आसियानको दबाबपछि म्यानमारमा सयौं राजनीतिक बन्दीहरु रिहा – Nepal Press

आसियानको दबाबपछि म्यानमारमा सयौं राजनीतिक बन्दीहरु रिहा

यांगुन । म्यानमारको इन्सेइन कारागारबाट सयौं राजनीतिक बन्दीहरु रिहा भएका छन् । स्थानीय संचारमाध्यमका अनुसार आममाफी भएपछि रिहाइ हुनेहरुमा नेतृ आनसाङ सूकीको दलका प्रवक्ता र एकजना लोकप्रिय हाँस्य कलाकार समेत छन् ।

म्यानमारमा धुमधामका साथ मनाइने थाडिगुट पर्वको मौकामा त्यहाँको राष्ट्रिय टेलिभिजनले आममाफी पाउने ५ हजार ६०० जना राजनीतिक बन्दीहरुको नाम घोषणा गरेको थियो ।

सोमबार राती उक्त घोषणा हुने वित्तिकै ती बन्दीहरुलाई रिहा गरिएको अलजजिराले जनाएको छ । सेना प्रमुख मिन आङले टेलिभिजन सम्बोधनबाट आममाफीको घोषणा गरेको केही घण्टामै राजनीतिक बन्दीहरु स्वतन्त्र भएका थिए ।

संसदीय निर्वाचनमा धाँधली गरेको भन्दै गत फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो । सोही महीनामा पक्राउ परेका आफ्ना पतिलाई भेट्न पाउने आशामा फयाक्ट्री मजदुर समेत रहेकी किउ किउसहितका दर्जनौं व्यक्तिहरु मंगलबार एकाबिहानै कारागारबाहिर भेला भएका थिए ।

दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन (आसियान)ले सेना प्रमुखलाई यस महीनाको अन्त्यमा हुने बैठकमा निम्तो नगर्ने घोषणा भएको केही दिनमै म्यानमार सेनाले राजनीतिक बन्दीहरुलाई आममाफी दिने घोषणा गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *