर्णय गर्नुपर्छ ।

–क्रियाशील सदस्यको विवाद टुंगिएको छैन कसरी महाधिवेशन हुन्छ ?

अहिले पनि तीन-चार जिल्लामा क्रियाशील सदस्यको विवाद छ । छानबिन समिति बनाएर केन्द्रीय कार्यालयमा टुंगाएर बुझाउँछ अर्को मान्छे ल्याएर केन्द्रीय कार्यालयले उल्टाएको पाइन्छ । धाँधली गरेर जसरी हुन्छ सत्ता कब्जा गर्ने ट्रम्प प्रवृत्ति देखिएको छ । यस्तो पनि हुन्छ ? केपी ओलीले जुन प्रवृत्ति देखाए, ट्रम्प प्रवृत्ति त्यो प्रवृत्तिले उनी कहाँ पुगे यो कुरा सबैले सिक्ने कि नसिक्ने ? जसरी हुन्छ पार्टी कब्जा गर्ने नीति छ । यसले कांग्रेस बलियो हुन्छ ? यसले कम्युनिष्टको अगाडि लडेर जित्न सक्छ ? प्रतिस्पर्धीको अगाडि प्रतिस्पर्धा गर्न सक्छ ?

–कांग्रेसलाई यहाँसम्म पुर्‍याउनमा तपाईंको पनि दोष होला नि ?

मैले एउटा कार्यतालिका बनाएर अघि बढौँ भने । त्यो बेलामा मेरो कुरालाई उपेक्षा गरियो । निहित स्वार्थको लागि र आफ्नो सत्ता लम्ब्याए बस्नको लागि त्यो बेलामा त्यसलाई उपेक्षा गरियो । परिणाम आज देखिएको छ । नेपाली कांग्रेसको आफ्नो विधानअनुसारको यो पार्टी छैन । हाम्रा मन्त्री, केन्द्रीय सदस्यहरू वैधानिक छैनन् ।

–आगामी निर्वाचनमा तपाईंहरूको समूहको नेतृत्व कसले गर्छ ?

हामी छलफलमा छौँ । मैले नेतृत्व गरेको समूहमा म हो भनेर मैले कसरी भन्छु । मैले सबैलाई मिलाएर लैजाने हो । त्यही प्रयासमा छौँ । अन्तिमसम्ममा एउटा नाम आउँछ ।

–प्रधानमन्त्रीले ‘अर्ली इलेक्सन’ को कुरा आए गठबन्धनमा छलफल गर्नपर्छ भन्नुभएको थियो । अर्ली इलेक्सनको सम्भावना छ ?

अर्ली इलेक्सन सम्भव छैन । संविधानमा पाँच वर्षसम्म संसद रहने भनिएको छ । हामी त्यही भएर त अदालत सम्म गएका हौँ नि । अदालतबाट प्रधानमन्त्री भए । अहिले हामी फेरि सांसदलाई बिचैमा कसरी मिल्काउन सक्छौँ ? आम राष्ट्रिय सहमति गरेर स्थानीय निर्वाचन र संसदीय निर्वाचन एकै पटक गर्न कुरा अर्कै हो । तर, अर्ली इलेक्सन भनेर यो संसद विघटन गरेर चुवानमा जान सक्ने संविधानले छुट नै दिएको छैन । अदालतका दुई फैसलाले त्यो निषेध गरिसकेको छ ।

–सरकारकारको कामकाजलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

सरकार घिटिघिटी चलिरहेको छ । कुनै राम्रो गति लिन सकेको छैन । समयमा काम नगर्दा पार्टी र सरकार यो हालतमा पुगेको हो ।

–समयमा काम नगर्दा भन्नाले ?

पहिलो पटक केपी ओलीले ससंद विघटन गर्नेबित्तिकै मैले त्यही बेला भनेको थिए । एक नम्बर प्रदेशमा अविश्वासको प्रस्ताव आएको छ । त्यो सरकार ढाल्दिम । वागमतीमा पनि अविश्वासको प्रस्ताव आएको छ त्यो सरकार ढाल्दिम । केन्द्रमा पनि केपी ओलीमाथि अविश्वासको प्रस्ताव आउँदै छ हामीले त्यहाँ भोट हाल्दिम र ढाल्दिम । त्यो बेला वास्ता गरिएन । कम्युनिष्ट पार्टी फुटेकै छैन । बिधिवत रूपमा नफुटी हामी किन अघि बढ्ने भन्दै त्यो बेलाको समय गुमाइयो । समयमा काम नगर्दा अहिले के भयो थाहा छ ?

– विभाजनको अवस्थामा पनि एमालेसँग लड्न कांग्रेसलाई कठिन छ भन्नुभाको थियो । एमाले अझै यस्तो बलियो ?

एमाले अझै बलियो छ । घुमाइफिराइ केपी ओली नै बलियो भएका छन् । हाम्रै साथीहरूले बलियो बनाएका छन् । केपी ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याइएको छ । अहिले पनि केपी ओली प्रवृत्तिको पुनरावृत्ति देखा परिरहेको छ । लोकतन्त्रमाथिको संकट टरेको छैन । यसको लागि नेपाली कांग्रेस सक्षम हुन आवश्यक छ । तर, अहिले कांग्रेस कहाँ छ ? आज राजाले त्यहाँ धम्काउन थालिसकेका छन् । त्यो सुनेर बस्ने हो आजका नेताहरूले ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर